कोरोना कहरबारे नेपाली सञ्चारमाध्यममा तैविशेक भन्ने खालका समाचार

कोरोना कहरका बिभिन्न पाटाबारे नेपाली सञ्चारमाध्यमले दिएका वा दिन सकेका सकारात्मक समाचार आक्कलझुक्कल चाँदीका घेरा जस्तै भान हुन्छ । यस्ता समाचारहरु यदाकदा आए र तिनले आम पाठक, दर्शक र स्रोतालाई केही हदसम्म भए पनि सकारात्मक पहल गरिरहेको देखिन्छ ।  बिनु सुवेदीबाट बिस्तृत रिपोर्ट ।

 

बिनु सुवेदी

एक सय २० दिन लकडाउन गरेको सरकारले यही साउन ७ गतेदेखि त्यसको अन्त्य गरेको छ । त्यो बीचमा कोरोना कहर त थियो नै लकडाउनले नागरिकलाई एकदमै नराम्रोसंग बेचैन बनायो । यो समयमा समाचार माध्यममा कोरोना एकछत्र छायो । यति लामो समयसम्म मिडियाले यसरी लगातार यौटै बिषयमा यति बिघ्न सायदै कहिल्यै लेखेको वा प्रसारण गरेको थिएन ।

 सञ्चारमाध्यम पनि समाजकै ऐना हो र पत्रकारले जे भयो त्यसको समाचार दिने हो, र दिए पनि । तर त्यसै पनि निराशा र चिन्ताको अवस्थामा उनीहरुले दिने सामग्रीमा धेरै नकारात्मक खालका समाचार आएको आलोचना पनि भयो । 

 यो लेख सञ्चारमाध्यमले दिएका वा दिन सकेका सकारात्मक समाचार, कार्यक्रममा केन्द्रित छ । तैविशेक भन्ने खालका समाचारहरु सञ्चार माध्यममा यदाकदा त आए र ती समाचारले आम पाठक, दर्शक र स्रोतालाई केही हदसम्म भए पनि सकारात्मक पहल गरिरहेको देखिन्छ ।

 ‘थोरैमात्रामा भए पनि आशा लाग्दा समाचार’ 
चैत २१ गते शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमण देखिएका पाँच जना उपचार गराइरहेका थिए । चैतको पहिलो सातासम्म कोरोना संक्रमित रहेका मुलुकबाट निर्वाध आवतजावत भइहरेकाले संक्रमणको दर अझै बढ्न सक्छ भन्ने भय विस्तारै बढिरहेको थियो ।

 सरकारले १० गतेदेखि नै मुलुकलाई लकडाउन गरिसकेकाले पनि कोरोना एक किसिमको “आतंक”कै रुपमा प्रचारित थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल दोस्रो संक्रमित भेटिएको घट्ना घोषणा गर्ने बेलाको स्थिति स्मरण गर्दै भन्छन्, “‘लौ, संक्रमण देखियो, के कसो हुने हो’ भनेर म एकदम आत्तिएको थिएँ ।” ठ्याक्कै त्यही त्रास समाजमा पनि थियो ।

 “सुरुदेखिनै कोरोनाको आतंक देखाउने काम भयो, यद्यपि थोरैमात्रामा भए पनि आशा लाग्दा र सकरात्मक समाचार आएका थिए” : प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ

 त्यसैले कोरोना कस्तो-कस्तो अबस्थामा सर्न सक्छ र कसरी सचेत हुने भन्नेमा नै त्यस बेला सञ्चारमाध्यमहरुको प्राथमिकता बढ्ता केन्द्रीत देखिन्छ । तर कोरोना लागेपछि बाँचिदैन झैं गरि गरिएको प्रचार र विदेशी मुलुकबाट पनि कोरोनाकै कारण मृत्यु हुनेहरुको संख्या बढिरहेको खबर अरु आइरहेका बेला नागरिक आक्रान्त थिए । प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठका अनुसार सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यमहरुले झन धेरै त्रास फैलाउने काम गरे । “सुरुदेखिनै कोरोनाको आतंक देखाउने काम भयो,” श्रेष्ठले भने, “यद्यपी थोरैमात्रामा भए पनि आशा लाग्दा र सकरात्मक समाचार आएका थिए ।”

संक्रमित, आइसोलेसन र आत्मविश्वासको समाचार कोण  
श्रेष्ठकै आशयअनुसार, चैत २१ र २२ गते कान्तिपुर  दैनिकमा दुईवटा समाचार प्रकाशन भएका छन् । “सुरुको पोजेटिभ केश निको बनाएर पठाउँदा हामीमा आँट बढेको छ” शीर्षकमा २१ गते प्रकाशाति समाचारले कोरोना निको भइहाल्छ, तर केही सचेत हुनुपर्छ भन्ने सन्देश दिन्छ । उक्त समाचारमा कोरोनाको पहिलो पोजेटिभ केश देखिएपछि उपचारमा खटिएकी शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालकी नर्स सानुमैया नकर्मीको अनुभूति समेटिएको छ ।

“म ८० वर्षकी आमासँगै बस्छु । माइली दिदी क्यान्सरपीडित हुनुहुन्छ । उहाँहरुलाई केही नहोस् भन्ने चाहन्छु । बूढाबूढी र क्यान्सरपीडितमा हाम्रो जस्तो रोग प्रतिरोधात्मक क्षमता हुँदैन  । त्यसैले म सजग छु । चिन्ता लिनुहुन्छ कि भनेर म मेरो काम उहाँहरूलाई धेरै सेयर गर्दिन, सुरुको पोजिटिभ केस निको बनाएर पठाउँदा हामीमा आँट बढेको छ ।” नकर्मीको यति नै कुरा समाचारमा उद्धृत गर्नु  सकरात्मक सन्देश दिनका लागि पर्याप्त त होइन तर भयलाई केही हदसम्म भएपनि सामसुम पार्ने उपाय भने हो ।

भोलिपल्ट अर्थात् चैत २२ गते कै कान्तिपुर मा नेपालका पहिलो कोरोना संक्रमितसंग रिपोर्टर बुनु थारुले गरेको  कुराकानीमा आधारित फिचर प्रकाशित  छ । यसमा उनले गरेको मेहनत, भोगेको समस्या कोरोना लागेर मरिहालिन्छ कि भन्ने मनोभावनालाई चिर्न मद्धत पुग्ने नै देखिन्छ ।

“अहिले कोभिड–१९ बारे सामाजिक सञ्जालमार्फत धेरै भ्रामक सूचना र समाचार प्रवाह भइराखेका छन् । यही कारण पनि धेरै मानिसमा ‘कोरोन फोबिया’ भएको देख्छु । संक्रमण भइहाले अलि बूढापाकालाई केही गाह्रो होला तर हामीजस्ता युवालाई सामान्य लक्षण नै हुन्छ । मलाई चौबीसै घन्टा ज्वरो आएन । … यदि कसैलाई संक्रमण भइहाले नडराउनु, बिस्तारै निको हुन्छ,”  उक्त समाचारमा गोप्यताका लागि नाम नखुलाइएका ती कोरोना संक्रमितले भनेका छन्, “कोरोना लाग्दैनमा मरिंदैन, निको भइन्छ; तर सकरात्मक सोच्नुपर्छ, आशावादी हुनुपर्छ ।”  

यसबाहेक अरु सञ्चारमाध्यममा पनि कोरोनाबाट सचेत हुनुपर्छ तर कोरोना लाग्दैमा सबथोक सकियो भन्ने सोचबाट मुक्त हुनुपर्छ भन्ने खबरहरु सम्प्रेषण हुन थाले । राजधानी दैनिकले कोरोनाको सकारात्मक पाटाहरु पनि छन् भनेर सिलसिलेबार रुपमा लेखेको थियो । चैत २३ गते राजधानी  दैनिकमा  छापिएको  करोना भाइरस : सकारात्मक पाटा पनि प्रशस्तै छन्  यो खबरमा  कोरोना भाइरसबाट आक्रान्त भएको युरोपेली मुलुकको वातावरणमा प्रदुषणको मात्रा आधा घटेको चर्चा गरिएको थियो । गुणस्तरीय हावामा ३० प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको उल्लेख छ ।

कोरोनाकै त्रास बढि भएकाले होला नेपालभित्र कोरोना निको भएर संक्रमितहरु घर फर्किन थालेपछि उनीहरुले आइसोलेसन बसाइका क्रममा भोगेको कुरा र आत्मविश्वासबारे समाचार प्रसस्तै छापिए । जस्तो कि ११ बैसाखमा नागरिक  दैनिकले प्रकाशित गरेको यो खबरअनुसार काठमाडौ पेप्सीकोलाका ८१ बर्षिया महिला र ५८ बर्षका एकजना पुरुष कोरोना जितेर घर फर्किए । समाचारमा ती वृद्धाले कोरोना जितिन् भन्नु नै कोरोना निको हुन्छ भनेर मनोबल बढाउने एउटा आधार जरुर थियो । त्यसैले संक्रमितहरुको संख्या बढिरहेका बेला  यस्ता समाचार छापिदा कता कता सकारात्मक पहल गरेको आभास मिल्थ्यो । यी र यस्ता समाचार मानसिक रुपमा पनि तन्दुरुस्त राख्न सहयोगी त थिए तर  सञ्चारमाध्यममा एकदमै छिटपुटमात्रै  देखिए । दुख पाएका नागरिक, क्वारेन्टाइनको दुराबस्था र राजनीतिक उतारचढावका समाचारले नै सञ्चारमाध्यममा अत्याधिक स्थान पाए ।

सावधानी, उपचार र सन्देशमुलक सूचना   
कोरोनाकालमा सबैभन्दा धेरै ब्यस्त स्वास्थ्यकर्मीहरुनै भए । उपचार सम्बन्धि समाचारमा उल्लेखनीय थियो सञ्चारमाध्यमले गरेको स्वास्थ्यकर्मीका सेवा र समर्पणको हाइलाइट । सुरुसुरुमा पिपिइसमेत नभएका बेला स्वाथ्यकर्मीले देखाएको आँटलाई संचारमाध्यमले प्रशंसनीय रूपमा प्रस्तुत गरे । पछिल्लो कालमा पनि स्वाथ्यकर्मीहरुले देखाएको साहसको धेरै प्रशंसा भयो । सेतोपाटी अनलाइनमा छापिएको यो खबर अनुसार ड्युटीमा रहेकी नर्स निसा बिकले यस्तै बेलामा काम गर्ने भनेरै नर्सिङ पेशा रोजेकाले पछि हट्ने कुरै नभएको प्रतिक्रिया दिइन्  ।

उपचार सम्बन्धि समाचारमा उल्लेखनीय थियो सञ्चारमाध्यमले गरेको स्वास्थ्यकर्मीका सेवा र समर्पणको हाइलाइट । सुरुसुरुमा पिपिइसमेत नभएका बेला स्वाथ्यकर्मीले देखाएको आँटलाई संचारमाध्यमले प्रशंसनीय रूपमा प्रस्तुत गरे ।

परीक्षणको दायरा जति-जति बढिरहेको थियो, कोरोना संक्रमित थपिने दर पनि उस्तै थियो । तर निको भएर अस्पतालबाट फूलको गुच्छासहित निस्किएका, आत्मबलले “हामी निको भयौ” भनिरहेका संक्रमितहरुको कुरा सम्प्रेषण गरेर सञ्चारमाध्यमले सकारात्मक भूमिका खेलको प्रतिक्रिया ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको छ ।

“कोभिड सुरु हुँदा एउटा ठूलो त्रास थियो । कोरोना लागेको मान्छेको छेउमा जान नहुनेजस्तो गरिएको थियो, कतिसम्म भने बाहिरी जिल्ला या ठाउँबाट आएकाहरूले त कोरोनानै बोकेर ल्याएका छन् जस्तो गरियो, समाजमा कोही कसैको नजिक पर्न पनि नहुने भावनाको विकास भइरहेको थियो,” न्यौपानेले भने, “यो बेलामा सही सूचना दिनु हाम्रो दायित्व हुन्थ्यो, तर त्यो बेला कोरोनाबारे सही सूचना दिन सक्ने १०-१२ जनामात्रै विज्ञ थिए, उनीहरुसंग हामीले दिनदिनैजसो कुराकानी गर्ने र उनीहरुको सम्पर्क नम्बर अरुहरुलाई पनि उपलब्ध गराउने काम गर्यौं । जापान, युरोप लगायत विदेशमा बसेका विज्ञहरुसंग पनि कोभिडबाट बच्ने उपायकै बारेमा कुराकानी गरेर कार्यक्रम सञ्चालन गरियो ।”

“यो बेलामा सही सूचना दिनु हाम्रो दायित्व हुन्थ्यो, तर त्यो बेला कोरोनाबारे सही सूचना दिन सक्ने १०-१२ जनामात्रै विज्ञ थिए, उनीहरुसंग दिनदिनैजसो कुराकानी गर्यौं र उनीहरुको सम्पर्क नम्बर अरुहरुलाई पनि  दिने काम गर्यौं …अक्सर सञ्चारमाध्यको सन्देश  ‘कोरोना पछि पनि जिन्दगी छ, आशाबादी बनौं’ भन्ने नै थियो” :  चन्द्र न्यौपाने, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष । 

न्यौपाने कार्यकारी निर्देशक रहेको सुनसरी, इटहरीको रेडियो सप्तकोशी र अरु रेडियोहरुले पनि आफ्नै पहलमा बिभिन्न सन्देशमुलक कार्यक्रमहरु प्रकाशन-प्रशारण गरे । मास्क लगाउने विधि, हात धुने तरिका, स्यानिटाइजरको प्रयोगबारेका सूचनाहरु रेडियोमा बजिरहे । छापा, अनलाइन र ब्रोडकाष्ट  सञ्चारमाध्यमहरुले आफ्नै पहलमा सन्देशमुलक सूचनाहरु पनि योबीचमा प्रकाशन-प्रशारण गरे ।  “अक्सर सञ्चारमाध्यको सन्देश ‘कोरोना हुँदैमा सबै थोक सकियो भन्ने हुँदैन, यसपछि पनि जिन्दगी छ, आशाबादी बनौं’ भन्ने नै थियो,” अध्यक्ष न्यौपाने भन्छन् । 

सप्तकोशी एमफएमको कोरोना विशेष कार्यक्रम सञ्चालन हुँदै । फोटो सौजन्य: लिलाराज भट्टराई ।

सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थी रेडियो कान्तिपुरमा कार्यक्रम निर्माता तथा सञ्चालकका रुपमा कार्यरत छिन् । उनले यो अवधिभर आफ्ना कार्यक्रम स्रोतालाई त्रस्त नहुन तर सचेत हुन भन्नेमै केन्द्रीत गरेको बताइन् । “कोरोनाबाट जोगिन पालना गर्नुपर्ने कुराहरू, मास्क लगाउने विधि, सामाजिक दुरी कसरी कायम गर्ने लगायत विषयमा स्रोतालाई सुसूचित पार्ने काम गरियो,” पन्थी भन्छिन्, “मनोबैज्ञानिक त्रास नहोस् भनेर मनोबिद्हरूसँग पनि छलफल गरियो, सुरक्षित कसरी रहने भन्ने टिप्स कार्यक्रमहरूमार्फत दिइयो ।”

“यो समयमा हामी संयम र धैर्य भएर लाग्नुपर्छ भनेर इन्करेज गर्ने कुरामा सन्चारमाध्यमले रोल खेलेका थिए । सबै मिडियाले सूचनामुलक, सचेतनामुलक विज्ञापन गर्ने, अरुअरुले पनि आफैं नै इनिसियसन लिएर गरेका थिए,” पन्थीले भनिन्, “हामी आफैंले पनि पिएसएहरु बनायौं, दिउँसो १ देखि ३ बजेसम्म कोभिड स्पेसल कार्यक्रमहरु बनायौं ।”

सामाजिक दुरी कायम गर्नुपर्ने सिमित स्रोत साधनका बीचमा लकडाउन अवधिभर रेडियो सबैभन्दा उपयुक्त माध्यम भएको विचार ब्यक्त गर्छन् सेयरकाष्ट इनिसियटिभका अध्यक्ष मधु आचार्य ।  रेडियोले बनाएका कार्यक्रम दिएका सन्देश प्रभावकारी रुपमा आम नागरिक समक्ष पुग्ने भएकाले पनि रेडियो माध्यमले कोरोनाबारे सकरात्मक खबर सम्प्रेषणमा भूमिका खेलेको आचार्य बताउछन् उनका अनुसार लकडाउनका बेला करिब ८० प्रतिशत जनताले रेडियोकै माध्यमबाट सूचना ग्रहण गरिरहेका छन् । 

कोरोना बिशेष कार्यक्रम पनि आए
यो अवधिमा सामुदायिक र व्यावसायिक रेडियोले नागरिकलाई  सचेत र सूसुचित बनाउन कोरोना बिशेष कार्यक्रमहरु पनि शुरु गरे । सामुदायिक सूचना नेटवर्क सीआइएनले  लकडाउन सुरू हुनु अघिदेखिनै “जीवन रक्षा” कार्यक्रम सुरू गरेको थियो । “स्थानीय तहहरूलाइ जिम्मेवार बनाउने, क्वारेन्टाइन कसरी म्यानेज गर्ने, राहत पुग्यो कि पुगेन, लकडाउनमा कसरी सुरक्षित बस्ने भन्नेबारेमा फोकस गरेर कार्यक्रम चलाइयो,” सीसीआइएनका प्रमुख दीपक आचार्य भन्छन्, “उक्त कार्यक्रम १ सय ५० वटा रेडियोले बजाउने भनिएको थियो, तर ३ सय भन्दा बढि रेडियो कार्यक्रम सञ्चालन गरेको जानकारी हामीलाई दिएका छन्, यसले नागरिकस्तरमा एकदमै सघाउ पुगेको हामीलाइ खबर प्राप्त भएको छ ।”  

कार्यक्रम निर्माता मीना पाण्डेका अनुसार पनि “जीवन रक्षा” कार्यक्रमले समुदायमा परेको समस्या सम्बोधन गर्न एकदमै सजिलो भयो । “चम्पादेवी गाउँपालिका ओखलढुंगाका कृषक युवराज बराल आफूले उत्पादन गरेका तरकारीले बजार नपाएपछि निकै चिन्तित हुनुहुन्थ्यो । लकडाउनमा आफ्नो बल बुताले भ्याएसम्म बजार खोज्नु भएकै हो । तर उपाय नलागेपछि कार्यक्रममा फोन गर्नुभयो । कार्यक्रमकै पहलमा गाउँपालिका अध्यक्ष नवराज केसीले उहाँको समस्या सुल्झाइदिनुभएको छ ।”

पाण्डेले कार्यक्रमको प्रभावकारिताबारे लेखेकी पनि  छिन्, “तत्कालै सीआईएनले त्यहाँका गाउँपालिका अध्यक्षसँग कार्यक्रम मार्फत् प्रत्यक्ष कुराकानी गराएसँगै अहिले स्थानीय कृषकका ७ हजार केजी आलु र अन्य तरकारी गाउँपालिका अध्यक्ष केसीले आफैले खरिद गरी स्थानीयलाई नै राहत स्वरुप बाडिदिनुभएको छ

यस्तै उज्यालो ९०  नेटवर्कले उत्पादन गरेर देशैभरका रेडियोले बजाउने “कोरोना क्याप्सुल” कार्यक्रमबाट पनि कोरोनाबारे नागिरकलाई सूचना लिन सहयोग सिद्ध भयो ।

लकडाउनको असर र बीचमा बसेर पहल
कोरोनो कहर एकातिर छँदैथियो भने अर्कातिर लकडाउनले विस्तारै असर छोडिरहेको रहेको थियो चैतको दोस्रो सातादेखि नै काठमाडौं आसपासका मजदुरहरु आफ्नो थातथलोतिर लागिरहेका थिए तर बाटोमा सवारी साधन नचलेका कारण उनीहरुले सयौं किलोमिटर लामो यात्रा पैदलै हिडेर बिताए त्यसरी हिडेरै गन्तब्य नापिरहेका मजदुरलाई राजमार्गका युवाक्लबहरु, सहयोगी मन हुनेहरु जनप्रतिनिधिले खानपान बासको ब्यवस्था गरिदिएको खबर सञ्चारमाध्यमहरुमा देखिए ड्युटीमा खटिएका प्रहरीलाई खाना पानीको प्रबन्ध गरिदिने मनकारीहरु सञ्चारमाध्यममा छाए   

जस्तो कि सवारी साधन नभएर कोरोना बाहेक अरु रोगका बिरामीहरु अस्पताल जानै नसक्ने स्थिति आउला भनेरै बुढानिलकण्ठ चपलीका चार स्थानीय युवाहरु सुभाष श्रेष्ठ, सुधीर रेग्मी, राज श्रेष्ठ कृष्ण गोपाल श्रेष्ठले आफ्नो नीजि कारबाट आकस्मिक रुपमा अस्पताल आउजाउ गर्नु परेकाहरुलाई सुबिधा दिने घोषणा गरे उनीहरुले चैत ११ गतेदेखि नै यस्तो काम गरिरहेको भएता पनि चैत २४ गतेमात्रै सञ्चारमाध्यममा समाचार आयो यी चार युवाहरुको सकारात्मक पहल देखेर धेरैले वाहवाही पनि गरे । देशभरि यस्ता थुप्रै मनकारीहरु देखिए र कतिपय यस्ता सेवा भावना र सेवा कार्यका दृष्टांत संचारमाध्यमले प्रस्तुत गरे । 

राहत वितरण भएका, मजदुरहरुलाई खाना बनाएर खुवाइरहेका  जस्ता सकारात्मक पहलसम्बन्धी थुप्रै समाचार लेखेकी अनलाईन समाचार पोर्टल पहिलोपोष्टकी स्वेच्छा राउत भन्छिन्, “सकारात्मक उर्जा दिने समाचार जति आउनुपर्ने हो, त्यो हुनुपर्ने भन्दा कम भयोजस्तो लाग्छ ।” उनी थप्छिन्, “फेरि जस्तो अबस्था , त्यस्तै नै देखाउनु पर्यो काम नै कम भएको बेलामा हुँदै नभएको सकरात्मक कुरा पनि कहाँबाट ल्याउनु?” रावत स्वयम पनि निराश भइसकेका नागरिकलाई केही उर्जा भर्न सकियोस् भन्ने उदेश्यले नै समाचारको खोजीमा दौडिने पत्रकारमध्येकै हुन्

देशभरि यस्ता थुप्रै मनकारीहरु देखिए र कतिपय यस्ता सेवा भावना र सेवा कार्यका दृष्टांत संचारमाध्यमले प्रस्तुत गरे ।  पत्रकार अवधेशकुमार झा भन्छन् , “हाम्रो काम त जे छ त्यही देखाउने नै हो, तर एकदमै अप्ठ्यारोमा परेका नागरिक देख्दा मनै मान्दैन नि ।”

जेठको दोस्रो साता म र मेरा सहकर्मी अवधेशकुमार झाले सप्तरीमा सुत्केरी र गर्भवती महिला भोकभोकै रहेको खबर लेखेका थियौं । समाचार प्रकाशित भए पछि उनीहरुलाई सहयोग गर्ने थुप्रै मनकारीहरु भेटिए । विहान बेलुका छाक टार्ने अन्न समेत नभएर छटपटाएकाहरुलाई झाले दानीहरुबाट प्राप्त अन्न केही रुपैयाँ पैसा लगेर उनीहरुलाई दिएपछि देखिएको खुसीले आफू पनि निक्कै खुसी भएको बताउछन् “हाम्रो काम जे त्यही देखाउने नै हो, तर एकदमै अप्ठ्यारोमा परेका नागरिक देख्दा मनै मान्दैन नि ।”

यो उदाहरण कान्तिपुरबाट दिएँ; मैले स्पष्टोक्ति दिनै पर्ने हुन्छ– म स्वयम यस पत्रिकामा काम गर्छु, त्यसैले पनि आफूले नजिकबाट देखेजानेका कुरा उल्लेख गरें

यस्तै मनले नमानेपछि नै एभिन्यूज टेलिभिजनले कोरोना कहर, एभिन्युज पहल नामक कार्यक्रम नै सञ्चालन गर्यो सय भन्दा धेरै एपिसोड सञ्चालन गरिसकेको एभिन्यूजले सुरुका सयवटा कार्यक्रमको समीक्षा पनि गरेको थियो “त्यो बेलासम्म कति नागरिक लाभान्वित भए भन्ने हामीले हिसाबकिताब निकालेनौं, पत्रकार शिव दाहालले भने, “दुई करोड रुपियाँ  बराबरको राहत संकलन भएको थियो । त्यसलाई हामीले समस्याग्रस्त नागरिकसम्म पुर्याउन पुलको काम गरियो ।” लकडाउन सुरु भइसकेपछि कतिपय दैनिक ज्यालादारी गरेर खान पर्ने तर काम र राहत दुबै नभएपछि समस्यामा परेका नागरिकको संख्या बढ्दै थियो ।  त्यसैले बीचमा बसेर पहल गर्नका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको दाहालले बताए   

“खासमा यो मिडियाले गर्ने काम नै होइन, हाम्रोमा खान पाइएन, पहल गरिदिनुपर्यो भन्ने गुनासो आउन थाले, त्यसैले हेल्पलाइनले जस्तो काम गरोस् भन्नेगरि काम गरेको हो । विपतको बेलामा मिडियाले गर्ने काम मात्रै गर्छौं भनेर बस्नेजस्तो अबस्था पनि त थिएन नि ।” : पत्रकार शिव दाहाल, एभिन्यूज टेलिभिजन ।  

“खासमा यो मिडियाले गर्ने काम नै होइन, हाम्रोमा खान पाइएन, पहल गरिदिनुपर्यो भन्ने गुनासो आउन थाले, दाहालले भने, “त्यसैले हेल्पलाइनले जस्तो काम गरोस् भन्नेगरि काम गरेको हो विपतको बेलामा मिडियाले गर्ने काम मात्रै गर्छौं भनेर बस्नेजस्तो अबस्था पनि थिएन नि ।” जे भए पनि यसलाई सामाजिक उत्तरदायित्वमा केन्द्रित समाधानमुखी पत्रकारिताको एउटा उदाहरण मान्न सकिएला ।  

विपतका बेला सरकारी सञ्चारमाध्यमको भूमिका अरू बेला भन्दा झन धेरै भइरहेको देखिन्छ । सरकारी स्रोतसंग पनि सजिलै पहुँच हुने भएकाले पनि सरकारी सञ्चार माध्यमहरू यो बेलामा झन जिम्मेवार भएर प्रस्तुत भइरहेका हुन्छन् ।  नेपाल टेलिभिजनले हरेक दिन राति ८ बजेको समाचारमा “कोरोना केयर” भनेर विशेष रिपोर्ट नै प्रशारण गरिरहेको छ । यसै गरी एनटीभीले “कोविड हटलाइन” कार्यक्रम पनि संचालन गर्दै आइरहेको  छ ।    

“यसबाहेक पनि सबैजसो समाचारमा कोरोनाबाट बच्न सचेतनामुलक कुराहरू प्रशारण गर्ने, जिम्मेवार व्यक्तिहरूसंग कुराकानी गर्ने, सूचनाहरू कति भरपर्दा हुन या होइनन् भनेर भेरिफाइ गर्ने काम हामीबाट भयो, “  नेपाल टेलिभिजनकी समाचार सम्पादक सलोजा दाहालले  भनिन्, “यस्तो बेलामा एकदमै जिम्मेवार महसुस गरेर काम गरियो, सरकारले गरेका कामबारे पनि हामीले सूचना दिने र केही भइरहेको छ भनेर नागरिकलाई अशावादी रहन प्रेरित गरियो ।  नागरिकलाई फ्रस्ट्रेसनबाट बचाउन ठूलो सहयोगी भइयो जस्तो लाग्छ । “  

एभिन्युज टेलिभिजनको कार्यक्रमपछि राहत लिनेहरु । फोटो सौजन्य: शिव दाहाल ।

लकडाउन भएपछि केन्द्रले मात्रै होइन प्रदेश स्थानीय सकारले पनि आआफ्ना तरिकाले लकडाउनको घोषणा गरे पालिकापिच्छे, वडापिच्छेनै लकडाउनको घोषणा गरे एक ठाउँको तरकारी अर्को ठाउँमा लगेर बेच्न नपाउँदा किसानहरु मर्कामा परे नागरिकबीचको सम्बन्ध नै चिसिएको जस्तो देखियो मान्छे मान्छेसंगै त्रसित हुने अवस्था आयो काठमाडौंबाट अधिकाशं जिल्लातिरै गएकाले पनि रेडियोहरुले उनीहरुका लागि प्रभावकारी कार्यक्रमहरु बनाएको ती कार्यत्रममार्फत कोरोनापछि पनि जिन्दगी , मानवीयता नत्यागौं भन्ने सन्देश दिएको बताउँछन् बानका अध्यक्ष न्यौपाने 

अन्य सकारात्मक पक्षमा नजर
कोरोना आफैंमा नराम्रो विपद भए पनि त्यसले मान्छेको समाजमा पारेका कतिपय सकारात्मक असरहरुमा पनि संचारमाध्यमको ध्यान बेला बखत गैरह्यो । अफ्ट्यारोमा परेका सर्वसाधारणको सेवामा जुटेका सहयोगीहरु, सरकार वा जनस्तरमा संकलन गरिएका राहत सामग्री, राहत कोष र राहत वितरण, कतिपय घर-धनीले केहि महिनाको घर-भाडा मिनाहा गरेका उदाहरणहरू (यद्यपि व्यवहारमा भने त्यसो कदम कार्यान्वयन भएको प्राय देखिएन), लकडाउनकै बेला गरिएको उपत्यकाका केहि खण्डका सडकहरुको निर्माण-मर्मत आदि बारे मिडियाले समाचार दिइरहे ।

लकडाउनको बेला गाडीहरू नचलेका र भिडभाड नभएकोले धुवाँ, धुलो, ध्वनि प्रदूषण स्वात्तै घटेको र सहर सुन्दर भएको अनि दसकौं पछि हिमाल छर्लंगै देखिन थालेका सुखद समाचार प्रशस्तै आए ।  

पछिल्लो समय सहरी क्षेत्रमा बढ्दै गइरहेको जनघनत्व र सवारीको चापले सहर कुरूप बन्दै गइरहेको थियो । लकडाउन खुलेपछि फेरि त्यस्तै अबस्था देखा पर्न थालिसकेको छ । तर लकडाउनको बेला गाडीहरू नचलेका र भिडभाड नभएकोले धुवाँ, धुलो, ध्वनि प्रदूषण स्वात्तै घटेको र सहर सुन्दर भएको अनि दसकौं पछि हिमाल छर्लंगै देखिन थालेका सुखद समाचार प्रशस्तै आए ।  

लकडाउनका बेला मिडियाको नजर परेको अर्को एउटा राम्रो पक्ष थियो पारिवारका सदस्यहरु बर्षौपछि घरमा भलाकुसारी गरेर बस्न पाएको कुरा बच्चाबच्चीले अभिभावकसंग मज्जाले समय विताउन पाए यस्ता खालका समाचार पनि बिभिन्न सञ्चारमाध्यमहरुले लकडाउन डायरीको रूपमा सम्प्रेषण गरेको बताउँछिन् सञ्चारिका समूहकी पन्थी

कोरोना कहर बढेसंगै लकडाउन लम्बिदै जाने संभावना भएपछि काम नगरि नहुने अबस्था सृजना भएपछि नियमित दैनिकीमा फर्किने उपायहरू खोजियो । प्रविधिको सबैभन्दा धेरै प्रयोग यही अवधिमा भयो । कार्यालयहरूले भर्चुअल बैठक चलाउन थाले भने शैक्षिक संस्थाहरूले अनलाइन क्लासहरू सञ्चालनमा ल्याए । यी दुबै त्यति प्रभावकारी रूपमा चल्न नसकेको गुनासो त छ तर प्रविधि प्रयोगमा नेपाल एक कदम अगाडि भने फड्किएको भन्ने खालका उत्साहका समाचार पनि आएका हुन् ।

देशबाहिरका प्रेरणाका समाचार
नेपाली मिडियाले देशबाहिरका समाचारलाई पनि यदाकदा प्रेरणाको रूपमा प्रस्तुत गरे । नेपालमाभन्दा विदेशमा रहेका नेपालीहरुमा झन धेरै कोरोना संक्रमण देखिएको खबर आइरहेका थिए  ।  गत बैसाख २४ गते अनलाइन खबरमा प्रकाशन अमेरिकामै बसोबास गरिरहेका पत्रकार सूर्य थापाको यो लेखअनुसार ब्यवस्ताका बाबजुद नेपालीलाइ कोरोनाले एक ठाउँमा ल्याइपुर्याएको छ ।  जहाँ-जहाँ नेपालीको बाक्लो बसोबास छ, त्यहाँ-त्यहाँ यतिबेला अभूतपूर्व एकता देखिएको छ । लाग्छ, जतिसुकै अप्रिय भए पनि कोरोना कहर अमेरिकाका नेपालीबीच एकता र भातृत्व विकास गर्दै बाँच्दाको जन्ती र मर्दाको मलामी प्रमाणित गर्ने एक अवसर भएको छ,”  लेखमा उल्लेख छ । त्यस्तै अर्को एउटा खबर नागरिक दैनिकमा छापिएको थियो ।

देशबाहिरका नेपालीकै कुरा गर्दा, महामारीको सुरुतिरै वुहानबाट सरकारले त्यहाँ रहेका नेपालीको उद्धार गरी घर ल्याएको समाचार उत्साह र आत्मविश्वासको  प्रतीक बनेको थियो । ढिलै भए पनि खाडी र अन्यत्रबाट हालै गरिएको हजारौं-हजारको उद्धार  सम्बन्धि समाचार पनि उत्साह र आशा जगाउने बिषय बनेको हो ।  

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका सकारात्मक फिचरहरु नेपाली सञ्चारमाध्यमले उल्था गरेर प्रकाशन गरेको मध्ये महत्वपूर्ण थियो — महिला राष्ट्रप्रमुख भएका देशहरु कोरोना नियन्त्रणमा सफल रहेको समाचार समाचारमा जनाइएअनुसार महिलाले नेतृत्व गरेका ताइवान, जर्मनी, न्युजिल्याण्ड, फिनल्याण्ड, आइसल्याण्ड लगायतका मुलुकले कोरोना नियन्त्रणका लागि तिव्रतर गतिमा प्रगति गरिरहेका थिए; र यो खबर संसारभरका सञ्चारमाध्यममा प्राथमिकताका साथमा आइरह्यो । यसको ठीक बिपरित शासकको सनकका कारण दुख पाइरहेका संयुक्त राज्य अमेरिका र ब्राजिलबारे पनि प्राथमिकतासहित समाचार नआएका होइनन्  ।

“यसले तुलना गरेर हेर्न सजिलो भयो, महिलाको नेतृत्व क्षमताका बारेमा पनि थोरबहुत जान्ने मौका संसारले पायो, सञ्चारिका समूहकी पन्थी भन्छिन्, “महिलाको नेतृत्वमा भएका देशहरुमा कुसल नेतृत्व क्षमतासहित कोरोना नियन्त्रणमा भूमिका खेले भन्ने कुरा पनि एकदम राम्रो लागेको थियो ।”

र, अन्त्यमा…
प्रेस काउन्सिलका श्रेठको विचारमा सकारात्मक समाचारहरु अझै बढि लेखेर आशाको सञ्चार गराउन सञ्चारमाध्यमको भूमिका ठूलो छ । “अहिले समाजमा एकदमै निराशा बढिरेहको , फेसबुक लाइभ गरेर आफ्नै ज्यान सक्नेहरु पनि बढेको हामीले देखेका छौं, आत्महत्याको दर लकडाउन अवधिमा धेरै , श्रेष्ठले भने, “त्यसैले अलिकति भएपनि सकरात्मक पहल भएका समाचारलाई प्राथमिकता दिन जरुरी ।” 

राज्यले लकडाउन खुल्ला गरिरहेकाे र जनता पनि बाहिरखेर निस्किरहेको यो बेलामा सञ्चारमाध्यम दुबै पक्षलाइ सचेत गराउनेगरि केन्द्रीत हुुनुपर्ने देखिन्छ । संक्रमित बढिरहेका त छन् तर सचेत हुनुपर्छ भन्ने विषयलाई नै प्राथमिकता दिनुपर्ने देखिन्छ ।  

पछिल्लो समय प्रदेश २ का बिरगञ्ज, राजबिराज लगायत सहरमा समुदायस्तरमै काेरोनाको संक्रमण बढिरहेको समाचार दिनदिनै प्रकाशित भइरहेका छन् । काठमाडाैंमा समेत संक्रमितको दर बढिरहेको छ । सरकारले लकडाउन खुल्ला गरेकाले र भदाै १ देखि लामो दुरीको सवारी साधनसमेत चलाउने तयारी गरेकाे भिडभाड आवातजावत झन धेरै बढ्न सक्ने देखिएको छ । यस्तोमा नागरिकको जीउज्यान रक्षााका लागि राज्यले पर्याप्त पहल त गर्नै पर्छ, नागरिक स्वयम् पनि सचेत बन्नुपर्ने देखिन्छ ।  राज्यले लकडाउन खुल्ला गरिरहेकाे र जनता पनि बाहिरखेर निस्किरहेको यो बेलामा सञ्चारमाध्यम दुबै पक्षलाइ सचेत गराउनेगरि केन्द्रीत हुुनुपर्ने देखिन्छ । संक्रमित बढिरहेका त छन् तर सचेत हुनुपर्छ भन्ने विषयलाई नै प्राथमिकता दिनुपर्ने देखिन्छ ।  

 यो सामग्री मिडिया फाउण्डेसनको कोविड–१९ मिडिया आउटरीच कार्यक्रमअन्तर्गत ह्युम्यानिटी युनाइटेडको सहयोगमा तयार गरिएको हो लेखमा व्यक्त गरिएका दृष्टिकोण लेखकका हुन् । 

Comments