नेपाली मिडियामा कोरोना कभरेज : भाइरसभन्दा फैलिँदो डर

पछिल्ला दिनहरुमा न्युजरुममा हरेक दिन कोरोना भाइरससम्बन्धी १०/१५ वटा समाचार पढ्नैपर्ने बाध्यता आइपरेको छ। अनि त्यस्तै समाचार पाठकसामु पस्कने जिम्मेवारी पनि। समाचारहरु कुनै आफ्नै देशका त कुनै विदेशका।

चीनको वुहानबाट आउटब्रेक भएर विश्वभर फैलेको कोरोना भाइरस (कोभिड १९) को सुरुवाती दिनदेखि नै यस्ता समाचारमा प्राथमिकता दिनुहुन्न जस्तो लाग्थ्यो। न्युज रुममा यसबारे छलफल भएको पनि हो। तर, विश्वका चर्चित भनिएका मिडियाले नै अत्याधिक कभरेज गर्न थालेपछि हामीलाई पनि तानिहाल्यो उनीहरुकै लयले। र वेब पोर्टल भरिन थाले कोरोना समाचारले।

अर्को मुख्य विषय भनेको विभिन्न मुलुकले चीनको वुहानमा रहेका आफ्ना नागरिकलाई लैजाँदै गर्दा हाम्रो सरकारले गरेको ढिलासुस्तीले पनि यो विषय चासोको विषय रह्यो। चीनमा रहेका नेपालीलाई स्वेदशमा फर्काउने विषय र क्वरेन्टाइन रोज्ने विषयमा पनि सरकारले बुझाउन नसक्दा यसको त्रास झनै फैलियो।

अहिलेसम्म पनि कोरोना भाइरसको संक्रमणसँगै देखिएको निमोनियाले धेरैको ज्यान लिइरहेको छ। पछिल्लो पटक कोरोनाको समाचारले देश आतंकित भएको छ। हाम्रो परिवार पनि आतंकित भएको छ अरुका जस्तै।

समाचारहरुको पछि लागेर सरकारको विरोध गर्ने जमात तयार भइसकेको छ भने सरकारले पनि त्यही ‘भड्किएको जमात’को मागलाई सम्बोधन गर्न थालिसकेको छ। सरकारको उर्दीले विद्यालयले १० दिन लाग्ने परीक्षा छोट्याएर चार दिनमै सकिने तालिका सार्वजनिक गरेका छन्। बालबालिकालाई एकै दिन तीनदेखि चार वटा विषयको परीक्षा दिनुपर्ने भएको छ। यसले विद्यार्थीमा पार्ने शाररीक र मनोवैज्ञानिक असरबारे सबै मौन छन्।

सिडिओ सा’बहरुले सकेसम्म घरबाट बाहिर ननिस्कनु भनेर उर्दी जारी गरेका छन्। तर, काममा त जानै पर्‍यो। पेट पाल्नै पर्‍यो। यस विषयमा प्रशासन बेखबर छैन। राजनीतिक पार्टीहरुले सभा सम्मेलन नगर्ने भनेका छन्। सरकारले भिडमा नजानु भनेर भनेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुने भनेर घोषणा गरिसकेका छन्।

कोरोनाको कहर काठमाडौंको भान्सासम्म फैलिसक्यो। नाकाबन्दी सम्झाउँदै ग्यास पसलमा खाली सिलिन्डरको लाइन लागेको छ। पसलहरुबाट सामानको जोहो गरिन थालिएको छ। भारतले औषधि आपूर्ति बन्द गरेको भन्ने समाचारहरु फैलिरहेको छ। नेपालीहरुको सपना बनेको अष्ट्रेलियाबाट साथीहरुले रित्तिएका सपिङ मलका तस्विरहरु पठाउँदै छन्। दिनदिनै नयाँ राष्ट्रमा भाइरसमा संक्रमण फैलिएको खबर आइरहेको छ। मिडियामा आएका यस्तै समाचारले त्रास झनै बढाएको छ।

आफूलाई पर्दाको पुराना दिन सम्झौं

२०७२ वैशाख १२ को भूकम्पमा नेपाली मिडियाको रिच नपुगेका बेला भारतीय मिडिया नेपालमा आएर यहाँको आपत कभर गरे। त्यतिबेला भारतीय मिडियाको प्रस्तुतिमा नेपाली भूकम्प पीडितलाई यति दयनीय देखाइदियो जसले गर्दा नेपालीहरु भारतीय मिडियासँग आजित भए र ‘गोब्याक इन्डियन मिडिया’ अभियान नै छेडे। अनि त्यो सफल भयो पनि।

आफ्नो देशमा परेको पीडालाई अन्तर्राष्ट्रिय स्तरमा उछालेकोमा हामी रिसाएका थियौं, भारतीय मिडियासँग। अहिले कोरोनालाई भारतीय मिडियाले हाम्रो भूकम्पलाई जसरी नै विश्वले कभरेज गरिरहेको छ। त्यही भारतीय मिडियाको शैलीलाई पछ्याउँदैछन् अहिलेका नेपाली मिडियाहरु।

युट्युबका सनसनी हेडलाइनलाई अनलाइन मिडियाले आफ्नो स्टाइल बुक बनाउन थालेपछि युट्युब अझ खरो शैलीमा उत्रिन थालेको छ। आफ्नो शैलीलाई अनलाइन मिडियाले समातेपछि युट्युबरहरु पनि के कम? अनलाइनका हेडलाइनलाई उछिन्नै पर्‍यो। त्यसमाथि फेसबुक प्रयोगकर्ता पनि उस्तै। एक युटयुबमा कोरोनाको उपचार नेपालीले पत्ता लगायो भन्ने हेडलाइन भएका समाचार शेयर गर्दै फुर्सद छैन कतिपयलाई।

विश्वले चीनबाट फैलेको कोरोनाको विषयलाई यसरी उछालेको छ कि यसले चीनको अर्थतन्त्रमा अन्तत: नराम्रो असर पुग्ने छ नै। चीनको उत्पादान भनेपछि मानिसहरु त्यसको खपत गर्नै डराइरहेका छन्। ठमेलमा खुलेका चिनियाँ रेष्टुराँहरुमा लाग्ने मानिसको भिड अहिले देखिँदैन। कतै मास्क लगाएको चिनियाँ भेटिहाले मुख छोप्ने अवस्था सिर्जना भएको छ। जसबाट विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रका रुपमा उदाउँदै गरेको चीनको उत्पादनले अब विश्वबजारमा बिक्रेता पाउन गाह्रो भएको पुष्टि हुन्छ।

चीनलाई पूरै नकरात्मक दृष्टिकोणबाट मिडियामा प्रस्तुत गरिएकाले नै सायद यो अवस्था सिर्जना भएको हो। यस्तो अवस्थामा हामीले गोब्याक इन्डियन मिडिया भनेर उफ्रिँए झैं उनीहरु पनि उफ्रिन सक्थे।

हाम्रै कुरा

हाम्रो देश नेपाल यसपटक विश्वभरका पाहुनाको स्वागतको तयारीमा थियो। भिजिट नेपाल २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको नेपालको कार्यक्रम जनवरीबाटै कोरोनाको समाचार फैलिएपछि चेपुवामा पर्‍यो।

चीन हाम्रो छिमेकी देश। भारतपछि सायद् सबैभन्दा पर्यटक चीनबाट भित्रिन्छ। हवाइ र थल मार्गबाट। छिमेकमा फैलिएको भाइरसको त्रासले अन्तत: भिजिट नेपाल २०२० पनि रद्द भयो। खासै तयारीविनै शुरु गरिएको आरोप खेपेको भ्रमण वर्ष कोरोनाको सिकार बन्यो।

अहिले कोरोना संक्रमित नेपालमा देखिएको छैन। चीनमा भाइरसको संक्रमण बढेको सुरुवाती समयमा नै चीनबाट फर्किएका एक नेपालीमा भाइरसको संक्रमण देखिएको थियो। सामान्य रुघा खोकी भनेर अस्पतालले घर पठाएका ती व्यक्तिलाई भाइरसको संक्रमण भएको पुष्टि भएपछि शुक्रराज ट्रपिकल सुरुवा रोग केन्द्रमा फेरि बोलाइ उपचार गरिएको थियो।

यहाँ सरकारले भाइरसको रोकथाम गर्न उच्च सतर्कता नअपनाएको सत्य हो। सरकारको कमजोरी आफ्नो ठाउँमा छ। तर, मिडियाले दैनिक रुपमा कोरोनाबारे त्रास फैलाउने काम भने गरिरहेकै छ। त्यसले भूकम्पसँग लडेका नेपाली अझै विशेषगरी काठमाडौंवासीलाई मनोवैज्ञानिक रुपमा कमजोर बनाउँदै लगेको आभाष हुन्छ।

अस्पतालबाटै कोरोना आशंका गरिएको व्यक्ति फरार, विदेशी मिडियालाई हवाला दिँदै नेपाल घुमेर गएका व्यक्तिको मृत्यु, कोरोनालाई पशुपतिको भर, बजारमा माक्स र स्यानिटाइजर पाउन छाडेजस्ता विषयलाई प्राथमिकताका साथ प्रसारण प्रकाशन गर्न भ्याइरहेको छ नेपाली मिडियाले।

सैद्धान्तिक रुपमा बान्की नपुर्‍याइ समाचार प्रकाशन/प्रसारण गर्नुहुन्न भनेर ठेली घोकेका हामीलाई सानो सूचना पाउने बित्तिकै समाचार बनाएर उधुम मच्चाउने बानी परिसकेको छ। झन्डै ७/८ वर्ष समयको लगानीको सिद्धान्तको सिकाईलाई हामीले क्षणमै माटोमा मिलाउन भ्याउँछौं, सायद केही लाइक्स र क्लिकका लागि। सूचनाको स्रोत लुकाउने नाममा हामीले कतै आतंक त फैलाइरहेका छैनौं भन्ने विषयको भेउसम्म बिर्सिदिन्छौं।

अझ, समाचारहरुमा आएका विषयलाई सोसल मिडियाले आगोमा घिउ थप्ने काम गरिरहेको छ। सोसल मिडियामा कोरोना संक्रमणका डरलाग्दा भिडियोदेखि यसबाट बच्न सकिने विभिन्न विषयहरु प्रस्तुत भइरहेको छ। अहिलेसम्म यो भाइरस विश्वभर फैलिनुको कारण पत्ता नलागेको र औषधिसमेत नबनिसकेको अवस्थामा कतिपय नेपालीहरु कोरोना विज्ञ बन्न थालिसकेका छन्। भाइरसबाट बच्ने उपायहरुसहितको भिडियो टिकटकेहरुले बनाउन थालेका छन्।

कागतीलाई तीन टुक्रा पारी पानीमा मिसाएर पिउन सुझाव दिइरहेका छन् कोही। भारतमा भाइरस बनेको गोबर र गौमुत्रले कोरोना ठिक पार्ने समाचारलाई समेत हामीले स्थान दियौं। यस किसिमको सन्देश सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरमा दैनिक रुपमा प्राप्त भइरहेको हुन्छ। ती म्यासेजहरु पनि समाचार बनाउने मसला भइरहेकै छ। चार टुक्रा किन पार्नु हुँदैन कागती, छ टुक्रा किन पार्नु हुँदैन, दुई टुक्रा पारे के हुन्छ भन्ने विषयमा हामी कहिल्यै प्रश्न पनि गर्दैनौं।

डरले रोग फैलाउन कतिको साथ दिन्छ

अत्यास र डर रोग फैलाउन सहयोग पुर्‍याउने संवेदना हो। नेपालीमा एउटा उखान छ, ‘वनको बाघले खाओस, नखाओस मनको बाघले खान्छ’ अहिले हामी नेपालीहरुमा यही ‘मनको बाघ’ हावी भएको छ। केही अमुक भिडियोमा आएका खुट्टा मिलाउने रमाइला विधिहरुको पछि लागेर हामीले हात मिलाउन छाडिसकेका छौं।

हातै मिलाए पनि हामी प्राय सबैसँग भेट्दा नमस्कारसहित अभिवादन साटासाट गर्छौ। अहिले हामी हात मिलाउन छाड्नुपर्छ भन्ने बाटोमा गएका छौं। के हात मिलाउँदैमा कोरोना सर्छ त? सबैभन्दा पहिले त हाम्रो देशमा एउटा केसबाहेक कसैमा कोरोनाको संकेत देखा परेको छैन। कोरोनाको संक्रमण पुष्टि भएका व्यक्ति पनि उपचार पछि निको भएर फर्किसकेका छन्। अर्को कुरा रोगै नभएपछि कसरी सर्छ त? यतिमा पनि हामी सचेत छैनौं।

सरकारले सही कुरा गर्दा विपक्षी दलहरुका लागि मसला बनिदिएको छ। त्यही मसला हामी पत्रकारका लागि आकर्षक हेडलाइन।

पछिल्लोपटक कोरोनाको समाचार कति आक्रमक रुपमा प्रकाशन प्रसारण भइरहेको छ भन्ने विषयमा विभिन्न अध्ययनकर्ताहरुले रिसर्च थालिसकेका छन्। यसमध्येकी एक हुन् बेलायतस्थित कर्डिफ युनिभर्सिटीको प्रोफेसर करिन वहल जर्गसन।

संक्रमणबाट फैलने रोगबारेको खबर डरलाग्दो नै हुन्छ। ती रोगले हामीलाई त्रसित बनाउँछ किनकि ती अकल्पनीय हुन्छन्। वुहानबाट फैलिएको कोरोना भाइरसले मिडियाको ध्यान व्यापक रुपमा तान्यो र यसको कभरेज पनि व्यापकै भयो र यसले सर्वसाधारणमा त्रास फैलाउन मद्दत पनि गर्‍यो। अध्ययनपछि उनले लेखेको रिसर्चमा उल्लेख छ।

यस लेखमा उनले डरलाई एकप्रकारको संवेदनासँग दाँजेकी छिन्। व्यक्तिगत इमोसन सेयर हुँदै समूहगत हुने र यही डर द्रुत रुपले समुदायमा सर्ने करिनले बताएकी छिन्।

मिडियामा हुने यस्ता कभरेजहरुको सर्वसाधारणबीच छलफल हुने र ती विषयले अझ बढी डर पैदा गरेको उनको दाबी छ।

टेक्नोलोजीरिभ्युडटकममा करिन हओ र तन्या बसुले सोसल मिडियाले कति द्रुत रुपमा कोरोना भाइरसबारे गलत सूचना फैलायो भनेर लेखेका छन्। जसको नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सामाजिक सञ्जालसँग मिलेर काम गर्नुपर्‍यो। डब्लुएचओले ट्वीटर, फेसबुक, टेनसेन्ट, टिकटकसँग मिलेर गलत सूचनालाई नियन्त्रण गर्न अभियानसमेत चलायो। यस्तो गलत सन्देशहरु एसियाली देशमा तीव्र गतिमा फैलिरहेको उनीहरुको रिपोर्टमा उल्लेख छ।

बिबिसीका टेक्नोलोजी संवाददाता रोरी सेलन जोन्सले एउटा फिचर लेखेका छन् : ‘के सामाजिक सञ्जालले भाइरस फैलाउँदै छ?’ भन्ने शीर्षकमा।

उक्त लेखमा युनिभर्सिटी अफ क्यालिफोर्नियाका डा लि रिलेको भनाई उद्धृत गरिएको छ। लेखमा डा लिले २४ घन्टा सातै दिन न्युज कल्चर र सोसल मिडियाले भाइरसभन्दा डरलाई विश्वभर तीव्र गतिमा फैलाइरहेको उल्लेख गरेका छन्।

उक्त लेखमा भनिएको छ,’सोसल मिडियाले मानिसहरुलाई अंशिक सूचना दिन्छ। तर ती सबै सत्य पनि हुँदैनन्। जसले गर्दा उनीहरुको चिन्ता भने अधिक बढ्छ।’

युएसन्युजले ग्लोबल मिडियाले कोरोना भाइरसको कभरेज कसरी गरिरहेको छ भन्ने विषयमा लेख प्रकाशित गरेको छ। कोरोनाका कारण कतिको मृत्यु भयो? यसले कति संक्रमित भए? कुन कुन देशमा संक्रमण फैलेको भन्ने विषयलाई ग्लोबल मिडियाले प्राथमिकताका साथ समाचार प्रकाशन प्रसारण गरिरहेको छ। कोरोना भाइरस चमेरोबाट सरेको विषयमा छलफल चल्न थालेपछि डेली मेलले एक चिनियाँले सिँगो चमेरो खाएको विषयलाई समाचार बनायो। त्यसपछि के चाहियो? विश्वभर चमेरो खाने युवतीको भिडियो भाइरल भयो। मिडियाले समाचारको ‘एबीसी’ परीक्षण गरेनन्। उल्टै चमेरो र जनावरको पछाडि लागे। जसबाट मानिसहरु जनावरको सम्मुख हुन समेत डराएको समाचार प्रकाशन भए।

मेल्ट वाटरले कसरी भाइरसलाई लिएर उत्पन्न डरलाई मिडियाले कम पार्न सक्छ भनेर लेख छापेको छ। जिम्मेवार मिडियाले सही सूचनासहितको समाचार लेख्नुपर्ने यो लेखमा उल्लेख छ। तर, हामी आफै पनि क्वारेन्टाइनमा चीनबाट नेपाली उद्धार गरी ल्याएपछि भक्तपुरको खरिपाटीको गाउँ नै रित्तो भएको, स्थानीयले घरै छाडेर गएको समाचार लेख्न पछि परेनौं। पत्रकारहरुको ‘डर फैलाउने प्रश्नहरुले’ती समाचारहरुलाई पछि स्थानीयले नै प्रतिवाद समेत गरे।

एसओएएस ब्लगमा शुरुवाती दिनमा ‘एन्टी चाइना सेन्टीमेन्ट'(चीन विरोधी भावना)ले भाइरसबारेको समाचार फैलाउन मद्दत गरेको उल्लेख छ। ती समाचारहरुमा ‘कन्स्पिरेसी थ्योरी’ प्रयोग भएको र कतिपय खबरहरुले समाजलाई अतिरञ्जित नै बनायो। डिजिटल प्लेटफर्ममा फेक न्युज फैलिँदा वुहानबाट सही सूचना नआउनाले पनि समस्या पैदा गराएको त्यसमा उल्लेख छ। हुन त सामाजिक संजाल र मिडियामाथि नियन्त्रण राख्ने चीनले भाइरस संक्रमणको कुरालाई धेरै समय लुकाउन पनि सक्थ्यो। तर, उसले त्यस्तो गरेन। एक चिकित्सकले भाइरसको संक्रमणबारे पहिला नै जानकारी गराएको तर चिनियाँ अधिकारीहरुले त्यसलाई वेवास्ता गरेको समाचार विश्वभरका मिडियाका हेडलाइन बने। यहाँ चीन विरोधी भावनाले काम गर्‍यो। भाइरसको संक्रमण फैलिन नदिन चीनले गरेको प्रयत्नहरुलाई ती समाचारले जिते।

कुरा गरौं सिद्धान्तको

यो संसारमा मिडियाले के कस्तो काम गर्छ। हामीले बेलाबेला हिटलरको गोयबल्स शैलीको चर्चा सुन्दै आएका छौ। तर, हामीले हाम्रै गोर्खाली सेनालाई मिडियाले कस्तो रुपमा प्रस्तुत गरेको थियो भन्ने चर्चा भने कमै सुनेका छौं।

यसबारेमा फोकल्यान्ड युद्धमा होमिएका बेलायती गोर्खा सैनिक गणेश राईले’फोकल्यान्ड जर्नल’मा अनुभव उतारेका छन्।

१४ जुन १९८२ को उनको डायरीमा लेखिएको छ- ‘बेलायतले दुश्मनलाई मुलत त्रासमा पारी उनीहरुलाई मनोवैज्ञानिक असर पार्ने र युद्ध जित्ने एक प्रकारको रणनीति लिएको थियो। यसका निम्ति गोर्खालीहरुले विभिन्न युद्धमा प्रदर्शन गरेको वीरताको अति प्रशंसा गर्दै विश्वव्यापी रुपमा प्रचार प्रसार गरिएको थियो। त्यसका लागि दुश्मनविरुद्ध जाइलागेका विभिन्न पोजका फोटाहरु पत्रपत्रिकामा छपाइएका थिए। टेलिभिजनमार्फत देखाइएका थिए।’

किताबमा थप लेखिएको छ, ‘यसलाई अर्जेन्टिनाले मसलाको रुपमा लिएको थियो। गोर्खालीहरु ड्रगको मातमा परी भिड्ने, आत्मसमर्पण गरेका दुश्मन सिपाहीलाई समेत खुकुरीले छिनाउने अनि टाउका संकलन गर्ने, आफ्नै सहयोद्धालाई पनि मार्न तयार हुने अमानवीय पशु रहेको रुपमा चित्रण गरिरहेको थियो।’

यस्तै विषय समेटिएको पत्रिका अर्जेन्टिनाका बन्दी सिपाहीको गोजीमा भेटेको उनले आफ्नो डायरीमा उल्लेख गरेका छन्।

के हो त पत्रकारिता?

पत्रकारिता विषयमा नेपोलियन बोनापार्टको प्रशंसा पढेर पढाई शुरु हुन्छ। ‘म चारहजार दुश्मन सैनिकका सङ्गीनहरूभन्दा चारवटा मेरा विद्रोही अखबारसँग डराउँछु,’ यो नेपोलियनको भनाई। यो प्रशंसा नेतादेखि व्यवसायीसम्मले पत्रकारसम्मेलनमा पत्रकारहरुको प्रशंसामा खर्चने गर्छन्। कारण पत्रकार कुनै पनि राष्ट्रको चौथो अंग हो। यो भयो सामान्य ज्ञानको कुरा।

तर, पत्रकारिता गर्ने व्यक्तिहरु भने सैद्धान्तिक अनुहारलाई व्यवहार नामक माक्स लगाएर आफ्नो पेशामा उत्रने गर्छन्। जसले गर्दा सर्वसाधारणले समेत मिडियाले पीत पत्रकारिता गरे भनेर दंगाइदिने काम गरिरहेको छ।

के हो पीत पत्रकारिता भन्ने सामान्य ज्ञान नभएकाले पनि मिडियामाथि आरोप लगाउन पछि पर्दैनन्। किन यसो भइरहेको छ? यसबारे सामाजिक सञ्जालमा हेरे पुगिहाल्छ।

सबै पाठक भ्रम फैलाउने मात्र छैनन्। त्रास फैलाउने मात्र छैनन्। उनीहरु समाचारको स्रोत खोजिरहेका छन्। नचाहिने समाचार प्रकाशन गर्नुको कारण, उत्तेजित हेडलाइन राख्नुको उद्देश्य माग गरिरहेका छन्। कतिपयले समाचारकै कारण कोरोनाको त्रास फैलिरहेको बताइरहेका छन्। दाबी गरिरहेका छन्। यसमा मिडियाले कति संयमता अपनाउने हो, यो विषय अब पत्रकारहरुले जिम्मेवार भएर सोच्ने बेला आइसकेको छ।

हुन त पत्रकारिताको उच्च शिक्षा लिने क्रममा ‘ग्लोबल मिडिया’विषय पढ्नैपर्छ। पत्रकारिताको प्रयोग किन हुन्छ भन्ने छर्लंग त त्यही कक्षामा पुगेपछि थाहा हुन्छ।

कसरी किन फैलियो कोरोना भाइरस? यसको सोधिखोजी भविष्यमा हुँदै गर्ला तर, कोरोना भाइरसले मानव समाजलाई बुमर्‍याङमा पारेको छ। अब कसरी सामान्य दैनिकीमा फर्कने, यसको समाधान दिने बेला आइसकेको छ। यसो गर्नमा हामी ‘वाचडग’ कहलिने मिडिया पछि पर्नु हुँदैन।

नेत्र तामाङको यो विचारसामग्री पहिलो पोस्ट डट कमबाट साभार गरिएकाे हो।

Comments