सुनेर धेरै, खोजेर बिरलै: नेपाली सञ्चारमाध्यममा कोविड-१९ रिर्पोटिङको नालीबेली

बितेका ६ महिनामा नेपाली मिडियाले रिर्पोटिङमा गर्न सकेका, गरेका, गर्न चुकेका र आगामी दिनमा गर्नु पर्ने कार्य के-कस्ता छन्?  महामारीको सुरुदेखिनै निरन्तर कोविड-१९ बारे रिर्पोटिङ गर्दै आइरहेकी  फातिमा बानुको रिपोर्ट । उनी लेख्छिन्: रिर्पोटिङ अझै सशक्त बनाउनु छ, यसका लागि कोभिड बिटमा खटिने पत्रकारलाई प्रेरित गर्नु पनि आवश्यक छ ।

– फातिमा बानु

प्राकृतिक विपद, ठूला आन्दोलन, द्धन्द्ध जस्ता आपतकालीन अवस्थाहरुले मिडियाको बढी नै ध्यानाकर्षण गर्ने गर्छन् । यस्तो समयमा सञ्चारमाध्यमहरु समाजलाई सही सूचना, शिक्षा, र चेतना दिने अत्यावश्यक माध्यम बन्न पुग्छन् । 

अहिले नेपाललगायत विश्वका दुई सय १३ वटा मुलुकभरि महामारी कै रूपमा फैलिएको संक्रमणजन्य रोग कोभिड-१९ नेपाली पत्रकारिताका लागि पनि नितान्त नौलो अनुभव हो ।

सन् २०१९ डिसेम्बरमा चीनको वुहान शहरमा संक्रमण शुरु भै चीनभरि कोभिड-१९ तीव्र गतिमा फैलिन थाल्यो। त्यति खेरै नेपालमा पनि यो कोरोना भाइरस फैलन सक्ने विज्ञको अनुमानका आधारमा नेपाली मिडियामा यससम्बन्धी फाटफुट समाचारहरू छापिन थाले। सन् २०२० जनवरी २४ (माघ ११)मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोभिड-१९ को पहिलो केस भेटिएको घोषणा गर्यो, जुन दक्षिण एशियायाली मुलुककै पहिलो केस थियो ।

वुहानबाटै फर्किएका ३१ वर्षीय नेपाली नागरिकमा संक्रमण पुष्टि भएपछि यस सम्बन्धि समाचारहरु राष्ट्रिय दैनिकका मुख्य हेडलाइन बनेर छापिए; अनलाइनका ब्यानर बने र रेडियो अनि टेलिभिजनमा समेत खुब प्रशारित भए । नेपालमा पनि कोभिड-१९ संक्रमण फैलिन थालेपछि सञ्चारमाध्यमले यस सम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रकाशित/प्रशारित गरिरहेका छन् ।

केहि निजि अनुभव 
चीनको वुहानमा फैलिएको भाइरसको संक्रमण नेपालसम्म आइपुग्ने सम्भावनाबारे म कार्यरत संस्था कान्तिपुरको ‘न्यूज मिटिङ’ मा पनि छलफल भइरहेको थियो । यत्तिकैमा माघ ११ गते पहिलो केस पुष्टि भएसँगै म निरन्तर कोरोना रिर्पोटिङमै लागेँ । संक्रमण, स्वास्थ्य सामग्री अभाव र लकडाउनका विभिन्न विषयमै दैनिक लेखेँ । विशेषज्ञहरूसँगकै छलफल र भेटघाटमा समय बिते ।

बजारमा किन्न खोज्दापनि मास्क पाइने स्थिति थिएन । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी साथीहरूले नै मलाई मास्क र सेनिटाइजर सहयोग गरेका थिए । कुनै दिन बिहानदेखि रात अबेरसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालमै बसेर संक्रमित आएको, आइसोलेसन भर्ना भएको प्रत्यक्षदर्शी पनि बनेँ । त्यही आधारमा समाचार पनि तयार पारेँ । संक्रमण फैलिएको सुरूवाती दिनहरूमा कसरी रिर्पोटिङ गर्ने भन्ने चिन्ता र आफुपनि संक्रमित भइन्छ कि भन्ने डर थियो । डरका वावजुद सरकारले कोभिड अस्पताल भनेर तोकेका चार वटा अस्पताल दैनिक जसो म पुगिरहेँ । लकडाउनका कारण सवारी साधन ठप्प थियो । हिँडेरै भएपनि अस्पतालका चक्कर काटेँ, कति दिन चिकित्सक, स्वास्थ्यकर्मीसँग सहयोग मागेर पनि अस्पताल पुगेँ । कुनै उपाय नलाग्दा बिरामी बोकेका एम्बुलेन्स चढेर पनि हिँडे ।  स्वास्थ्य मन्त्रालयका प्रतिनिधी चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स, ड्राइभर, सफाईकर्मीहरुबारे रिर्पोटिङ गरिरहें । 

कान्तिपुर दैनिककी फातिमा बानु (लेखक) सानेपास्थित स्टार अस्पतालको आइसोलेसन कक्षमा रिर्पोटिङको क्रममा । 

हालसम्म रिर्पोटिङ गर्दा कोभिड सम्बन्धी अझै खोजमूलक रिर्पोटिङमा कमिकमजोरी भएजस्तो लाग्छ । अर्को कुरा, कोरोना भाइरसको त्रासले जनमानसलाई जति भयभित बनायो त्यो भन्दा बढी गलत र भ्रामक समाचारले उनीहरूलाई अत्यायो । यस्ता मिथ्या सूचनाले समाजलाई आतंकित र भयभित पार्ने मात्र होइन फ्रन्टलाइनमा बसेर सूचना सम्प्रेशण गर्ने सञ्चारकर्मीहरूको विश्वसनीयतामाथि पनि प्रश्न उठाउने काम गर्यो ।

सबैलाई जस्तो कोभिड-१९ मेरो लागि पनि नयाँ विषय थियो; त्यसैले नयाँ फिल्डमा हिँड्दा डरभन्दा कौतुहल र उत्साहको अनुभूति बढि हुँदै गयो । डरै लाग्यो, जोखिम भयो भनेर कुनै दिन घर बस्न मन लागेन । रिर्पोटिङ गर्ने क्रममा आफैं संक्रमित भइएला भन्दा पनि अरूलाई सार्ने माध्यम पो बनिएला भन्ने चिन्ताले भने सताइरहन्थ्यो । त्यसैले फिल्ड र काम बाहेक म अन्त कतै गइन, भेटघाट गरिनँ । अहिलेसम्म पनि होम आइसोलेनमा बस्छु, घरबाटै काम गर्छु । आवश्यक पर्दा सुरक्षा अपनाएर कार्यालय छिर्छु ।

हालसम्म रिर्पोटिङ गर्दा कोभिड सम्बन्धी अझै खोजमूलक रिर्पोटिङमा कमिकमजोरी भएजस्तो लाग्छ । स्वास्थ्य रिर्पोटरको जिम्मेवारीका हिसाबले दैनिक लेख्नुपर्ने बाध्यताका कारण खोजमूलक सामग्री जुटाउन समय पाइरहेको छैन ।

अर्को कुरा, मेरो आफ्नै अनुभवमा सर्सती हेर्दा नेपालमा कोरोना भाइरसको त्रासले जनमानसलाई जति भयभित बनायो त्यो भन्दा बढी गलत र भ्रामक समाचारले उनीहरूलाई अत्यायो । यस्ता मिथ्या सूचनाले समाजलाई आतंकित र भयभित पार्ने मात्र होइन फ्रन्टलाइनमा बसेर सूचना सम्प्रेशण गर्ने सञ्चारकर्मीहरूको विश्वसनीयतामाथि पनि प्रश्न उठाउने काम गर्यो । 

मिडियाको ध्यान : शुरुदेखि अहिलेसम्म
कोभिड-१९ संक्रमण भएनभएको पुष्टि गर्ने प्रयोगशाला र तालीमप्राप्त जनशक्ति नेपालमा नभएका कारण पहिलो संक्रमितको परीक्षण चीनको हङकङमा गरिएको थियो । नेपालमा पनि परीक्षणले सम्भावनाबारे मिडियामा चर्चा भए । स्वास्थ्य विज्ञले शंकास्पद र संक्रमतिलाई छुट्टै कोठा (आइसोलेसन रूम) राखेर निगरानी तथा उपचार गर्नुपर्ने भन्न थाले । यो संक्रमणका ५ प्रतिशत बिरामी गम्भीर हुने र उनीहरुलाई अस्पतालको आईसीयु र भेन्टिलेटर चाहिने तथ्यहरू आउन थालेपछि मिडियाको ध्यान अस्पतालका पूर्वाधारतर्फ मोडियो ।

अनलाइन र पत्रपत्रिकामा नेपालका कुन अस्पतालमा कस्ता पूर्वाधार छन् भन्ने बिषयका सामग्रीलाई महत्वपूर्ण स्थान दिएर छापिन थालियो । कोभिड-१९ सम्बन्धी समाचार, लेख, सम्पादकीयले मुख्य ठाउँ ओगट्न थाले ।  टाइम पत्रिकाले गरेको एक विश्लेषण अनुसार यसअघि सन् २०१८ मा विश्वभरि फैलिएको इबोला भाइरसबारेमा अंग्रेजी सञ्चारमाध्यमहरुमा आएका समाचारहरुको तुलनामा कोभिड-१९ सम्बन्धि समाचारहरु पहिलो महिनामै झन्डै २३ गुणा बढि प्रकाशित-प्रसारित भएका थिए ।

नेफालमा संक्रमण देखिएको सुरूवाती दिनमा संक्रमणभन्दा डरत्रास र फोबियाका कारण समाचारहरू बढि छापिए । संक्रमण बढ्दै गएपछि मास्क, सेनिटाइजर लगायत सर्वसाधारणका लागि आवश्यक पर्ने सुरक्षात्मक सामग्रीको बजार अभावबारे समाचारले पनि उत्तिकै ठाउँ लिए । नेपालमै यस्ता सामग्रीको उत्पादन गर्न सकिने सम्भावनाबारे सरकारी निकाय, व्यवसायी र विज्ञका रेडियो टेलिभिजनमा अन्तर्वाता र पत्रपक्रिकामा लेखहरू आए । संक्रमणबाट बच्ने उपायबारे सबै मिडियाले विज्ञसँग गरेका कुराकानीमा आधारित समाचारको कुनै कमी भए जस्तो देखिएन । केही दर्ता नभएका र अनौपचारिक रूपमा चलेका अनलाइनबाट भ्रामक र अपवाह फैलाउने खालका समाचार सामग्री पनि आए जसलाई नेपाल प्रेस काउन्सिलले अनुगमन गरेर कारबाही गर्यो र कति त्यस्ता अनलाइन बन्द पनि भए ।

आरडीटी र पीसीआर विधिबाट परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री खरीदमा स्वास्थ्य मन्त्रालयबाटै भएका आर्थिक अनियमितता सम्बन्धी समाचार छापिए । यसबारे जनतालाई स्पष्ट पार्न स्वास्थ्य मन्त्री लगायत मन्त्रालयमा पदाधिकारीसँग टेलिभिजनमा अन्तर्वाता पनि आए ।

कोभिड-१९ नयाँ खाले भाइरस भएकाले यसबारे अहिले पनि फरकफरक धारणा र तथ्य सार्वजनिक भइरहेका छन् जसले गर्दा मिडियामा यो विषयलाई विशेष प्राथमिकता दिएर समाचार तथा लेख प्रकाशन तथा प्रशारण भैरहेका छन् । नयाँ महामारीबारे यकिनका साथ केही भनिहाल्न नसक्ने स्थिति भएकाले जनमानसमा अझै यो चासो र त्रासको विषय बनिरहेको छ । दैनिक संक्रमणदर बढ्दो छ । सर्वसाधारण मात्रै नभएर स्वास्थ्यकर्मी लगायत अग्रपथमा बसेर खटिइरहेका सुरक्षाकर्मी पनि उत्तिकै र केहि हदसम्म पत्रकारसमेत संक्रमित भइरहेका छन् । देशका सबै जसो जिल्लामा संक्रमित भेटिइरहेका छन् । मिडियाले अन्य विषय छायाँमै पारेर अहिले कोभिड-१९ सम्बन्धी समाचारलाई प्राथमिकतामा राखेर प्रकाशित, प्रसारण गरिरहेको छ ।

मिश्रित प्रतिक्रिया
कोभिड-१९ महामारीमा नेपाली मिडियाको भूमिका सक्रिय र सकरात्मक देखिएको बताउँछिन् पत्रकार बबिता बस्नेत । ‘यस वीचमा पत्रकारले जोखिम मोलेर भए पन समाजलाई जीवन्त बनाउने, जनतालाई सुसुचति गर्नु पर्ने उत्तरदायत्वि पुरा गरेका छन् । कोभिड नयाँ खाले महामारी भएकाले शुरूको अवस्थामा सञ्चारकर्मी केही चुक्नु स्वभावकि हो,’ बस्नेत भन्छिन्, ‛सबैलाई एउटै डालोमा हाल्न मल्दिैन तर केही मडियिाले भ्रम छर्ने काम पन गरे, नाम चलेका र वश्विसनीय मानिएका मिडियाबाट भने सकरात्मक भूमिका नर्विाह भएको देखियो ।’ महामारीलाई एउटा भयावह अवस्थाको रूपमामात्रै प्रस्तुत नगरी आशा जगाउने खालका समाचार सामग्री दिन भने मिडियाले अझै नसकेको उनले बताइन् ।   

मिडियाकर्मीका विचारमा सञ्चारमध्यमहरु नयाँ खालको महामारीले ल्याएका चुनौतीहरुवीच पनि सक्रिय नै रहे, सूचना दिने कुरामा पछि परेनन्; तर पत्रकारले स्थलगत रूपमा सूचना पुस्टि नगर्लानाले वा सरकारी संयन्त्रले सही र सतर्कतापूर्ण सूचना नदिनाले कतिपय अवस्थामा सत्य-तथ्य सूचनाको ठाउँमा अफवाह फैलाए र दिग्भ्रमित गर्ने खालका सामाग्रीहरु पनि दिए । 

तथ्य जांचमा रुची देखाउने पत्रकार उमेश श्रेष्ठका अनुसार महामारी अवधिमा नेपाली मिडियाको मुख्य समस्या आधिकारिक व्यक्ति र संस्थाबाट सूचना आउनुभन्दा पहिले नै संक्रमितको संख्याको समाचार लेख्ने होडबाजी गर्नु हो । सही सूचना दिनेभन्दा पनि सनसनीपूर्ण हेडलाइन बनाएर समाचार बिकाउनेतर्फ मिडिया अग्रसर रहेको जस्तो लाग्छ उनलाई । ‛यो समस्या मुलधारका कान्तिपुरदेखि कपिपेस्ट गर्ने अनलाइनहरूमा छ,’ उनले भने, ‛यस्ता गलत समाचारले समाजलाई दिगभ्रमित मात्रै पारेन, असली पत्रकारको बदनामी समेत गरेको छ ।’ 

यस्तो हुनुमा मिडियाको मात्रै गल्ती नभई सरकारी संयन्त्रले सही र सतर्कतापूर्ण सूचना नदिनु पनि कारण रहेको उनले बताए । सरकारले सूचना दिन कन्जुस्याइं गर्दा या जोखिमका कारण स्थलमा गएर सूचना पुष्ट गर्न नक्दा कति पत्रकारले समाजिक सञ्जालका सूचनालई समेत आधार मानेर समाचार लेख्नुपर्ने बाध्यता सिर्जना भएको जस्तो लाग्छ उनलाई ।

केही मिडियामा अफवाह बाहेक महामारी नियन्त्रणका लागि कस्तो तयारी गर्ने, नेपालमा कस्तो तयारी छ भन्ने बारे सकरात्मक समाचार पनि उत्तिकै आएका छन् । संक्रमितको उपचार, क्वारेन्टाइनको व्यवस्थापन, आइसोलेसन र आईसीयुको व्यवस्था, अस्पतालमा उपचार नपाउने समस्या, स्वास्थ्य सामग्रीमा भ्रष्टचार, कालोबजारीका विषय उठान गरेर राज्यपक्षलाई सुधार गर्न मिडियाले सकरात्मक भूमिका खेलेको देखिन्छ ।कोभिड-१९ नौलो विषय भएकाले सञ्चार माध्यममको नियामक निकाय प्रेस काउन्सिल नेपालले संक्रमण फैलिएको सुरुवाती अवस्थामै आफू पनि बचेर सत्यतथ्य सूचना प्रवाह गर्न आग्रह गर्यो । काउन्सिल र  नेपाल पत्रकार महासंघले कोरोना महामारी सम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकार र सञ्चार माध्यमले पालना गर्नुपर्ने दायित्व विषयक निर्देशिका पनि जारी गर्यो ।

त्यसपछि पनि निर्देशिका उल्लघंन गर्दै सामाजिक सञ्जालदेखि नामै नसुनिएका अनलाइन सञ्चारमाध्यमबाट गतल समाचार सम्प्रेषण भएका थिए । काउन्सिलले अपवाह फैलाउने खालका समाचार सामग्री प्रकाशन र प्रशारण गर्नेलाई कारवाही गर्ने चेतावनी नै दिएको थियो । चैत १० गते राजधानीराष्ट्रिय दैनिकले पहिलो पृष्ठमै ‛असुरक्षित अस्पताल, स्वास्थ्यकर्मी जोखिममा’ शिर्षकको समाचार दिएको थियो । नेपालमा गरिएको कोभिड-१९ परीक्षणमा २ हजार जनामा संक्रमण पोजेटिभ देखियो भनेर लेखिएको थियो । त्यतिखेर नेपालमा परीक्षणको संख्या एक हजार पनि पुगेको थिएन (हेर्नुहोस् रामकृष्ण भण्डारीको लेख, संहिता, चैत २०७६/जेठ २०७७, पृष्ठ २ मा) ।

फिल्ड रिर्पोटिङ घट्यो, संख्यात्मक समाचार बढ्यो
‛कोरोना भगाउन डिटोल पिलाउने, नेपालमै पर्सनल प्रोटेक्सन इक्विपमेन्ट उत्पादन, मिसवर्ल्डकी अध्यक्ष जुलिया मोर्लीलाई कोरोना संक्रमण’ जस्ता झुटा समाचारले पनि नेपाली सञ्चारमाध्यममा तहल्का मच्चाए । पाठकमा भ्रम छर्ने खालका थुप्रै समाचार छापिए । केही बाहेक अधिकांश मिडियाले आफूले लेखेका गल्ती समाचार सच्याउन पनि आनाकानी गरे।

स्थलगत रूपमै उपस्थित भएर, देखेर मात्रै समाचार लेख्नु पर्छ भन्ने पत्रकारिताको मान्यता रहे पनि महामारी र लकडाउनका कारण पत्रकारलाई घर भित्रै बसी समाचार लेख्नु पर्ने बाध्यता भयो । यस्तो अवस्थामा शुरूका दिनमै केही पत्रिका बन्द हुनपुगे, रेडियो र टेलिभिजनमा पनि स्थलगत रिर्पोटिङ गर्ने अवस्था भएन। स्थलगत रिर्पोटिङ कम भएकै कारण समाचारसामग्री अपुष्ट र गलत हुनथालेका थिए ।

मिडियाले जनतालाई रोगका बारेमा बढि भन्दा बढि जानकारी दिएर त्रास घटाउनु पर्नेमा ‛टीआरपी’ बढाउनतिर लागे; राज्यले मिडियालाई अकुंश लगाउने, सूचना लुकाउने जस्ता गलत व्यवहारका कारण पनि पत्रकार धेरै ठाउँमा चुके।   दीपक दाहाल, स्वास्थ्य पत्रकार

कोभिड महामारीमा नेपालका पत्रकार र मिडियाले जनतलाई सचेत गराउने र सरकारलाई जिम्मेवार बनाउनेभन्दा त्रास फैलाउने काम बढि गरेको जस्तो लाग्छ १७ बर्षदेखि स्वास्थ्य पत्रकारितामा सक्रिय दीपक दाहाललाई । यस्तो अवस्थामा मिडियाले  जनतालाई रोगका बारेमा बढि भन्दा बढि जानकारी दिएर त्रास घटाउनु पर्नेमा ‛टीआरपी’ बढाउन समाचार बिकाउनतिर लागेको उनले बताए । ‛विषेशगरि अनलाइन पत्रकारितामा यस्तो अभ्यास बढि देखियो,’ उनले भने, ‛महामारी र विपदमा पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ, यस्तो समयमा रिर्पोटिङ गर्नपनि जटिल हुन्छ । तर यसलाई नै अवसर मानेर पत्रकारले जुन भूमिका निभाउनुपर्थ्यो त्यो देखिएन ।’

महामारीको समयमा राज्यले मिडियालाई अकुंश लगाउने, सूचना लुकाउने जस्ता गलत व्यवहारका कारण पनि पत्रकार धेरै ठाउँमा चुके जस्तो दाहाललाई । राज्यको यस्तो व्यवहारविच पनि पत्रकारले विश्वका उदाहरणहरू प्रस्तुत गरेर नेपालमा महामारी व्यवस्थापन गर्न दबाब सिर्जना गरेको उनले बताए । ‛राज्यले जति सूचना लुकायो उति भ्रम फैलिन्छ यस्तो बेलामा,’ उनले भने, ‛तर मिडियाले राज्यको कमी कमजोरी औल्याएर जिम्मेवार बनाउन उल्लेखनीय भूमिका पनि खेलिरहेको छ ।’

पन्ध्र वर्षदेखि स्वास्थ्य बिटमा पत्रकारिता गर्दै आइरहेका पत्रकार तथा हेल्थ टुडे म्यागेजिनका सम्पादक पदमराज जोशीको अनुभवमा फोनबाटै सुनेर समाचार लेखेका कारण पनि मिडियामा गल्ती र कमजोरी भए । समाचार ब्रेकिङ गर्ने होडबाजीमा पत्रकारले गुणस्तरभन्दा संख्यात्मक समाचारमा बढि जोड दिए जस्तो उनलाई लाग्छ । ‛फिल्डमा जान डर, जान चाहनेका लागि सुरक्षात्मक सामग्री थिएन,’ उनले भने, ‛पत्रकारले किनेर पनि मास्क, सेनिटाइजर जस्ता आधारभूत सुरक्षा सामग्री पाएनन्, कार्यरत संस्थाले पनि यसमा चासो देखाएन ।’

मिडियाले संक्रमित र संक्रमणका कारण मृत्यु हुनेको संख्यात्मकभन्दा खोजमुलक स्टोरीमा काम गर्नुपर्ने देखिन्छ। कोभिड-१९ र लकडाउन प्रभावका कारण जनमानसमा परेको प्रत्यक्ष असर र समाधनको बाटो देखाउने खालका समाचार पाठकले खोजिरहेको जस्तो लाग्छ ।   पदमराज जोशी, सम्पादक, हेल्थ टुडे

विश्वमा यसअघि पनि फैलिएका सार्स, मर्स, इबोला, स्पेनिश फ्लुभन्दा अहिले फैलिरहेको कोभिड-१९ संक्रमणको विषय मिडियामा बढि चर्चा भए जस्तो जोशीलाई लाग्छ । यस सम्बन्धी समाचार, फिल्ड रिर्पोटिङ, सम्पादकीय, लेखदेखि पाठकपत्रसम्मले उत्तिकै ठाउँ लिएको उनले बताए । ‛पहिले फैलिएका महामारीताका नेपालमा मिडिया धेरै थिएनन् । थोरै मिडियामा थोरै चर्चा थियो,’ उनले भने, ‛यो अनलाइन  र मल्टीमिडियाको युग हो । एक त भाइरस लामो समयसम्म रह्यो, अर्कोतिर मिडियाको संख्या नै धेरै भएकाले कोभिड-१९ को कभरेज व्यापक नै देखिएको छ ।’

नेपालमा संक्रमणका केसहरू बढ्न थालेपछि मिडियामा संक्रमणबारे संख्यात्मक सामग्री बढि आए । मिडियाले खोजेर गर्नुपर्ने फिल्ड स्टोरी भन्दा मन्त्रालयले दैनिक फेसबुक लाइभ गरेर दिने सूचनाका आधारमा मात्रै समाचारले बढि प्रभाव पारेको जोशी बताउँछन् । पत्रकारलाई सुरक्षा प्रदान गरेर गुणस्तरीय  खालका स्टोरी उत्पादनमा प्रेरित गर्न मिडिया हाउसले कदम चाल्नु पर्छ भन्ने उनको बुझाइ छ । ‛मिडियाले संक्रमित र संक्रमणका कारण मृत्यु हुनेको संख्यात्मकभन्दा खोजमुलक स्टोरीमा काम गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‛‛कोभिड-१९ र लकडाउन प्रभावका कारण जनमानसमा परेको प्रत्यक्ष असर र समाधनको बाटो देखाउने खालका समाचार पाठकले खोजिरहेको जस्तो लाग्छ ।’

चुनौती नै चुनौतीका वीच विशेषअवसर
कोभिड महामारी रिर्पोटिङको विशेष अवसर बनेजस्तो लाग्छ अनलाइनखबरका पत्रकार सागर बुढाथोकीलाई । उनी संक्रमणको शुरूवाती दिनदेखि नै फिल्डमा खटिएर सक्रिय पत्रकारिता गरिरहेका छन् । कार्यरत संस्थाले मास्क सेनिटाइजर जस्ता सुरक्षात्मक सामग्री दिएर फिल्डमै खटिन सघाएको उनले बताए । ‛कुनैदिन पनि घरमा बसेर काम गरिन । फिल्डमा जान डरत्रास त थियो नै, त्योभन्दा बढि उत्साह थियो ।’ राज्यपक्षबाट सूचना दिन कन्जुस्याई गरिदिदाँ भने केही कठिनाइ भएको उनको अनुभव छ । उनी जस्तै महामारीकाविच कति पत्रकारले फिल्डमै खटेर समाचार सम्प्रेषण गरे । कति पत्रकार आफै संक्रमित पनि भए । नेपाल पत्रकार महासंघका अनुसार नेपालमा भदौ ८ गतेसम्ममा ३६ जना पत्रकार कोरोना संक्रमित भएका छन् ।

अनलाइन खबरका सागर बुढाथोकी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा रिर्पोटिङ क्रममा । फोटो: चन्द्रबहादुर आले

महामारीकाविच कति पत्रकारले फिल्डमै खटेर समाचार सम्प्रेषण गरे । कति पत्रकार आफै संक्रमित पनि भए । नेपाल पत्रकार महासंघका अनुसार नेपालमा भदौ ८ गतेसम्ममा ३६ जना पत्रकार कोरोना संक्रमित भएका छन् ।

कोभिड महामारीको महासंकटमा नेपाली पत्रकारिताले आफूलाई अब्बल देखाउने मौका पाएको महासंघका महासचिव रमेश विष्ट बताउँछन् । नागरिकलाई संक्रमणसँग बच्ने र लड्ने तरिकामा अभ्यस्त बनाउन पत्रकारिता क्षेत्रले नै सघाएको उनले बताए । ‛शुरूवाती दिनहरूमा संक्रमण सम्बन्धी समाचार ब्रेक गर्ने होडबाजीमा धेरै मिडिया चिप्लिए, विश्वसयिता गुमाए,’ उनले भने, ‛नकरात्मक समाचार बढि आए, मिडियाले सकरात्मक समाचार लेखेर जनताको मनोबल बढाउनुपर्नेमा त्रास फैलाएर हिँडे ।’

संक्रमितको संख्या गनेर मात्रै लेख्नुभन्दा निको भएका, समुदायमा स्थापित भएका व्यक्तिहरुको बारेमा यथार्थ जानकारी दिनु त्रासपूर्ण वातावरण शान्त बनाउनुमा पनि सञ्चार क्षेत्रको महत्वपूर्ण भुमिका रहेको उनले बताए । उनका अनुसार संक्रमणका विचमा सञ्चारकर्मीलाई सूचना प्रदान गर्ने र पहुँच दिने कुरामा समस्या भएका कारण पनि उनीहरूलाई भूमिका निभाउन कठिनाइ भएको हो । संघ, प्रदेश र स्थानीय तहसम्म यस्तो समस्या देखिएको उनले बताए ।

संघीय सरकारको मन्त्रिपरिषद् बैठकदेखि प्रवक्ताको पत्रकार सम्मेलनमा समेत सूचना ‛सिण्डिकेट’ गरिएको गुनासो महासंघमा पुगेका छन् । केही नकरात्मक समाचार फैलाएको भन्दैमा सकरात्मक कदम नचालिएको भन्न नमिल्ने विष्टको बुझाइ छ । ‛नेपालको पत्रकारिता जनताई सूचना दिने काममा मात्रै सिमित भएन, यसविचमा भएका भ्रष्टाचार, बेथितिको पक्षलाई पनि उत्तिकै बलियोसँग प्रस्तुत गर्यो ।’ नेपाली पत्रकारिताले यो वीचमा खेलेको सामाजिक उत्तरदायित्वको भूमिका पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि उदाहरणीय नै बनेको उनले बताए । महामारी संकटविरुद्धको लडाईंमा अग्रपंक्तिमा खटेको पत्रकारिता क्षेत्रको भूमिकालाई राज्यपक्षले भने बेवास्ता गरेको उनको बुझाइ छ । निति तथा कार्यक्रम र बजेटमा कतैपनि मिडियालाई समावेश नगरिनु दुखद रहेको उनले बताए ।

‛महामारीका कारण अन्य व्यवसाय जस्तै मिडिया पनि धरासायी बनेका छन्; यसको प्रत्यक्ष मारमा पत्रकार परेका छन्,’ उनले भने, ‛संस्थाले मिडियालाई बेतलबी बिदामा राखेका छन्, तलब कटौती गर्ने र पेशा छोड्ने वातावरण सिर्जना गर्ने जस्ता निर्मम काम गरिरहेका छन् ।’ संकटको बेला जोखिम मोलेर आफ्नो भूमिका निभाएका पत्रकारको योगदानको मुल्याकंन भने कतै कुनै पक्षबाट नभएको उनले बताए ।

मिडियामा महामारीको प्रभावको कुरा गर्दा पत्रकारकै मात्र चर्चा भैरहेको देखिन्छ, तर सञ्चार गृहहरुमा कार्यरत कतिपय श्रमजीवीहरुले पनि जागिर गुमाएका छन्, कतिको तलब कट्टी गरिएकोछ भने कतिले तलबै पाएका छैनन् । यस्ता कुरा समाचारको बिषय बन्न सकेका छैनन् ।

रेडियो, टेलिभिजनकोभूमिका
राज्यपक्षबाट सूचना प्रवाहमा सहकार्य नहुँदा सूचनाको एकरुपतामा भने रेडियो पत्रकार उत्तिकै चुक्नु परे पनि तुलनात्मक हिसाबले रेडियो पत्रकारितामा भ्रामक समाचार प्रशारण कम भएको सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)का अध्यक्ष सुवास खतिवडाले बताए ।

‛कोरोना महामारीका कारण केही दिन पत्रपत्रिका बन्द भएको अवस्थामा पनि रेडियोहरू सक्रिय थिए, रेडियोलाई विपद्को समयमा जनताले धेरै प्रयोग गर्ने सञ्चारमाध्यम पनि मानिन्छ,’ उनले भने, ‛अनलाइनमा आएका अपुष्ट र भ्रमपूर्ण समाचारबारे स्पष्ट पार्न पनि रेडियोको भूमिका मुख्य रह्यो ।’  लकडाउनका कारण पत्रकारलाई आउजाउ गर्न असहज हुँदा स्टेसनलाई ने आवास बनाएरपनि पत्रकारहरूले जनतासमक्ष सूचना पुर्याएको, जिम्मेवारी बहन गरेको खतिवडाले बताए । राज्यपक्षबाट सूचना प्रवाहमा सहकार्य नहुँदा सूचनाको एकरुपतामा भने रेडियो पत्रकार पनि उत्तिकै चुक्नु परेको उनले बताए ।

कोरोना महामारीका कारण केही दिन पत्रपत्रिका बन्द भएको अवस्थामा पनि रेडियोहरू सक्रिय थिए, रेडियोलाई विपद्को समयमा जनताले धेरै प्रयोग गर्ने सञ्चारमाध्यम पनि मानिन्छ; अनलाइनमा आएका अपुष्ट र भ्रमपूर्ण समाचारबारे स्पष्ट पार्न पनि रेडियोको भूमिका मुख्य रह्यो ।  — सुवास खतिवडा, अध्यक्ष, अकोराब

नेपाल टेलिभिजनकाअध्यक्ष महेन्द्र विष्टका अनुसार स्थलमै गएर भिडियोसहित समाचार सामग्री प्रस्तुत गर्नुपर्ने भएकाले कोभिड महामारीमा टेलिभिजन पत्रकारले बढि चूनौतीको सामना गर्नु पर्यो । चुनौतीका वीच पनि टेलिभिजन पत्रकारले भ्रम फैलाउनेभन्दा जनचेतनामूलक समाचारमा जोड दिएको उनले बताए । ‛फिल्डमै जानुपर्ने भएकाले टीभी पत्रकारलाई संक्रमणको धेरै जोखिम थियो । तैपनि आइसोलेसनकेन्द्रहरुमै पुगेर पनि पत्रकारले समाचार ल्याए,’ उनले भने, ‛रोगको जानकारी र रोकथामका लागि उपयोगी सामग्रीमा पनि कुनै कमी भए जस्तो देखिएन ।’

महामारीलाई अवसरकै रूपमा लिएर काम गरेका पत्रकारले अबका दिनमा संक्रमणभन्दा पनि महामारीसँग जुधेर अघि बढ्नुपर्ने विषयलाई जोड पुग्ने खालका समाचार सामग्रीमा सञ्चारमाध्यमले ध्यान दिनुपर्ने विष्टको भनाइ छ ।

‛गल्ती देखाउने मात्रै होइन’
जनस्वास्थ्यविद् डा. शरद वन्तको विचारमा कोभिड प्रकोप नयाँ रोग भएकाले जसरी यसले सरकार, विज्ञ र सर्वसाधारणलाई अन्योलमा पार्यो, मिडियालाई पनि उत्तिकै अन्योलमा पार्यो । अहिलेसम बाढिपहिरो र भूकम्प जस्ता प्रकोप भोग्दै आइरहेको अवस्थामा यी बिपदभन्दा नयाँ खाले महामारी फैलदाँ मिडियाको भूमिका महत्वपूर्ण हुने उनले बताए । उनका अनुसार कोभिड महामारीमा जनतालाई सचेत गराउने र सरकारलाई जवाफदेही बनाउने भन्दापनि त्रास फैलाउने काम मिडियाबाट बढि भइरहेको छ ।

मिडियाले गल्ती देखाउने मात्रै होइन, गल्ती सच्याउने या गल्तीनै नहुन के गर्नुपर्थ्यो भनेर आफ्ना सामग्री तयार गर्नुपर्ने थियो । महामारी अहिलेनै नटुगिंएकाले आगामी दिनमा मिडियाको भूमिका अझै सशक्त हुनुपर्ने देखिन्छ।  — जनस्वास्थ्यविद् डा. शरद वन्त

‛सबैले त्यसो गरेनन् होला, सबैलाई दोषारोपण गर्न मिल्दैन पनि, तर सत्यतथ्यमा भन्दा मिथ्या कुरा मिडियाले फैलाएका छन्,’ उनले भने, ‛विज्ञले भनेका कुरा तोडमोड गरेर कडा हेडलाइन बनाउने हिसाबले समाचार आए, स्थिति सामान्य भएपनि भयाभह भैसक्यो भनेर पनि लेखे ।’

उनले भने जस्तै अफवाह फैलाउने समाचार बढि आएकै कारण विश्व स्वास्थ्य संगठनले ‘दिनमा दुई पटकभन्दा बढि कोरोना सम्बन्धी समाचार नपढ्नू, पढेपनि आधिकारीक स्रोतबाट आएका सूचना मात्रै विश्वास गर्नू’ भनेर विश्वभरका मानिससमक्ष आहवान नै गरेको थियो । महामारी व्यवस्थापनमा के गर्न सकिन्छ भनेर नीतिनिर्माण तहलाई बाटो देखाउने खालका समग्रीभन्दा कमीकमजोरी कोट्याएर उनीहरूलाई झन् कमजोर बनाउने काम मिडियाबाट भएको वन्त बताउँछन् ।

‛मिडियाले गल्ती देखाउने मात्रै होइन, गल्ती सच्याउने या गल्तीनै नहुन के गर्नुपर्थ्यो भनेर आफ्ना सामग्री तयार गर्नुपर्ने थियो,’ उनले भने, ‛महामारीका कारण नागरिकले भोगेका समस्या बाहिर ल्याएर सरकारलाई जिम्मेवार नबनाएको हो भन्न चाँहि मिल्दैन, यसमा मिडियाले सकरात्मक भूमिका निर्वाह गरेको देखियो ।’ महामारी अहिलेनै नटुगिंएकाले आगामी दिनमा मिडियाको भूमिका अझै सशक्त हुनुपर्ने उनले बताए ।

मिडियाले विपद्को समयमा राज्यसँग सहकार्य गर्ने भन्दा कमजोरीऔल्याउने, जनतामा सरकारप्रति वितृष्णा जगाउने काम पनि गरेको छ । सबैलाई भन्न मिल्दैन तर केही पत्रकारले सरकारको विरोध मात्रै गर्ने ढ्रगबाट समाचार लेखेको पनि देखिन्छ ।  — डा. जागेश्वर गौतम, स्वास्थ्य मन्त्रालयका प्रवक्ता 

महामारी पछि देशमा पहिलेको अवस्थामा फर्किन कस्ता प्रणाली अपनाउनु पर्छ र सरकारले अपनाउँदैछ, मिडियाले प्रश्न गर्नु पर्ने बेला आइसकेको उनी बताउँछन् । ‛आलोचना धेरै भयो, अब समस्या समाधान कसरी गर्ने, कस्ता निति बनाउने, मिडियाले यसमा अग्रसर भूमिका खेल्नुपर्छ,’ उनले भने, ‛सरकारले केही गर्न सकेन, जानेन भनेर जिस्काउने भन्दा पनि सकरात्मक आलोचना गरेर मिडियाले झक्झकाउनु पर्छ।’

राज्यको चौथो अगं मानिएको मिडियाले विपद्को समयमा राज्यसँग सहकार्य गर्ने भन्दा कमजोरीऔल्याउने, जनतामा सरकारप्रति वितृष्णा जगाउने काम गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् । प्रवक्ताबाट लिइएका सूचना पत्रकारले आफ्नो स्वार्थअनुसार तोडमोड पारेर प्रकाशन/प्रशारण गरेको उनले बताए । ‛हामीले दैनिक लाइभ गरेर २४ घण्टाका तथ्याकं र जानकारी दिएकै छौं, फोन गरेर पनि लिनुहुन्छ उहाँहरुले,’ उनले भने, ‛कति पत्रकारमा अझै स्पष्टता छैन जस्तो लाग्छ, सबैलाई भन्न मिल्दैन तर केही पत्रकारले सरकारको विरोध मात्रै गर्ने ढ्रगबाट समाचार लेखेको पनि देखिन्छ ।’

महामारीजन्य रोगको समाचार सम्प्रेषणमा राजनितिक स्वार्थ राखेर लखेट्ने भन्दा पनि मिडियाले सहकार्य गरेर अघि बढेमा यो समस्या चाँडै समाधान हुने उनले बताए ।

नियामक निकायको नजर
भ्रामक समाचारविरुद्ध प्रेस काउन्सिल नेपालमा पटकपटक उजुरीहरू परिरहने काउन्सिलका अध्यक्ष किशोर क्षेष्ठले बताए । पत्रकारिताको आचार संहिता विपरित संक्रमितको नाम परिचय खुलाइदिने उसका परिवार र आफन्तबारे जानकारी दिने जस्ता काम मिडियाबाट भएको उनी बताउँछन् ।

‛संक्रमण सारेको भनेर मिडियाले कतिलाई लाञ्छना लगाए, मानसिक पीडामा पारिदिए,’ उनले भने, ‛निश्चित जाति र धर्म समुदायको मानिसले कोरोना सार्यो भनेर पनि लेखे, उनीहरूको समुदाय र आत्मसम्मानमाथि आँच पुर्याए ।’

त्यस्ता समाचार माध्यमलाई चेतावनी दिदाँ समेत अटेरी गरेको, माफी माग्नुको सट्टा समाचार सामग्री नै हटाउने गरेको उनले बताए । ‛आफूले प्रकाशन र प्रशारण गरेका समाचारमाथि प्रश्न उठ्नासाथ यथाशिघ्र सच्याउनुपर्छ,’ उनले भने, ‛स्वास्थ्य र सुरक्षाजस्ता संवेदनशील विषयमा गम्भीर त्रृटि हुँदासम्म मिडियाले सच्याएनन्, खण्डन छापेनन् ।’

मिडिया चलाउने, समाचार बिकाउने नाममा जनतालाई थप मानसिक पीडामा पारेर जिम्मेवार र मर्यादित पत्रकारितालाई पनि भुलिरहेकोछु कि भन्ने कुराको ख्याल केही पत्रकार र सञ्चार माध्यममले गर्नु पर्छ ।  किशोर क्षेष्ठ, अध्यक्ष, प्रेस काउन्सिल नेपाल

क्षेष्ठका अनुसार पत्रकार र आमासञ्चारमाध्यममले महामारी लगायत जनस्वास्थ्यसँग सरोकार रहेका विषयमा उत्तेजना र निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा समाचार सप्रेषण गर्नु हुँदैनथियो, यो पत्रकारिता आचारसंहिता विपरित अभ्यास हो । मिडिया चलाउने, समाचार बिकाउने नाममा केही पत्रकार र सञ्चार माध्यममले जनतालाई थप मानसिक पीडामा पारेर जिम्मेवार र मर्यादित पत्रकारितालाई पनि भुलिरहेकोछु कि भन्ने ख्याल गर्नुपर्ने उनले बताए ।

महामारीका समयमा अफवाह फैलिन र गलत समाचार सम्प्रेषण हुन थालेपछि काउन्सिलले लकडाउन शुरु भएलगत्तै मिडियाको अनुगमन गरी बिना दर्ता सञ्चालित एक दर्जनभन्दा बढि अनलाइनलाई नखुल्ने बनाउन सिफारिस गरिदिएपछि गलत समाचार सम्प्रेषणमा नियन्त्रण भएको उनले बताए ।

‘स्पष्टिकरण मागियो, त्यस्ता सामग्री हटाउन र्देशन दिइयो,’ उनले भने, ‛अतिरञ्जित सामग्री सम्प्रेशषण गरेकालाई नेपालभित्र प्रकाशन र प्रशारण हुन नसक्ने व्यवस्था मिलाउन दुरसञ्चारलाई पत्राचार समेत गर्न बाध्य भयौं ।’

काउन्सिलले अवैधानिक प्रक्रियाबाट चलेका सञ्चार माध्यम र पत्रकारलाई साइबर अपराधको अभियोगमा थुनामा जानबाट जोगाइएको र दर्ता गरेर  मात्रै चलाउन चेतावनी दिएको श्रेष्ठले बताए । अटेरी गर्नेको प्रेस पास निलम्बन समेत गर्न बाध्य भएको उनले बताए ।

कोभिड १९ संक्रमणको जोखिम जोसुकैलाई छ । फ्रन्टलाइनमा बसेर समाचार सामग्री जुटाउन हिँड्नुपर्ने स्वास्थ्य बिटमा कलम चलाउने पत्रकारका लागि अझै जोखिमपूर्ण छ । जोखिमका वावजुद आफुलाई प्रमाणित गर्ने अवसर पनि उत्तिकै छ । जोखिम मोलेर फिल्डमै हिँडेका संञ्चारकर्मीको योगदानलाई धेरै मिडिया हाउसले नजरअन्दाज गरेको पनि देखिन्छ ।

म आफैं यसको चपेटामा परेकी सञ्चारकर्मी हुँ ।

कोभिड बिटमा खट्ने पत्रकारलाई प्रेरित गरेर संक्रमण सम्बन्धी रिर्पोटिङ अझै सशक्त बनाउन आवश्यक छ ।

फातिमा बानु कान्तिपुरमा स्वास्थ्य बिषयमा कलम चलाउने पत्रकार हुन् । यो सामग्री मिडिया फाउण्डेसनको कोविड–१९ मिडिया आउटरीच कार्यक्रमअन्तर्गत ह्युम्यानिटी युनाइटेडको सहयोगमा तयार गरिएको हो । लेखमा व्यक्त गरिएका दृष्टिकोण लेखकका हुन् ।

Comments