फोटो पत्रकारले ‘ढलको पानी’ ले मुख धुनु परेको दिनको यथार्थ कथा

क्यामराम्यान श्याम श्रेष्ठले धेरै पटक भने –‘‘खै सधैँ रिर्पोटरको डायरीमात्र आउँँछ । क्यामराम्यानको काम खिच्ने हो । लेख्ने होइन क्यारे । कहिले काहीँ त हाम्रो डायरी पनि लेखिदिनुस् न! कमसे कम हाम्रा पनि दुःख पीडा अरुले थाहा पाउन्।’’ लेख्छु, लेख्छु भनेर धेरैपटक आश्वासन दिएँ तर सन्दर्भ मिलेको थिएन ।

अहिले कोरोनाको महामारीले सिंगो विश्व आहत भएका बेला नेपाल पनि जोगिन सकेन । बन्दाबन्दी (लकडाउन)पछि सर्वाधिक दुःख पाउने वर्ग मजदुर भएको छ । सयौं किलोमिटर पैदल यात्रा गर्नेहरुका दुःख पीडाका कथा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्याप्त छन् । खाना र पानी नपाएर सडक किनारमा अलपत्र लडेका, बन्दाबन्दीको पालना नगरेको भन्दै ठाउँठाउँमा प्रहरीले तिनै निहत्थाको ढाडमा कटवास लगाएका तस्बिर र भिडियो सरकारले हेरेको छ कि छैन? हेरेको भए पनि असहाय नागरिकहरुको पीडामा मलम लगाउने काम गरेन । सामान्य मानिस भने ती दृश्यबाट भक्कानिएका छन् । यसै प्रसंगमा श्याम दाइ (क्यामराम्यान) को डायरी लेख्न मन लाग्यो।

विसं २०६१ भदौ १६ को कुरा हो । हामी दुवै कान्तिपुर टेलिभिजनमा काम गर्थ्यौँ । इराकमा कार्यरत १२ नेपालीको बर्बर हत्या भएको तस्बिर सार्वजनिक भएसँगै बिहानैदेखि घटनाको विरोधमा काठमाडौं जुर्मुराएको थियो । अघिल्लो दिन भदौ १५ गते नेपाली मजदुरको अपहरणपछि हत्या गरिएको थियो । त्यस घटनाबारे भिडियोसहितको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट प्रसारण भएपछि सारा नेपाली क्षुब्ध भएका थिए ।

राजधानीवासीले इराकमा नेपालीमाथि भएको बर्बर अत्याचारको विरोध सुरु गरे । तर अराजक प्रदर्शनको सिकार भए देशकै म्यानपावर कम्पनी । प्रदर्शनकारीले भेटे जति म्यानपावरमा धावा बोले । कम्प्युटर, सोफा, दराज र अफिसका बहुमूल्य सामान झ्यालबाट फाल्दै जलाउने अभियानमात्र चलाएनन्, म्यानपावरको अफिस भएका निजी घरसमेत उनीहरुको निसानामा परे । कामका लागि विदेश जानैपर्ने बाध्यता भएका हजारौँ नेपालीका पासपोर्टसमेत जलाइए । जंगलमा डढेलो फैलिएझैँ काठमाडौं जल्न थाल्यो, जताततै अकाशमा धुवाको बादल थुप्रियो।

आक्रोशित भीडले नारावाजी गर्दै सञ्चारकर्मी र सञ्चारगृहमा पनि आक्रमण गरे । कान्तिपुर र स्पेसटाइममा ढुंगामुढा र आगजनी भयो । दिउँसो १२ बजेको समाचार बुलेटिन प्रसारण हुने समयमा कान्तिपुर टेलिभिजन कम्पलेक्सभित्र आगजनी भइरहेको थियो ।

हिजोआजजस्तो जहाँबाट पनि प्रत्यक्ष प्रसारण गर्न मिल्ने प्रविधि यता प्रयोगमा आइसकेको थिएन। सामान्य अवस्थामा घटनास्थलबाट खिचिएका टेप स्टुडियो नपुर्‍याइ दृश्य देखाउन सम्भव थिएन ।

दिनको ठीक १२ बजे ।

कान्तिपुर समाचार सुरु भयो ।

नमस्कार ! कान्तिपुर समाचारमा स्वागत छ । म विजय पौडेल । सुरु गरौँ प्रमुख समाचारबाट ।

इराकमा १२ नेपाली कामदारको हत्याको विरोधमा काठमाडौंमा व्यापक प्रदर्शन ।

कान्तिपुर पनि आक्रमणको सिकार ।

पौडेलले यति समाचार के पढेका थिए । स्टुडियो क्यामराम्यानको भागाभाग भैहाल्यो । स्क्रिनमा कालो देखियो । अत्तालिएको स्वरमा पौडेलले भने ‘‘लौ आक्रमणकारी त स्टुडियोसम्मै आई पुगे त ।’’ माइक्रोफोन खोलेरै बाहिरिए । त्यतिञ्जेल क्यामराम्यान, मेन कन्ट्रोल रुमका इञ्जिनियरलगायत सहकर्मी दुई तलामाथिबाट धमाधम हाम फाल्दै ज्यान जोगाउँदै थिए । पौडेल पनि फाल हाले ।

नेपाली टेलिभिजन इतिहासमा स्टुडियोभित्रै आक्रमण भएर समाचार अवरुद्व भएको त्यो नै एउटा घटना हो ।

त्यतिबेला समाचार भनेकै राजनीति, बाँकी सबै ‘फिलर’ भन्ने बुझाइ थियो । जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षमको आरोप लगाउँदै २०५९ असोज १८ मा वर्खास्त गरेपछि राजा ज्ञानेन्द्रले आफू खूसी सरकार बनाउने र विघटन गर्ने प्रयोग गरिरहेका थिए ।

राजाको त्यस कदमलाई प्रतिगामी भन्दै दलहरु सडक आन्दोलनमा गए । पत्रकार आन्दोलनकै समाचार बनाउन व्यस्त थिए । हामी टेलिभिजनकर्मीहरुमा प्रहरीले प्रर्दशनकारी माथि डण्डा, अश्रुग्यास, रबरका गोली हानेका र प्रदर्शनकारीले आगजनी गरेका दृश्य देखाउने होडबाजी थियो । प्रदर्शनकारी क्यामरा देख्नासाथ उत्तेजित हुन्थे । या त डेढ हात उफ्रिएर चर्को स्वरमा उग्र नारा लगाउँथे नभए टायर जलाउँथे, सरकारी सम्पत्तिमा आगजनी गर्थे । टेलिभिजनमा तिनै तोडफोड र आगजनीका घटना मुख्य समाचार बन्थे ।

यस्तै चल्दै थियो राजनीतिको खिचडी । त्यहीबीच आफैँले अक्षम भनि बर्खास्त गरेका देउवालाई नै राजाले प्रधानमन्त्री नियुक्त गरे । देउवाले पनि नारायणहिटी दरवारको पश्चिम ढोकामा टेलिभिजन क्यामरा अघि उभिएर भने ‘‘गोर्खाका राजाबाट न्याय पाएँ ।’’ देउवाको त्यो अभिव्यक्ति चर्चाको शिखरमा थियो ।

यही पृष्ठभूमिमा भदौ १६ को घटना भएको थियो । त्यो दिन श्याम रत्नपार्क क्षेत्रमा खटिएका थिए । धेरैलाई मुस्लिमले नेपाली कामदार मारे भन्ने पारियो । त्यसैको आधारमा प्रर्दशनकारीले घन्टाघर आसपासका दुई मस्जिदलाई आक्रमणको निसाना बनाए । ठूलो भीड अचानक तोडफोड र आगजनीमा लागेपछि डिउटीमा रहेका प्रहरी सामु मुकदर्शक भएर बस्नुको विकल्प थिएन ।

भीड मस्जिदभित्रै पस्यो । कति मानिस आक्रमणमा घाइते भए । अनिमात्र ठूलो संख्यामा थप प्रहरी त्यहाँ पुग्यो ।

एकैपटक सयौं सेल अश्रुग्यास छोडियो । भीड तिरबितर भयो । बूढाबुढी, बटुवा र विद्यार्थी अश्रुग्यासको राप सहन नसकेर सडक पेटीमा लडे ।

‘गज्जबको भिजुअल पाइयो, हेडलाइन हुन सक्छ’कै शैलीमा खिच्दै थिए श्याम । जति आगजनी, ताडफोड भयो, त्यति नै ‘एक्सक्लुसिभ’ ठानिने जमाना थियो ।

मज्जाले एक एक दृश्य कैद गरी रहेका श्याम एकैपटक अश्रुग्यासको बादलभित्र हराए । न सास फेर्न सक्छन्, न बाहिरी दृश्य हेर्न नै । साथमा रहेका रिर्पोटर कता पुगे थाहा भएन । भाडदौड र कोलाहलमात्र छ । बचाऊ बचाऊ । मरेँ बा मरेँ । बाहेक केही सुनिएको थिएन ।

एकैपटक कसैले ‘‘दाइ मलाई बचाउनुस्, दाइ मलाई बचाउनुस्’’ भनेको सुनियो । श्यामले भने – ‘‘कसरी बचाउने म आफैँ मरे तुल्य छु । तिमीलाई कसरी बचाउन सक्छु म ।’’

उसले भन्न थाल्यो – ‘‘दाइ म विद्यार्थी हुँ। पढ्न आएको । अब पुलिसले फेला पारे मारिहाल्छ । तपाईँले माइक बोक्न दिनुभयो भने पत्रकार भनेर कुट्दैन । अनि त बाँचिहाल्छु नि । प्लिज मलाई बचाउनुस् दाइ ।’’

श्यामले भने – ‘मैले तिमीलाई देखिरहेको पनि छैन । सक्छौ भने मलाई बचाऊ । पानी छ कतै भने ल्याऊ ।’’ प्रहरीबाट बच्ने आशामा श्यामको क्यामरा र माइक समाएर केटाले भन्यो ‘दाइ, ल मैले देखेको छु पानी । जाऊँ ।’

नेत्रहीनलाई डोर्‍याए झै श्यामलाई लिएर गयो ऊ । रत्नपार्कमा अहिले आकाशे पुल भएको ठाउँनिर बीच वाटामा सानो वाटिका थियो । त्यहीँ खाडलमा पानी जमेको देखे पछि केटाले भन्यो – ‘‘दाइ ल यहाँ पानी रहेछ । यसैले धुनुस् मुख ।’’

अश्रग्यासको पिरोले ढल्ने बेहोसी अवस्थामा पुगेका श्यामले एक अञ्जुली पानी उठाएर अनुहारमा छ्याप्प पारे । बाफ रे बाफ । कस्तो गन्ध आयो भने । सहनै नसक्ने । ह्वास्स । एकै पटक जोडले कराए – ‘‘भाइ कहाँको पानी हुनु पूरै ‘आची’ रहेछ । म त गन्धैले मरे । बर्बादै पार्‍यौ तिमीले त ।’’

सडक बालबालिकाले दिसा गर्ने गरेको सानो खाल्डो रातिको वर्षाले भरिएको रहेछ । त्यही पानीले मुख धोएछन् । कस्तो भयो होला ?

केटाले डराउँदै बिस्तारै भन्यो – ‘सरी दाइ । पानी देखेर भनी हालेँ। ल, तपाईँ यहीँ बस्दै गर्नुस्, म पानी खोजेर ल्याउँछु ।’

केटाले चारैतिर नजर लगायो र भन्यो – ‘‘यता त पसल खुलेकै छैनन् । म वीर अस्पताल तिरबाट ल्याउँछु पानी ।’’ कुदेको पाँच मिनेट जतिमा एउटा बोतल बोकेर आई पुग्यो ऊ । बोतल खोलेर हातमा पानी हालिदियो । अलिकति सजिलो भयो ।

ठीक त्यति नै बेला श्यामको फोन बज्यो । प्रमुख क्यामराम्यान उपेन्द्रमान अत्तालिएर भन्दै थिए – ‘ए … श्याम । कता हो ।’ एकाहोरो बोलिरहे ‘‘पूरै काठमाडौंमा टेन्स छ । पत्रकारलाई भेट्यो कि कुटिरहेका छन् । कान्तिपुर कम्पलेक्स जलाई सके । क्यामरा कतै लुकाएर आफू पनि लुक ।’’

अफिस जाने अरु उपाय थिएन । गाडी तत्काल आउने सम्भावना रहेन । हिँड्दै पुतलीसडक पुगे । एकैपटक सेनाको मोटर झ्याप आएर रोकियो । गाडीबाट बुट बजार्दै ओर्लिएर मेजरले भने – ‘‘ए कता हिँडेको ? कर्फ्यु लागिसक्यो थाहा छैन ।’’

‘‘थाहा भएन हजुर’’ भने श्यामले । मेजरले भन्न थाले– ‘‘तिमी पत्रकारहरु, ठूला भएका, पार्टीको समाचार दिन्छौ । राजाको दिँदैनौ के हो पारा हँ ।’’ श्यामले भने – ‘‘हजुर म त क्यामराम्यान हो । समाचार के दिने, के नदिने, समाचार प्रमुखले गर्ने काम हो । हामीले त लाए अह्राएको खिच्नेमात्र हो । समाचारको कुरा हामीलाई थाहा हुँदैन ।’

इराकमा नेपाली कामदार मारिएको विरोधमा आफ्नो देशका त्यस तहको क्षति र हिंसा गर्ने नेपाली आज कहाँ छन् ? हजारौं मजदुर काखे बालक बोकेर पानीको भरमा सयौं किलोमिटर यात्रा गरिरहेका छन् । यिनको अधिकार बारे कसले बोली दिने ?

राणाशासन हुँदै प्रजातन्त्र, लोकतन्त्र हुदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म मुलुक आइपुग्दा अधिकार माग्न पढाइयो तर कर्तव्य पूरा गर्नुपर्छ भन्ने शिक्षा दिइएन । विसं २००३ सालमा विराटनगरको मजदुर आन्दोलन यता देशमा सबै क्रान्तिमा मजदुरले योगदान गरे । तर, उनीहरुको लगानीलाई नेताहरुले सत्तामा पुगेपछि नदी त¥यो लाठी छोड्यो कै शैलीमा व्यवहार गरे ।

देशभित्र गरिब निमुखा मजदुरको श्रम र खाडीलगायत बाहिरी मुलुकमा पसिना बगाउने युवाको कमाइले देश चलेको छ । तर, तिनै मजदुरको मानवीय संवेदनामाथि शासकहरु अमानवीय व्यवहार गरिरहेका छन् । प्रधानमन्त्री ओली सत्तामा आएपछि सामाजिक सुरक्षा कोषको अवधारणा कार्यान्वयन भयो भनेर युद्वस्तरमै प्रचार गरियो ।

पोलपोलमा ओलीको तस्बिरसहितका पोस्टर झुन्ड्याइए । ‘एउटा नयाँ युगको सुरुआत : सहभागिता, योगदान र सामाजिक सुरक्षा’ को नारा पोल पोलमामात्र सीमित रहेन । दैनिक पत्रिकामा ज्याकेट विज्ञापन भएर आयो । पोष्टर टाँसेपछि सरकारले बाटो खनिदियो । उसको दायित्व सकियो। अरु आगे, यात्रा मजदुर आफैँले गर्ने हो?

जगत नेपालको तीतो अनुभव बाह्रखरी डटकमबाट

Comments