कस्ताे हुनुपर्छ कोरोना–कालकाे पत्रकारिता

‘द गार्जियन’को वेबसाइट हेर्नेको संख्या पनि पहिलेको तुलनामा करिब दोब्बर भएको छ। उक्त वेबसाइटका अनुसार फेब्रुअरी महिनामा सो वेबसाइट हेर्ने १९ करोड रहेकामा यो मार्चमा ३६ करोड ६० लाख भिजिटर पुगेको छ। यसबाट महामारीको सूचनाका लागि आमसञ्चार माध्यममा धेरै नागरिक भर परेको देखिन्छ।

एकराज पाठक 

मानवसिर्जित विपद् वा प्राकृतिक प्रकोपमा पत्रकारले ज्यानको बाजी लगाएर काम गरेका थिए। कोरोना महाव्याधिमा पनि उनीहरू खटिरहेकै छन्। सयौँ पत्रकार संक्रमितको समाचार संकलन गर्न जाँदा आफैँ संक्रमित भएका छन्। 


नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सूचना सम्प्रेषणमा कार्यरत विश्वका पत्रकारहरूले विश्वव्यापी फैलिएको महाव्याधि कोभिड–१९ को त्रासबीच मे ३ मा ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाएका छन्। पत्रकारिता पेशाको हकहितको संरक्षण, संवर्द्धन एवं स्वतन्त्रताको माग गर्दै विश्वका पत्रकारले मे ३ लाई स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएका छन्।

विश्वमा स्वतन्त्र प्रेसको आधारस्तम्भ विश्व मानवअधिकार घोषणापत्र–१९४८ लाई मान्ने गरिन्छ। सन् १९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाद्वारा पारित उक्त घोषणापत्रको दफा १९ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यतालाई आत्मसात् गर्न प्रत्येक नागरिकले कुनै पनि विषयमा स्वतन्त्रतापूर्वक विचार बनाउन पाउने, आफ्नो विचार तथा अभिव्यक्ति निर्भीक रूपमा राख्न पाउने र बिनाअवरोध जुनसुकै माध्यमद्वारा प्रसार गर्नसक्ने व्यवस्था गरेको छ। प्रेस स्वतन्त्रताको मर्म र मान्यता पनि यही हो। यही प्रावधानले नै वास्तवमा विश्वमा प्रेस स्वतन्त्रताको सुनिश्चिततालाई उजागर गर्ने पहिलो प्रयत्न गरेको हो।

सन् १९९३ मा युनेस्कोको सिफारिसमा विश्वमा मनाउँदै आइएको विश्व प्रेस स्वतन्त्रता दिवसको जग बसाल्ने कामको श्रेय भने अफ्रिकी देशका सम्पादकहरूलाई दिन मिल्छ। सन १९९१ को अप्रिल २९ देखि मे ३ सम्म अफ्रिकी देश नामिबियाको विन्डहकमा विशेषतः अफ्रिकी देशका पत्रिकाका सम्पादकहरूले आयोजना गरेको सम्मेलनले पाँचबुँदे घोषणापत्र पारित गरेको थियो। त्यही घोषणापत्रका आधारमा टेकेर सन् १९९३ मा युनेस्कोको महासभाले पारित गरेपछि विश्वमा यो दिवस मनाउँदै आइएको हो।

विन्डहक घोषणा नाम दिइएको सो घोषणापत्रले विशेषगरी प्रेस स्वतन्त्रता, प्रेसको स्वतन्त्र अडान, प्रेसमा बहुलवादी अवधारणा, सहभागितामूलक लोकतन्त्र र समाचार एवं लेखकीय स्वतन्त्रताजस्ता आधारभूत पाँच सिद्धान्तलाई अघि सारेको थियो। त्यस घोषणापत्रले कुनै पनि देशमा प्रेस स्वतन्त्रताका लागि प्रजातान्त्रिक शासन व्यवस्था र बहुलवादको अवधारणालाई अघि सारेको थियो र त्यही आधारभूमिको वकालत मे ३ मा विश्वको प्रेसले गर्ने गर्छ।

तिनताका लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता र बहुलवादको अभावको सामना गरिरहेका अफ्रिकी नागरिकलाई यसबाट मुक्ति दिलाई प्रेस स्वतन्त्रताको माध्यमबाट नागरिक अधिकार स्थापित गराउने पहलस्वरूप अफ्रिकी राष्ट्रका सम्पादकले यो प्रयास थालेका थिए।

समाचार र संक्रमण 

विश्व प्रेस स्वतन्त्रता दिवसका दिन विश्वका सञ्चारकर्मीले आफ्ना व्यावसायिक समस्या र कानुनी सुनिश्चितताका आवाजलाई बुलन्द गर्ने गर्छन्। आ–आफ्ना देशका सरकारलाई आफ्ना हकहितका विषयमा विश्वका पत्रकारले यस दिन घचघच्याउने गर्छन्। तर, विश्वका पत्रकारले प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा गएका तीन महिनादेखि उनीहरूले अकल्पनीय समस्याको सामना गरिरहेका छन्।

कोरोना संकटले विश्वको सामाजिक, आर्थिक व्यवस्थाजस्तै पत्रकारिता क्षेत्रलाई पनि नराम्ररी प्रभावित पारेको छ। कोभिड–१९ को संक्रमण विश्वभर फैलिएपछि समाचारको खेतीमा रमाउँदै नयाँ-नयाँ सूचना पस्किने उत्सुक स्वभावका सञ्चारकर्मीले यतिखेर निकै जोखिमपूर्ण रूपमा आफ्नो पेशालाई निरन्तरता दिन बाध्य भएका छन्।

पत्रकारिताका पेशाकर्मी यो महामारीबाट विश्वभर कति संक्रमित भएका छन् भन्ने अलग्गै तथ्यांक त अहिलेसम्म कतै भेटिएको छैन तर पनि यो महामारी विश्वका दुई सयभन्दा बढी देशमा पुगिसकेको र अहिलेसम्म दुई लाखभन्दा बढीको ज्यान गइसकेकाले महामारीको समाचार सम्प्रेषणका लागि कार्यक्षेत्रमै खट्नुपर्ने सञ्चारकर्मी  पक्कै पनि कोरोनाको शिकार भएका छन्।

‘पिन्टर’ नामक एक संस्थाले गरेको अनुसन्धानमा अप्रिल २० सम्मको एक तथ्यांकअनुसार विश्वका १६ जना पत्रकारको कोभिड–१९ कै कारण ज्यान गएको छ। तर, त्यसपछि यो तथ्यांक अरू धेरै हुनसक्छ। यसको स्वतन्त्र अनुसन्धान हुन सकेको छैन। भारतमा हालैमात्र १ सय ६७ जना पत्रकारमा गरिएको स्वास्थ्य परीक्षणमा ५३ जनाको कोभिड–१९ को रिपोर्ट पोजिटिभ आएको बताइएको थियो। तर, भारतमा पनि त्यसयताको अनुसन्धान भने गरिएको छैन।

मुम्बईमा अप्रिल १५ मा गरिएको पत्रकारहरूको परीक्षणका क्रममा ती पत्रकार संक्रमित भएको पाइएको थियो। यो समाचारपछि मुम्बईका मेयर किशोरी पेन्डेनकरले आफू पनि तीमध्येका केही पत्रकारको सम्पर्कमा त्यसअघि नै आएकाले आफैँ क्वारेन्टिनमा बसेको बताएका थिए। साथै, सो समाचारपछि मुम्बई प्रेस क्लबका अध्यक्ष गुरवीर सिंहले महाराष्ट्रका मुख्यमन्त्रीलाई पत्र लेखेर दुःख व्यक्त गरेका थिए। जम्मा १ सय ६७ जना पत्रकारको परीक्षण गरेकामा ५३ जनामा कोभिड पोजिटिभ रिपोर्ट आउनुले आफू स्तब्ध भएको सन्देश अध्यक्ष सिंहले महाराष्ट्रका मुख्यमन्त्रीेलाई पठाएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार यसरी संक्रमित हुनेमा अधिकांश फोटो पत्रकार, टेलिभिजनका क्यामेरापर्सन र फिल्डमा खट्ने समाचारदाता रहेका थिए। उनीहरू संक्रमितबारे समाचार संकलनकै क्रममासंक्रमणमा परेको बताइएको छ। विश्वका पत्रकारको साझा नियति यही हो। समाचारका लागि उनीहरू ‘फिल्ड’मै खट्नुपर्ने हुन्छ। यसकारण उनीहरू संक्रमणको शिकार बन्ने गरेका छन्।

कमिटी टू प्रोटेक्ट जर्नालिस्टका कार्यकारी निर्देशक रोबर्ट माहोनीले विश्वको प्रेसले यतिखेर नयाँ र अकल्पनीय समस्याको सामना गर्नु परिरहेको धारणा राखेका छन्। कोरोना भाइरसपछिको विश्वको अवस्थामा प्रेसले के कसरी काम गरिरहेको छ भन्ने विषयमा विचार राख्दै हालै एक लेख प्रकाशन गरेका छन्। ‘विपद्का बेलामा गरिने सञ्चार (क्राइसिस कम्युनिकेसन) कर्म यसअघि पनि गरिएकै हो, तर यो महामारीले ओगटेको आयतन अन्य संकटको तुलनामा धेरै बढी छ।’

मानवसिर्जित विपद् (युद्ध, आन्तरिक रबाह्य द्वन्द्व, नाकाबन्दी आदि) होस् वा प्राकृतिक प्रकोप (भूकम्प, सुनामी, बाढीपहिरो, आगलागी आदि), विपद्का समयमा भन्दा यो महामारीको समयमा गर्नुपर्ने सञ्चारकर्मीको काम जटिल र बढी जोखिमयुक्त छ। युद्ध या द्वन्द्व कुनै एक सीमित क्षेत्रमा हुन्छ र जसको सूचना पत्रकारलाई पहिल्यै हुन्छ। यो देखिनेखालको विपद् हो, जसबाट बच्न पत्रकारले सजिलै प्रतिरक्षात्मक उपाय अवलम्बन गर्न सक्छन्।

प्राकृतिक प्रकोपजस्तै भूकम्प या सुनामीको समयमा पनि पत्रकारले आफूले नै रक्षात्मक उपाय अवलम्बन गर्न सक्नेछन्। अर्काेकुरा, यस्तो प्रकोपले कुनै सीमित क्षेत्र या भूगोललाई मात्र प्रभावित गरेको हुन्छ। अनि यस्तो प्रकोपको समयमा एक क्षेत्रका मानिस पनि अर्काे क्षेत्रमा पुगेर उद्धार तथा सहयोगको काम गर्न सक्छन्। जस्तो कि, नेपालमा २०७२ सालको भूकम्पका समयमा चीन, भारतका उद्धारकर्मी  आएर हामीलाई सघाएका थिए।

तर, यो कोरोना महामारीमा त्यस्तो गर्न सम्भव छैन। यहाँ कुनै पत्रकार एक्लै शिकार हुँदैन। उसका कारण उसले काम गर्ने सञ्चारगृहदेखि परिवारसम्म नै प्रभावित हुने गर्छन्।

मानवसिर्जित तथा प्राकृतिक प्रकोपकोबेला जोखिम त्यही क्षेत्रमा खट्ने पत्रकारलाई मात्र हुन्छ भने यतिबेलाको यो महामारीको समाचार संकलनमा जाने पत्रकार भने कुनै एकजना संक्रमित भयो भने उसका कारणले उसको सञ्चारगृह, आफ्नो घर र समाजमा नै संक्रमण फैलिन सक्छ। त्यसैले यो विपद्मा सञ्चार अरूभन्दा बढी संवेदनशील छ र यसको जोखिमको आयतन पनि अधिक रहेकाले विश्वका पत्रकार बढी मारमा परिरहेका छन्।

बढे अखबार पाठक 

वरिष्ठ पत्रकार प्राध्यापक रामकृष्ण रेग्मी यस्तो बेलामा पत्रकारले संयम अपनाउन जरुरी रहेको बताउँछन्। उनको भनाइ छ, ‘पत्रकारले सबैकुरा जान्दैनन्, किनभने यो जनस्वास्थ्यको विषय हो। तर, पनि के हो भन्ने कुरा जनतालाई बुझाउने काम पत्रकारको नै भएकाले उसले संयम अपनाएर र आफ्नो सञ्चारगृह र महामारी नियन्त्रणमा खटिएका राज्यका निकायसँगको समन्वयमा सूचना सम्प्रेषण गर्नुपर्छ।’

नयाँ रोग तर विश्वलाई नै सताएको यस्तो विषयमा समाचार सम्प्रेषणका लागि पनि ‘रिपोर्टिङ गाइडलाइन’ चाहिने प्रा.रेग्मीको सुझाव छ। यसो समाचार हेर्दा, सुन्दा संक्रमितले आफूलाई सञ्चारले न्याय गरेन भन्ने गुनासो गरेको पनि सुनिएको बताउँदै प्रा. रेग्मीले भने, ‘यो रिपोर्टिङकै नयाँ आयाम पनि हो। त्यसैले त्यसै किसिमको सूचना सम्प्रेषण जरुरी छ। महामारी भए पनि प्रेसले सधैँ आफ्नो कार्य स्वतन्त्रताको हेक्का राखेको हुन्छ भने सरकारले पनि महामारीको बेलामा मिडिया झन् धेरै चाहिन्छ है भन्ने हेक्का राख्नुपर्छ।’ सरकारले सञ्चारकर्मीको सुविधा र कार्य सहजतामा ध्यान दिनुपर्ने उनको सुझाव छ।

युनेस्कोले महामारीको समाचार संकलनार्थ कार्यक्षेत्रमा खट्ने पत्रकारका लागि आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन विश्वका सबै देशलाई आग्रह गरेको छ। कतिपय देशमा यो महामारीबाट सुरक्षित रहनका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को अभावमा पत्रकारले काम गरिरहेकाले उनीहरू असुरक्षित भइरहेको पाइएकाले युनेस्कोले यस्तो आग्रह गरेको हो।

पछिल्ला केही महिनामा विश्वकै अवस्था हेर्दा सामाजिक सञ्जालले आधिकारिक समाचार दिन नसक्दा आमसञ्चारको माध्यममै भर पर्नुपर्ने अवस्था देखाउँछ। रोयटर्स इन्स्टिच्युटले विभिन्न छ देशमा गरेको एक अध्ययनमा पहिलेको तुलनामा यो महामारी सुरु भएपछि आमसञ्चारका माध्यममा भरपर्नेको संख्या ६० प्रतिशतले बढेको देखाएको जनाएको छ। उनीहरूले महामारीबारेको सूचनामा सामाजिक सञ्जालले आधिकारिकता दिन नसकेको जनाएका छन्। त्यस्तै, अमेरिकाका मुख्य पत्रिका ‘वासिङ्टन पोस्ट’ र ‘न्युयोर्क टाइम्स’का पाठक पहिलेको तुलनामा अघिल्ला मार्च र अप्रिल महिनामा ५० प्रतिशतले वृद्धि भएको देखिएको छ।

त्यसै गरी, ‘द गार्जियन’को वेबसाइट हेर्नेको संख्या पनि पहिलेको तुलनामा करिब दोब्बर भएको छ। उक्त वेबसाइटका अनुसार फेब्रुअरी महिनामा सो वेबसाइट हेर्ने १९ करोड रहेकामा यो मार्चमा ३६ करोड ६० लाख भिजिटर पुगेको छ। यसबाट महामारीको सूचनाका लागि आमसञ्चारमाध्यममा धेरै नागरिक भर परिरहेको देखिन्छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस महामारीको बेलाको सूचनाको ठूलो महत्व हुने भएकाले यस्तो समयमा पत्रकारलाई समाचार संकलन तथा सम्प्रेषणका समयमा आवश्यक सहयोग गर्नुपर्ने धारणा राख्छन्।

महामारीको समयमा पत्रकारको स्वास्थ्य सुरक्षाका विषयमा उनले हालै भनेका थिए, ‘सामाजिक सञ्जालमा हुनसक्ने गलत तथ्यलाई समेत परीक्षण गरी नागरिकलाई सही सूचना सम्प्रेषणमा प्रेसको अहम् भूमिका हुने भएकाले यो महामारीको समयमा उनीहरूको स्वास्थ्यको सुरक्षा आवश्यक छ।’

आइतबार, जेठ ३२, २०७७, अन्नपूर्ण पोष्ट  http://annapurnapost.com/news/koronaa-kaalmaa-ptrkaaritaako-haalkhbr-155308

Comments