कोरोना र पत्रकारको स्वास्थ्य: संक्रमणमुक्त मिडियाकर्मीका अनुभव र सुझावहरू

नेपालमा महामारी चुल्लिने दिशातिर गएको अवस्थामा छिमेकमा भएका पत्रकारका मृत्युका घटनाले नेपाली पत्रकारहरूको स्वास्थ्य पनि साँचैको जोखिममा रहेको संकेत मिल्छ । विश्वमा हालसम्म १२७ पत्रकारको मृत्यु भइसकेको छ र दक्षिण एसियामा कम्तिमा पनि २१ जनाको ।

कपिलवस्तुका संक्रमित पत्रकार जानु पाण्डे आइसोलेसनको समयमा। तस्वीर: लेखक।

सुरेश बिडारी

म ६ वर्षदेखि वीरगञ्जमा छु। पत्रकारिताबाटै जीवन निर्वाह गरिरहेको सामान्य व्यक्ति।

चैत २८ गते वीरगञ्जमा पहिलोपटक तीनजना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भयो। त्यसपछि समुदायस्तरमा क्रमशः फैलियो।

पत्रकारितामा कामको धपेडी बढी हुन्छ नै। अनलाइन खबर डटकममा काम गर्छु। लकडाउन पछि फिल्ड रिपोर्टिङलाई भन्दा फोन रिपोर्टिङलाई प्राथमिकता दिएको थिएँ। रिपोर्टिङमा जाँदा अनिवार्य कपडाको मास्क लगाउँथेँ। फर्केपछि साबुन पानीले नियमित हात धुन्थेँ। सेनिटाइजर पनि प्रयोगमा थियो।

तर म स्वयं कोरोनाको चपेटामा परेँ।

संक्रमण आइसोलेसन

चिकित्सक र कतिपय संक्रमित व्यक्तिका अनुसार कोरोना कुनै लक्षण बिनै लागिसकेको हुन सक्छ। बैशाख २८ गते नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम बञ्जराले पीसीआर टेष्ट गर्न जाऊँ भन्नुभयो। स्वाब दिएपछि पनि दुवै नियमित काममै थियौं। पत्रकार महासंघ पर्सा शाखा पत्रकारमाथि सुरक्षा निकायले गरेको दुर्व्यवहारविरुद्ध अझै आन्दोलनमै थियो। त्यहाँ धेरै भीडभाड थियो । तर भाग लिँदा दूरी कायम गरिएकै हो।

बैशाख ३० गते कोठाबाटै नियमित रिपोर्टिङ गर्दै थिएँ। नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले “आइसोलेसनमा जान तयार रहनू” भन्नु भयो। हाँस्दै भनेको कुरामा खासै विश्वास लागेन। मजाक गर्ने विषय होइन भन्ने सोच्दै गर्दा एसपी गंगा पन्तको समेत फोन आएपछि नपत्याई सुखै थिएन। उहाँले हामीहरू दुवैजना संक्रमित भएको पुष्टि गर्नुभयो।

भाइरसलाई आँखाले देख्न सकिने होइन, सतर्कता अपनाएकै थिएँ। कहिलेकाहिँ रिपोर्टिङमा निस्के पनि नारायणी अस्पताल र निषेधित क्षेत्रमा समेत पुग्ने गरिन्थ्यो। त्यहिबेला कतै संक्रमण भयो होला भन्ने लाग्छ।

आइसोलेसनमा बस्दा शारीरिक रुपमा कमजोरी जस्तो महशुस भएको थियो। सरसफाइको अवस्था कमजोर थियो। त्यसैले गर्दा आँउ पर्‍याे। सामान्य खोकी पहिल्यैदेखि थियो। बुवाले भन्नुहुन्थ्यो, मलाई सानोमा निमोनिया भएको थियो रे। आकाशमा बादल लागेपछि यता खोकी लाग्न शुरु हुन्छ।

ज्वरो, रुघा, सुख्खा खोकी आदि लाग्ने, घाँटी चिलाउने वा दुख्ने, सास फेर्न गाह्रो। हुने जस्ता कोरोनाका कुनै पनि लक्षण भने देखिएनन्। नारायणी अस्पतालको आइसोलेसनमा १४ दिन बिताएँ। जेठ १२ गते अस्पतालले कोरोनामुक्त भएको सर्टिफिकेट थमायो। त्यसपछि १४ दिनको होम क्वारेन्टिन बसेर फेरि फिल्डमा निस्किसकेको छु।

आइसोलेसनबाट समेत सकेजति पत्रकारिताको धर्म निर्वाह गरेँ। त्यहाँको अवस्था, आफूले देखेका, भोगेका कुरा र आफ्नै पेशाजीवन-मननबारे पनि लेखेँ। अनि साथीहरूको सहयोगमा आइसोलेसनबाटै दुईवटा भिडियो रिपोर्टिङ गरेको थिएँ। अस्पताल भित्रको वेथिति बाहिर ल्याउने प्रयास गरेँ। संक्रमितलाई दिने खानेकुरा, गरिने व्यवहार र सरसफाइमा क्रमशः सुधार आए पनि धेरैजसो स्व-हेरचाहमै निर्भर हुनुपर्‍यो।

म सँगै संक्रमण पुष्टि भएका आइसोलेसन पार्टनर बञ्जारा भन्नुहुन्छ, “उपचारमा खटिने चिकित्सक आउँछन्। सतर्कता अपनाउन सिकाउलान् भन्ने थियो। चिकित्सकीय परामर्श कुरेर बस्यौं। तर उनीहरु आएनन्। कोरोनामुक्त भएर फर्कदा समेत उस्तै स्थिति रह्यो।”

व्यक्तिगत सतर्कता, डब्लुएचओले जारी गरेको निर्देशन, कम्तीमा चार पटक पौष्टिक आहार, अदुवा, बेसार, दालचीनी हालेर उमालेको तातोपानी बारम्बार पिउने, शारीरिक कसरत गर्ने र सकारात्मक चिन्तनबाट नै कोरोनालाई परास्त गर्नु परेको उहाँ बताउनुहुन्छ।

चौध दिनमा दोस्रोपटक भएको पीसीआर परीक्षण रिपोर्टिङ निगेटिभ आएपछि जेठ १२ दुवै सँगै डिश्चार्ज भएका हौं। हिम्मत हारिएन भने कोरोना भाइरसले हराउन सक्दैन भन्ने अनुभव हाँसिल भएको बञ्जारा सुनाउँनु हुन्छ।

हालसम्म ११ पत्रकारमा कोरोना 

कोरोनाको ईपीसेन्टर बनेको वीरगञ्जमा हामी संक्रमित भएपछि एकदमै त्रासमय वातावरण बन्यो। पत्रकारलाई हेर्ने दृष्टिकोण बदलियो। अधिकांशले छरछिमेक र आफन्तबाटै दुर्व्यवहारको सामना गर्नुपर्‍याे।

बाराको परवानीपुर गाउँपालिका ५ बहुअरी घर भएका पत्रकार प्रणय साह संक्रमित पत्रकारको नियमित सम्पर्कमा रहन्थे। घरमा ३ र १ वर्षीया छोरी छन्। सँगै हिँड्ने साथीमा संक्रमण पुष्टि भएपछि उनको होस उड्यो। जसोतसो आफू सम्हालिए। तर घर परिवारलाई सम्हाल्न निकै गाह्रो भयो। कहिल्यै सम्पर्कमा नआएका टोल छिमेकी र टाढाका आफन्त पनि वर्वाद पार्‍यो भन्दै तनाव दिन्थे। सम्पर्कमा आएका १ सय २० जना पत्रकारको परीक्षण रिपोर्ट निगेटिभ आएको कुरा सामाजिक सञ्जालमा छाएपछि त्रास हट्यो। पर्साबाहेक बारा, सर्लाही, धनुषालगायत जिल्लाका पत्रकारले समेत सामुहिक रुपमा पीसीआर परीक्षण गराए।

देशमा हालसम्म दुईजना महिलासहित ११ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ।  सबैभन्दा बढी प्रदेश नं २ मा ६ जना सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएको छ; पर्सामा २, बारामा १, सर्लाहीमा २, जनकपुरमा १ जना । त्यसै गरी कपिलवस्तुमामा ४ र उदयपुरमा १ जना सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलिँदै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अग्रपंक्तिमा खटिनेहरू नै बढी जोखिममा हुन्छन्। देशमा हालसम्म दुईजना महिलासहित ११ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ।  सबैभन्दा बढी प्रदेश नं २ मा ६ जना सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएको छ; पर्सामा २, बारामा १, सर्लाहीमा २, जनकपुरमा १ जना। त्यसै गरी कपिलवस्तुमा ४ र उदयपुरमा १ जना सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सबै संक्रमित पत्रकार आइसोलेसनमा बसेर कोरोनामुक्त भई घर फर्किसकेका छन्। बारामा पत्रकारका श्रीमतीलाई समेत संक्रमण देखियो।

नियमित फिल्डमा खटिने कपिलवस्तुका चार सञ्चारकर्मीमा जेठ दोस्रो साता कोरोना संक्रमण देखियो। दुईजना कार्यालयमै सेल्फ आइसोलेसन र दुईजना बुटवलको कोरोना अस्पताल आइसोलेसनमा बसे। उनीहरूले आइसोलेसन बस्दाको अनुभव विभिन्न सञ्चार माध्यममार्फत बाँडेका छन्।

चार संक्रमित मध्ये कपिलवस्तुको रेडियो बुद्ध आवाजमा काम गर्ने सरिता थारु एक हुनुहुन्छ। उहाँ वैशाख २२ गते मायादेवी गाउँपालिकामा समाचार संकलनका लागि जानु भएको थियो। भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्तिबाट संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभयो।

शुरुमा डर देखियो, पछि हरायो

संक्रमित हुँदा थोरै विचलित बन्नु स्वाभाविक हो। संक्रमणको खबरले कोही रोए, कोही अत्तालिए, कसैलाई संक्रमण भएको पत्यार नै लागेन। तर पनि कोरोना भाइरस परीक्षणमा सबैभन्दा विश्वासिलो प्रविधि रियल टाइम  पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि यो सत्यलाई स्वीकार गर्नु नै पर्ने थियो।

पत्रकारले त्यसै गरे, अन्य नागरिक जसरी नै आइसोलेसनमा बसे। तर जब कोरोना भाइरसको अनुभव गर्दै गए, त्यसपछि आत्मबल बढ्दै गयो। जनकपुरका संक्रमित पत्रकार मुटुका रोगी थिए। अरु अन्य रोगले ग्रसित थिएनन्। उनीहरूमा कोरोनाको लक्षण थिएन। आइसोलेसनमा होस् वा सेल्फ आइसोलेसनमा, स्वस्थ व्यक्तिसरह सक्रियता देखाए। आफूमा हिम्मत जुटाए र अरुलाई पनि हिम्मत बाँडे।

आफ्नो परिचय गोप्य नराखी उनीहरू खुलेर आए। कोरोना संक्रमण जोकोहीलाई, जतिसुकै बेला पनि हुन सक्दोरहेछ भन्ने सन्देश दिए। यसले समाजमा संक्रमितलाई हेर्ने हेय भाव घटेको र कोरोना संक्रमण हुँदैमा मरिहालिन्छ भन्ने त्रास पनि कम भएको उनीहरूको अनुभव छ।

जनकपुरका पत्रकार वीरेन्द्र रमण सावधानी अपनाउँदा संक्रमणको जोखिम कम हुने र संक्रमण पुlष्ट भइहाले पनि आत्तिन नहुने बताउनुहुन्छ। “म संक्रमित भएपछि मेरो आफन्त साथीभाइ चिन्तित थिए। तर म कत्ति पनि विचलित भइन,” उहाँ भन्नुहुन्छ, “मेरो एउटै लक्ष्य थियो, कोरोना भाइरसलाई जित्ने। आत्मबल दरो बनाएर जितेरै छोड्छु भनेर दृढ संकल्प गरेँ । नभन्दै संक्रमणमुक्त भएको छु।”

नियमित साबुन पानीले हात धुने, प्रतिरोधी क्षमता बढाउने खालका पोषिलो खानेकुरा खाने, मास्क लगाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र आत्मबल बलियो बनाउँदा कोरोनालाई जित्न सकिने बताउनु हुन्छ, “दिनचर्यामा परिवर्तन ल्याउनुपर्छ। सकारात्मक सोच्नुपर्छ। पोषिलो खाना खानुपर्छ।”

सावधानीका कदम

सञ्चारकर्मी जोखिम मोलेर खटिएका छन्। केही मिडियाले धेरथोर व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएका छन् भने कतिपयलाई आवद्ध संघसंस्था र अधिकांशले व्यक्तिगत खर्चमा मास्क, स्यानिटाइजर, पन्जाको जोहो गरे। कोरोना भाइरसको सन्दर्भमा सरकारले नै निःशुल्क टेष्टिङ, ट्रेसिङ र ट्रिटमेन्ट गरिरहेको छ।

पत्रकारमा संक्रमण देखिन थालेपछि जिल्ला जिल्लामा पत्रकार महासंघले नै अस्पतालहरूसँग समन्वय गरेर पीसीआर परीक्षण गराएको छ। कतिपय पत्रकारले व्यक्तिगत पहलमा जाँच गराएका छन्। जस्तो कि लकडाउन शुरु भएपछि पूर्वमा पाँचथरदेखि पश्चिम धनगढीसम्म कोरोनाको जोखिम क्षेत्रमा रिपोर्टिङ गरेका न्युज २४ टेलिभिजनका केन्द्रीय ब्युरो प्रमुख राजु श्रेष्ठले दुई पटक पीसीआर परीक्षण गराउनु भएको छ, एक पटक विराटनगर महानगरपालिकाको पहलमा विराटनगरमा र अर्कोपटक आफ्नै पहलमा चितवनमा। दुवैचोटि रिपोर्ट निगेटिभ आयो।

“फिल्डमा खटिएकालाई बाहिरबाटै काम गर्न र भित्र आवश्यक पर्ने कर्मचारीलाई कार्यालयमै बस्ने व्यवस्था मिलाएका थियौं,” श्रेष्ठ भन्नुहुन्छ। कार्यालयमा पहिलो सिफ्टमा २२ जना र दोस्रो सिफ्टमा १८ जनाले काम गरे। कन्ट्याक्ट ट्रेसिङमा सहज होस् भनेर पछिल्ला दिनमा कार्यालयबाट बाहिर निस्कने बेलामा हरेकले कहाँ के कामले जान लागेको र फर्किएपछि  कस-कसलाई भेटेर आएको लेख्नुपर्ने व्यवस्था मिलाइएको छ।

कोरोना परीक्षणका सवालमा अस्पतालका मेसुलगायत चिकित्सक, प्रयोगशालामा व्यक्तिगत रुपमा आग्रह गरेर पनि परीक्षण गराउन सकिन्छ। नेपाल पत्रकार महासंघ शाखामार्फत जाँदा पनि सहज हुन्छ। अन्यथा कन्ट्याक्ट ट्रेसिङमा पर्नुपर्छ वा संक्रमणको लक्षण भेटिनुपर्छ।

नयाँ पत्रिकाले कोरोना भाइरसको महामारीमा सावधानीपूर्वक पत्रिका वितरण गरिरहेको दावी गरेको छ। आवश्यकताको आधारमा कतिपय पत्रकार र कर्मचारीलाई पीसीआर गराएको सम्पादक उमेश चौहानको भनाइ छ। सही सत्यसूचना प्रवाहसँगै आवद्ध पत्रकार र पाठकको स्वास्थ्य सुरक्षामा गम्भीर भएर लागिपरेको उहाँ बताउनुहुन्छ।

“विपदको घडीमा भाइरल कन्टेन्ट उत्पादन हुने र पाठकलाई दिग्भ्रमित पार्ने गरिन्छ। सही सूचना दिनका लागि आधिकारिक सञ्चार माध्यमको भूमिका झनै महत्वपूर्ण हुन्छ। कोरोना भाइरसको महामारीको सन्दर्भमा हेर्दा जनताको स्वास्थ्य परीक्षण, क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापनमा भएका कमी कमजोरी औल्याउने दायित्व हाम्रो हो।”

कोरोना परीक्षणका सवालमा पत्रकारका लागि भनेर गाइडलाइनमा कुनै विशेष व्यवस्था त छैन। तर फ्रन्टलाइन वर्कर भएकोले अस्पतालका मेसुलगायत चिकित्सक, प्रयोगशालामा व्यक्तिगत रुपमा आग्रह गरेर पनि परीक्षण गराउन सकिन्छ।  नेपाल पत्रकार महासंघ शाखामार्फत जाँदा पनि सहज हुन्छ। अन्यथा कन्ट्याक्ट ट्रेसिङमा पर्नुपर्छ वा संक्रमणको लक्षण भेटिनुपर्छ।

कोरोना स्वास्थ्य बीमाप्रति आकर्षण

आर्थिक सुरक्षामा त्यसै पनि निर्बल पत्रकारहरूसामु कोरोना महामारीले थप ठूलो संकट थोपरेको छ-कोरोना लागिहाले स्वास्थ्य उपचारको खर्च कसरी जोहो गर्ने ? यसै कारण पनि कोरोना संक्रमण देखिएपछि बीमा प्रतिको आकर्षण बढेको छ। कतिले बीमा गरे भन्ने यकिन तथ्यांक चाहिँ उपलब्ध छैन।

वीरगञ्जमा दुईजना पत्रकारमा संक्रमण देखिएपछि १ सय १० जना पत्रकारको कोरोना बीमा गरिएको छ। वीरगञ्ज महानगरपालिकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको साधारण सदस्यको बीमा गरिदिएको हो। बीमा पोलिसीअन्तर्गत अब कुनै पत्रकारको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएमा प्रिमियम इन्स्योरेन्स कम्पनीले एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउनेछ।

सञ्चार माध्यममा आएको समाचार अनुसार आर्थिक पत्रकार समाज (सेजन) ले सबै सदस्यको, नेपाल पत्रकार महासंघ कास्कीले २ सय ६१ जनाको, नवलपरासी शाखाले ४९, नुवाकोटल ९५,  तेह्रथुमले २०, पाल्पाले ८५, भोजपुरले ५२, र बाग्लुङले ५२ जना सदस्यहरुको बीमा गरेको छ ।

महासंघले मात्रै नभएर कतिपय स्थानीय तह, प्रदेश सरकार र व्यवसायीले समेत पत्रकारको बीमा गरिदिएका छन्। प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासंघको समन्वयमा वागमति प्रदेशका ७ सय ५ जनाको बीमा गरेको छ।

सञ्चार रजिष्ट्रार रेवती सापकोटा चाहेर पनि  थप अन्य सहयोग गर्न नसकेको बताउनुहुन्छ। “ ७ सय ५ जनाको बीमा गरायौ,  प्रदेशका १३ वटै जिल्लामा मास्क, ग्लोभ्स र सेनिटाइजर पठायौं, ३ सय थान प्रेस ज्याकेट बाँड्यौं,” उहाँ भन्नुहुन्छ, “यस्तो विपद् आउला भन्ने अनुमान थिएन। रकम नहुँदा चाहेर पनि केही गर्न सकिएन।”

कतिपय नागरिकले पत्रकारतर्फ व्यक्तिगत रुपमा कल्याणकारी हात बढाएका छन्। जस्तो कि युवा व्यवसायी प्रयास कार्कीले उदयपुरका ५५ जना पत्रकारको प्रति व्यक्ति एकलाख रुपैयाँको कोरोना बीमा गराइदिएका छन्।

विपद जोखिम पत्रकारिता सहयोग कार्यक्रमका लागि छुट्याइएको बजेटबाट खर्च गरेको सापकोटा बताउनुहुन्छ। त्यसबाहेक बागमती प्रदेशमा दर्ता, नविकरण भई रोयल्टी तिरेका रेडियो, टेलिभिजनर, अनलाइन सञ्चार माध्यमलाई आगामी आर्थिक वर्ष २०७७/0७८ को नीति, कार्यक्रम तथा बजेटको प्रत्यक्ष प्रशारण गर्न लगाएर आर्थिक सहयोग गरिएको छ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुरका ११९ पत्रकारको बीमा गरिएको छ। प्रदेश समितिले नै १ सय ३० जना पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ। कतिपय नागरिकले पत्रकारतर्फ व्यक्तिगत रुपमा कल्याणकारी हात बढाएका छन्। जस्तो कि युवा व्यवसायी प्रयास कार्कीले उदयपुरका ५५ जना पत्रकारको प्रतिव्यक्ति एकलाख रुपैयाँको कोरोना बीमा गराइदिएका छन्। केही मिडिया हाउसमा आवद्ध पत्रकार कर्मचारीको मिडिया हाउसले र कतिपय पत्रकार स्वयंले पनि कोरोना बीमा गराएका छन्।

अहिले देशमा संक्रमण व्यापक हुँदै गइरहेको छ र पत्रकारको भागदौड पनि अझ बढ्ने निश्चित छ। कोरोना बीमा सकारात्मक कदम हो। तर हजारौं पत्रकार यसबाट वञ्चित नै छन्। सुरक्षा सामग्री र बीमालाई अझै सुलभ बनाउनुपर्ने आवश्यकता छ ।

कास्कीमा ४१ जना पत्रकारको बीमा आवद्ध मिडिया हाउस र व्यक्ति स्वयंले गरेका छन्।

बिर्तामोडको पूर्वाञ्चल दैनिकले झापाका १०१ जना पत्रकारको बीमा गरिदिएको छ। सांसद प्रदिप यादवले पर्साका ४० भन्दा बढी सञ्चारकर्मीलाई मास्क, सेनिटाइजर र  ग्लोभ्स बाँडेका थिए।

सञ्चारसम्बद्ध कतिपय संघ संस्थाहरूले स्वास्थ्य सुरक्षा सामग्री समेत वितरण गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले दाताको सहयोगमा कोरोना महामारीमा फिल्ड रिपोर्टिङमा खटिएका सदस्यलाई मास्क, सेनिटाइजर, ग्लोभ्स/प्रेस ज्याकेट वितरण गरेको छ। त्यस्तै नेपाल फोटो पत्रकार महासंघले सदस्यलाई प्रेस ज्याकेट, एन ९५ तथा सर्जिकल मास्क र स्यानिटाइजर वितरण गर्‍यो। दातासँग सहयोग लिएर बढी प्रभावित र सहजै समान पाउन नसक्ने रौतहट, सर्लाही जस्ता ठाउँमा स्वास्थ्य सुरक्षा सामग्री पठाइएको महासंघका पर्सा अध्यक्ष विजय चौहान बताउनुहुन्छ।

अहिले देशमा संक्रमण व्यापक हुँदै गइरहेको छ र पत्रकारको भागदौड पनि अझ बढ्ने निश्चित छ। कोरोना बीमा सकारात्मक कदम हो। तर हजारौं पत्रकार यसबाट वञ्चित नै छन्। सुरक्षा सामग्री र बीमालाई अझै सुलभ बनाउनुपर्ने आवश्यकता छ।

पत्रकार स्वयं बढी सचेत हुनुपर्ने

पत्रकारले अरुलाई सुसूचित बनाइरहेका हुन्छन्। उनीहरू नै संक्रमित हुँदा समाजमा त्रास बढ्नु स्वाभाविकै हो। धेरै उनीहरू हिँडडुल गरिरहने भएकोले संक्रमणको जोखिम हुनु स्वाभाविक हो। संक्रमित सबै पत्रकार समुदायमा संक्रमण फैलिसककै क्षेत्रका छन्।

विपद पत्रकारितामा पत्रकार स्वयं बढी सचेत हुनुपर्ने हुन्छ। तर पत्रकारिता जगतले त्यसअनुसारको ध्यान नपुर्‍याएको स्वास्थ्य क्षेत्रका जानकार बताउँछन्। नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय कामको प्रकृति र असावधानीका कारण पत्रकार संक्रमित हुन पुगेको बताउनुहुन्छ।

“धेरै डुल्नेलाई संक्रमणको जोखिम हुन्छ। त्यसैले लकडाउन गरेर घरमै बस भनेको हो। पत्रकारको कामको प्रकृति पनि त्यस्तै छ,” उहाँ भन्नुहुन्छ, “अर्को उनीहरूमा लापरबाही हो वा बाध्यता, सुरक्षा कवचमा ध्यान नदिएको वा दिन नसकेको पनि हुनसक्छ। त्यस्तो देखिन्छ।”

रिपोर्टिङका क्रममा प्रयोग गर्ने सवारी साधन, पुगेको स्थान, भेटेको व्यक्तिबाट संक्रमणको जोखिम हुन्छ। वीरगञ्जमा पत्रकारले मास्क, पञ्जा, चश्मा प्रयोग नगरेको, २ मिटरको भौतिक दूरी पालना नगरेको, अन्य सुरक्षाका उपायमा ध्यान नदिएको, पत्रकारहरूले नै भीडभाड गरेको डा. उपाध्याय बताउनुहुन्छ।

अझ पर्सामा त पत्रकारहरू प्रहरीविरुद्ध आन्दोलित रहेको र उनीहरूको प्रत्यक्ष सम्पर्क धेरैसँग हुने भएकोले संक्रमण व्यापक फैलिएको हुनसक्ने आशंकामा तनाव बढेको उहाँ सम्झनुहुन्छ। महामारीको शुरुतिर पत्रकारले प्रेस सम्मेलनमा सामाजिक दूरीको कुनै प्रवाह नगरेको पनि यहाँनेर स्मरणीय हुन आउँछ।

वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी जनस्वास्थ्य संकटका बेला पत्रकारिता क्षेत्रमा जोखिम र विस्तार आयाम दुवै हुने बताउनुहुन्छ। “संक्रमितलाई बोक्ने एम्बुलेन्स भएको ठाउँ, संक्रमितलाई राखेको अस्पताल र भाइरस भएको ठाउँमा पत्रकार पुगेको छ,” उहाँ भन्नुहुन्छ, “सरकारले नदेखेको कुरा पत्रकारले जोखिम मोलेर बाहिर ल्याइदिएका छन्। सोचेभन्दा अगाडि गएर साहस देखाएर काम गरेका छन्। तर राज्यले उनीहरूको सुरक्षामा पटक्कै ध्यान दिएन।”

स्वास्थ्य सुरक्षा गौण

सरकारी नजरमा पत्रकारको स्वास्थ्य सुरक्षा गौण रहेको भान हुन्छ। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी महामारीले समग्र क्षेत्रमा पारेको प्रभावको अध्ययन राष्ट्रिय योजना आयोगले गर्ने र त्यसैमा सञ्चार क्षेत्र पनि समेटिने जानकारी दिनुहुन्छ। प्रेस काउन्सिल नेपालको हालैको अध्ययन पनि पत्रकारिताको भूमिकामा केन्द्रित छ। जनस्वास्थ्यको प्रसंग उठाए पनि पत्रकारको स्वास्थ्य सुरक्षाका बिषयमा अध्ययन प्रतिवेदन मौन छ।

संचारकर्मीको छाता संस्था नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको पारिश्रमिक लगायतका बिभिन्न माग राख्ने र दवाब सिर्जना गर्ने प्रयासहरू चलाउँदै आएको छ र यस्ता कार्यमा पत्रकारको स्वास्थ्य सुरक्षाका मुद्दा पनि उठाएको छ। वीरगञ्जमा पत्रकारलाई संक्रमण पुष्टि भएपछि बैशाख ३० गते महासंघले विज्ञप्ति जारी गर्‍यो। संक्रमणबाट अतिप्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरूका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन भन्यो।

विज्ञप्तिमा महासंघले पत्रकारलाई आवश्यक सुरक्षा सामग्री व्यवस्था गर्न पनि माग गरेको छ। कोरोना भाइरस नेपालमा प्रवेश गरेपछि उसले यससँग सम्बन्धित ८ वटा विज्ञप्ति जारी गरिसकेको देखिन्छ।

चैत १० गते पत्रकारहरूलाई सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएको देखिन्छ। संक्रमित पत्रकारको संख्या बढ्दै गएपछि जेठ ४ गते आफ्नो स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर समाचार संकलन तथा सम्प्रेषण गर्न आमसञ्चारकर्मीलाई पुनः अपिल गरेको छ।

श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनीलगायतका संघर्ष गर्न महासंघले महासचिव रमेश विष्टको नेतृत्वमा एक समिति गठन गरेको छ। पत्रकारको बेरोजगारी  मुख्य मुद्दा रहिआएको छ। महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा भन्नुहुन्छ, “महासंघले कोरोना महामारीको समयमा जति काम गरिरहेको छ। त्यो पर्याप्त छैन। मिडिया बन्द गर्ने, पत्रकारलाई निकाल्ने, पारिश्रमिक तथा अन्य सेवा नदिने जस्ता ज्वलन्त मुद्दामा काम गर्न सक्नुपर्छ।”

बाँकी नै काँधमा जिम्मेवारी

कोरोनाको महामारी रोकिएको छैन, यो लेख तयार पार्दासम्म नेपालमा १३ हजार २ सय ४८ जनामा संक्रमण देखिएको छ र २९ जनाको मृत्यु भएको छ। यद्यपि कतिपयमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।

सूचना, स्रोतको पहुँचमा कमी, संक्रमणको जोखिम, पेशागत असुरक्षा, पारिवारिक तनाव त छँदैछ, सोसल मिडियाले छर्ने भ्रम, फेक न्युजको बाढी, साइबर बुलिइङका चुनौतिलाई चिर्नुपर्ने छ। त्यसमाथि सरकारले मिडियासँग प्रशंसा मात्रै खोजिरहेको अवस्था छ। यस्तो बेलामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउन सक्छ।

आत्मरक्षा पहिलो र मुख्य चुनौति भए पनि विपद वा महामारीको बेला सञ्चार जगत धर्मराउन नहुने अग्रज पत्रकारको विष्लेषण छ। उनीहरू संकट परीक्षा पनि भएकोले त्यसमा उतीर्ण हुनुपर्ने तर्क गर्छन्।

स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्य कठिन परिस्थिति भए पनि आफूलाई विकसित गर्दै लैजानुपर्ने बताउनुहुन्छ । “जन स्वास्थ्य पत्रकारिता अति संवेदनशील छ। सूचना दिएनन् भनेर बसेर हुन्न, स्रोतसँगको पहुँच बढाउनुपर्छ।”

मेरो अनुभवमा सावधानी अपनाउँदैमा संक्रमित हुनबाट बचिँदो रहेनछ; यद्यपि स्वास्थ्य सुरक्षा प्रोटोकोलको राम्रो जानकारीले संक्रमणको जोखिमलाई कम गर्न पक्कै सहयोग पुर्‍याउँछ ।

महामारी पछि आउने असरका बारेमा पत्रकार सचेत भएर रिपोर्टिङ गर्नुपर्ने उहाँ बताउनुहुन्छ। “कोरोना महामारीले देशको समग्र अर्थतन्त्र, व्यवसाय, किसान, मजदुर, स्वास्थ्य क्षेत्रको विभिन्न आयममा असर गर्छ,” आचार्य भन्नुहुन्छ, “त्यसबारेमा गम्भीर र संवेदनशील भएर रिपोर्टिङ गर्नुपर्छ।”

संक्रमण व्यापक बन्दै जाँदा आउँदा दिनमा पत्रकारको भूमिका मात्र बढ्ने होइन उनीहरूको स्वास्थ्य सुरक्षा र मानसिक अवस्थाको सवाल झनै टड्कारो बन्ने छ।

केही  उपयोगी सुझाव

डा. उपाध्यायले भनेझैं महामारीको स्थितिमा रिपोर्टिङ गर्ने पत्रकारहरू आफ्नो स्वास्थ्य सुरक्षाको सवालमा आफैँ सतर्क र सावधान हुनुपर्ने हुन्छ। तर मेरो अनुभवमा सावधानी अपनाउँदैमा संक्रमित हुनबाट बचिँदो रहेनछ; यद्यपि स्वास्थ्य सुरक्षा प्रोटोकोलको राम्रो जानकारीले संक्रमणको जोखिमलाई कम गर्न पक्कै सहयोग पुर्‍याउँछ।

नेपालमा महामारी चुल्लिने दिशातिर गएको अवस्थामा छिमेकमा भएका पत्रकारका मृत्युका घटनाले नेपाली पत्रकारहरू पनि साँचैको जोखिममा रहेको संकेत मिल्छ। स्पष्ट प्रोटोकलको व्यवस्थाले फिल्डमा जुट्ने पत्रकारलाई सुरक्षित कार्य संरचना दिन्छ।

अन्यत्रको अनुभवबाट पनि सिक्न सकिन्छ। विश्वव्यापी महामारीले दुनियाँभरका पत्रकारलाई प्रभावित गरेको छ। हजारौं पत्रकारहरू संक्रमित भइसकेका छन् र अहिलेसम्म १२७ जनाको मृत्यु भइसकेको छ। समाचारअनुसार दक्षिण एसियामा कम्तिमा पनि २१ पत्रकारको ज्यान गएको छ। बंगलादेशमा १० जना, भारतमा ६ र पाकिस्तानमा ५ जना।  भारत (यो पनि हेर्नुहोस्) र पाकिस्तानका पत्रकारिताका संघ-संगठनहरूले पत्रकारका लागि  स्वास्थ्य “प्रोटोकल” तयार गरेका छन् र बंगलादेशमा स्वास्थ्य सुरक्षाका सवालहरू उठाइएका छन् । युनिसेफले पनि दक्षिण एशियाली पत्रकारहरूका लागि स्वास्थ्य निर्देशिका तयार गरेको छ। यी निर्देशिकाले महामारीबारे रिपोर्टिङ गर्दा के गर्ने भन्नेबारे चरणबद्ध सुझाव दिएका छन्।

नेपालमा महामारी चुल्लिने दिशातिर गएको अवस्थामा छिमेकमा भएका पत्रकारका मृत्युका घटनाले नेपाली पत्रकारहरू पनि साँचैको जोखिममा रहेको संकेत मिल्छ। स्पष्ट प्रोटोकलको व्यवस्थाले फिल्डमा जुट्ने पत्रकारलाई सुरक्षित कार्य संरचना दिन्छ।

अन्य अन्तर्राष्ट्रिय पत्रकारिता संगठनहरूका निर्देशिका पनि उपयोगी हुन सक्छन्। जस्तो कि अन्तर्राष्ट्रिय पत्रकार संजाल (आइजेनेट) ले कोविड-१९ बाट बच्न पत्रकारलाई निम्न सुझाव दिएको छ:

  • सकेसम्म घरबाटै काम गर्ने
  • न्युज रूममा काम गर्ने भए ७०% अल्कोहल प्रयोग गरी कार्यस्थानलाई दैनिक रुपमा सफा गर्ने
  • २० सेकेन्डसम्म नियमित रुपमा हात धुने
  • आवश्यक भए मात्र प्रत्यक्ष आमने-सामने अन्तरवार्ता गर्ने
  • अन्तर्वार्ता लिंदै गरेका व्यक्तिबाट ३ देखि ६ फिट परै बस्ने
  • दुई ओटा माइक्रोफोन प्रयोग गर्ने; तीनलाई अल्कोहल र डिस्पोजेबल टावलले स्यानिटाइज गर्ने
  • सबै उपकरणलाई अल्कोहलले सफा गर्ने
  • दुई भन्दा बढीको टोली रिपोर्टिङमा नपठाउने
  • भीडभाड भएको ठाउँमा नजाने
  • बाटोघाटोमा अपर्झट भेटिने मानिससँग अन्तर्वार्ता गर्दा सर्जिकल मास्क लगाउने; अन्तर्वार्ता सकेपछि त्यो मास्क फालिदिने

पिडीएफमा थप बिस्तृतमा यहाँ छ।

अर्को ध्यान दिनुपर्ने महत्वपूर्ण पक्ष पत्रकारको मानसिक स्वास्थ्य हो। जति लेखे वा रिपोर्टिङ गरे पनि स्थिति नसुध्रेको, संक्रमण झन् बढेको, संक्रमितको अवस्था अझ दयनीय बनेको, सरकार उदासीन रहेको जस्ता कुराले पनि पत्रकारको मनोभावमा वेचैनी वा आघात पुग्न सक्छ।

महामारी रिपोर्टिङ शुरु गर्नु अघि, रिपोर्टिङका बेला र रिपोर्टिङ पछि अपनाउनु पर्ने सावधानीका कदमहरू उल्लेख गरी न्यूज सेफ्टी इन्स्टिच्युटले छुट्टै निर्देशिका बनाएको छ। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपीजे) ले सुरक्षा सल्लाहका साथसाथै मूल्यांकनका विधि पनि प्रस्तुत गरेको छ। अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले पनि मिडिया व्यवसायीका लागि स्वास्थ्य निर्देशिका तयार गरेको छ।

अर्को ध्यानदिनु पर्ने महत्वपूर्ण पक्ष पत्रकारको मानसिक स्वास्थ्य हो। जति लेखे वा रिपोर्टिङ गरे पनि स्थिति नसुध्रेको, संक्रमण झन् बढेको, संक्रमितको अवस्था अझ दयनीय बनेको, सरकार उदासीन रहेको जस्ता कुराले पनि पत्रकारको मनोभावमा वेचैनी वा आघात पुग्न सक्छ।

पत्रकारको विपद रिपोर्टिङसम्बन्धी मानिसक स्वास्थ्यका अग्रज ज्ञाता डा एन्थोनी फायन्सटाइनका अनुसार आफूले नियन्त्रण गर्न नसक्ने र नियन्त्रण गर्न सक्ने कुराबारे पत्रकार स्पष्ट हुनुपर्छ। आफूले नियन्त्रण गर्न सक्ने कुरामा ध्यान दिनुपर्छ, जस्तैः तपाईंको काम महत्वपूर्ण हो, तर तपाईंको स्वास्थ्य पनि महत्वपूर्ण हुन्छ; पर्याप्त मात्रामा सुत्नुहोस्, मादक पदार्थ, क्याफिन आदि सेवन नगरेको राम्रो (उचित आहार लिने, कामबाट आवश्यक बिश्राम लिने, समाचार र सामाजिक संझालबाट उन्मुक्ति लिने); गम्भीर प्रकृतिका समाचार वा तस्वीरबाट प्रभावित हुनु सामान्य कुरा हो भनी स्वीकार्ने; सकिन्छ भने केही हिंडडुल गर्ने; बाहिर जान सकिंदैन भने आफूलाई खुसी लाग्ने कुरा गर्ने (मन पर्ने तस्वीर हेर्ने, किताब पढ्ने, हास्य कार्यक्रम हेर्ने, ध्यान गर्ने); परिवार-साथीसँग समय बिताउने, आदि।

डार्ट सेन्टरले मानसिक आघातको लेन्सबाट अरु थुप्रै उपयोगी टिप्स तयार गरेको छ। सेन्टर फर हेल्थ जर्नालिज्मले पनि रिपोर्टिङमा ध्यान दिनु पर्ने कुराहरूको बारेमा जानकारी दिएको छ।

अन्त्यमा, मेरो आफ्नै अनुभवमा, कतिखेर संक्रमित होइन्छ, यसै भन्न सकिँदैन। यत्ति चाहिं भन्न सकिन्छ: समयमै पर्याप्त तयारी गर्ने। डटेर, हिम्मत र आत्मविश्वासका साथ सामना गर्ने।

यो सामग्री मिडिया फाउण्डेसनको कोविड१९ मिडिया आउटरीच कार्यक्रमअन्तर्गत ह्युम्यानिटी युनाइटेडको सहयोगमा तयार गरिएको हो लेखमा व्यक्त गरिएका दृष्टिकोण लेखकका हुन्।

Comments