महामारीबीच के हो साँच्चिकै पत्रकारिता ?

पत्रकारिता प्रकोपका बेला झन् सक्रिय हुन्छ र हुनुपर्छ। जब समय खराब हुन्छ, तब पत्रकारहरूको आधारभूत काम हुन्छ- महत्त्वपूर्ण सूचना सम्प्रेषण गर्ने मात्र होइन, सिकाउने पनि– के गर्न हुन्छ, के गर्नु हुँदैन, कसलाई बोलाउने, केका लागि तयार रहने र कहाँ जाने? हामी आफ्नो नियमित काममा सन्तोष मान्छौँ। तर, यो आधारभूत काममा फर्कनु तब काम गर्छ जब चुनौतीबारे हामीलाई ज्ञात हुन्छ।

कोरोनाभाइरस (कोभिड–१९) विश्वभर फैलिँदै गर्दा न्युजरुमको नेतृत्वलाई चुनौती हुन्छ- कसरी समाचारलाई निरन्तरता दिने, विशेषतः यस्तो काम जुन मानिससँग भेटघाटमा निर्भर हुन्छ, जब कि स्वास्थ्यविज्ञ र सरकारी अधिकारीहरू सामाजिक दूरी वा आइसोलेसनका लागि जोड दिन्छन्।

सम्पादकहरूले इमेल वा भर्चुअल सम्मेलनमार्फत् कसरी यो अवस्थामा काम गर्ने भन्नेबारे सार्वजनिक गरेका छन्, पत्रकारहरू घरबाटै काम गर्न न्युजरुममा छैनन्, टिभीका समाचारवाचक स्टुडियोमा थोरै मानिसबीच काम गर्दै छन्। अनि खेलकुद पत्रकारहरूलाई कुनै खेल गतिविधि नभएपछि अन्य काममा लगाइएका छन्। केही पत्रपत्रिकाहरूले आफ्ना पत्रकारहरूका तलब घटाएका छन् र पत्रकारहरूलाई मानिस भेटेरै रिपोर्टिङ गर्न बन्देज लगाइएको छ।

पुँजीवादले पत्रकारिताको धर्मलाई कसरी सङ्क्रमित गर्छ भन्नेमा इमानदारिता साथ हेरौँ। के हामी आफ्नो संस्थाले सामुदायिक स्वास्थ्यको ख्याल गर्छ भन्नेमा विश्वस्त छौँ?

तर, बाटोमा हिँडिरहेका मानिसको, हिँडेरै उपत्यका छाडेकाको वा खाना वितरण गरिरहेकाको अन्तर्वार्ता अझै सञ्चारमाध्यममा आइरहन्छ। यसको औचित्य हो, पत्रकारिता जनताका लागि भएकोले यो निरन्तर चलिरहनुपर्छ। तर, पत्रकारिताको ठुल्ठूला संस्था खुला भएर जुन जनताका लागि सेवा गर्ने भनिन्छ, उनीहरूलाई नै खतरा हुने काम गरियो भने पत्रकारिता कहाँ शुद्ध हुन्छ?

जनस्वास्थ्यकर्मी, डाक्टर र वैज्ञानिकका सुझाव पटकपटक दोहोरिएका छन्– घर बस्नुस्, यसबाट मात्र यो अदृश्य शत्रुको विस्तारलाई नियन्त्रण गर्न सकिन्छ, जीवन बचाउन सकिन्छ र विस्तारै जीवन सामान्यतर्फ लैजान सकिन्छ। पत्रकारहरू जनतालाई सुसूचित गर्न पटकपटक यस्तो खतराको अगाडि पुग्ने गर्छन्। विशेषतः पत्रकारहरू खतरापूर्ण क्षेत्रमा पुगेर जनताकै आँखाबाट रिपोर्टिङ गर्न पुग्छन्। तर, अर्कोतर्फ पत्रकारिताको यही आधारभूत अभ्यास अब समाजका लागि खतरापूर्ण हुन पुगेको छ।

सामाजिक दूरीको अभ्यास कायम रहँदा सञ्चारमाध्यमले आफ्ना पत्रकारलाई माइक तेस्र्याउन लगाउनु सबैलाई खतरामा राख्नु हो। उनीहरू सोच्छन्, शायद पत्रकारितालाई निरन्तर गर्नुपर्छ वा शायद ती कथाहरू महत्त्वपूर्ण छन्। तर, यस्तो महामारीबीच साँच्चिकै पत्रकारिता के हो त? पाठकहरूले के बुझ्न आवश्यक छ?

मानिसहरू प्रत्येक दिन अद्यावधिक हुनुपर्छ– नयाँ सङ्क्रमण, अस्पताल भर्ना भएका वा मृत्यु भएकाको सङ्ख्या मात्र होइन, तर सङ्घीय सरकार वा पालिकाहरू यस महामारीलाई रोक्न के गरिरहेका छन्, कोभिड–१९ सँगै बेरोजगार भएका हजारौँका लागि उनीहरूको योजना के छ? कसरी समुदाय यस महामारीसँग जुध्दै छ?

विद्यालय जान नपाएका विद्यार्थीहरूको पढाइमा के असर परिरहेको छ? वैज्ञानिकहरू यस भाइरसबारे के पत्ता लगाउँदै छन्? यस महामारीपछिका उद्धार वा पुनर्लाभका कार्यक्रमको के–कस्तो तयारी छ?

यीमध्ये धेरै कुराको रिपोर्टिङ बाहिरैबाट गर्न सकिन्छ। अस्पतालमा राम्रो पहुँच भएका स्वास्थ्य र विज्ञानका पत्रकारहरूले त्यहाँका इमर्जेन्सी वा आइसियुमा नपुगेरै फोनमार्फत् त्यहाँको रिपोर्टिङ गर्न सक्छन्।

शिक्षा पत्रकारहरूले शिक्षक र विद्यार्थीहरूलाई डायरी बनाउन लगाएर वा भर्चुअल कक्षाकोठामा पहुँच पाएर यस्तो बेलाको रिपोर्टिङ गर्न सक्छ। सम्पादकले भन्न सक्लान्, जसको बारे लेख्दैछौ, ऊसँग समय बिताऊ, उनीहरूकै सन्दर्भमा हेर र आफ्नो डेडलाइनले भ्याएसम्म धेरै मानिससँग कुरा गर। तर, यो सामान्य अवस्था चाहिँ होइन।

० ० ०

अहिलेको प्रकोपका बेला पत्रकारहरूले याद गर्नुपर्छ, कुन समाचार आवश्यक छ। ‘धेरै सूचना’ काम नलाग्न सक्छ। २४–घण्टे समाचार प्रक्रियाको उत्पादन, समय र पेज भर्ने बाध्यता, बोल्न नरोक्ने क्रम यस पत्रकारिता व्यवसायको प्रविधिले निम्त्याएको बाध्यता हो, जुन उच्च पुँजीवादी प्रणालीले निर्देशन गर्छ। सेल्फ आइसोलेसन र सुनसानको यो अवस्थामा अन्य सामान्य परिप्रेक्ष्यजस्तो नभई आफ्नो बानीलाई एकातिर राख्ने समय हो।

पुँजीवादले पत्रकारिताको धर्मलाई कसरी सङ्क्रमित गर्छ भन्नेमा इमानदारिता साथ हेरौँ। के हामी आफ्नो संस्थाले सामुदायिक स्वास्थ्यको ख्याल गर्छ भन्नेमा विश्वस्त छौँ? विशेषतः विज्ञापन बजार घटिरहेको र धेरै क्लिक÷हिट चाहना गरिरहेको अवस्थामा उनीहरू धर्मराइरहेको समाचार संरचनालाई नियन्त्रण गर्न खोज्दैनन्? यो मौका हो, न्युजरुमबीच सहकार्यको।

हामीले हाम्रा समाजले यस्तो आपत्को अवस्थामा सँगै मिलेर अरूलाई सहयोग गरिरहेको देखेका छौँ। (उदाहरणका लागि पर्यटकलाई खाना र वासको व्यवस्था, घरघरमा स्वास्थ्य सेवा, समुदायको नेतृत्वमा लकडाउन लागु गर्न गस्ती आदि हामीले देखेका छौँ।) यस्तै प्रयास पत्रकारितामा पनि सुरु गरे कसो होला?

यस्तो त्रासको अवस्थाले यो व्यवसायमा केही परिवर्तन अवश्य ल्याउनेछ। कोभिड–१९ ले देखाएको हाम्रो यो कमजोरी पुरानै हो, तर, हामी बुद्धिमानी हुने हो भने यसरी समुदायले देखाएको अभ्यास हामी यो भाइरसको महामारी समाप्त भएपश्चात् पनि अगाडि बढाउन सक्छौँ।

मेरो आशा पत्रकारिताले पनि व्यावसायिक ढङ्गले आफूलाई जनताको सेवा गर्ने बाहिरी निकाय भन्नुभन्दा आफूलाई यसै जनसमुदायको अङ्ग हो भनी काम गर्दै जाओस् भन्ने हो। यो अवसर हामीले खेर फाल्नु हुँदैन।

(कोलम्बिया जर्नलिज्म रिभ्युमा सन् २०२० अप्रिल २ तारिख बिहीबार प्रकाशित विश्लेषणलाई नेपालन्युजका लागि आभास धरानन्द राजोपाध्यायले भावानुवाद गरेका हुन्।)

Comments