नेपाली मिडियामा कोभिड-१९ रिपोर्टिङ: रिसर्च यत्रतत्र, समाचार शून्यप्रायः

कोविड-१९का दर्जनौं विषयलाई समेटेर ५० भन्दा बढी वैज्ञानिक रिसर्च पपेरहरु नेपालकै विभिन्न जर्नलहरुमा प्रकाशित भैसकेका छन् ।  तर वैज्ञानिक रिसर्च र पत्रकारिताबीचको खाडल यति ठूलो छ कि यस्तो महत्वपूर्ण जनचासोको बिषयमा गरिएका अनुसन्धानको रिपोर्टिङ नेपाली मिडियामा शुन्यप्राय: छ । किन यस्तो र अब के गर्ने? छत्र कार्कीको बिशेष रिपोर्ट ।   

नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी)को अध्ययन रिपोेर्ट सार्वजनिक गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल । फोटो सौजन्य: एनएचआरसी ।

-छत्र कार्की

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरभित्रै रहेको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र यसलाई छोटकरीमा रिकास्ट भनेर चिनिन्छ विज्ञान तथा प्रविधिको क्षेत्रका व्यावहारिक अनुसन्धानलाई प्राथमिकतामा राख्ने उद्देश्यले यसको स्थापना भएको देखिन्छ । 

पछिल्लो समय मुलुकमा कोभिड-१९ को संक्रमण तीव्र रुपमा बढिरहेका बेला ‘रिकास्ट’ले झन्डै दुई महिना अघिनै (जून २०२०) एउटा नयाँ ‘पिअर रिभ्युड’ जर्नल प्रकाशन सुरु गरेको रहेछ । यसको कन्सेप्ट लकडाउनकै बेला विकास भयो । कोभिड-१९ बारेको रिपोर्टिङमा नेपाली पत्रकारले विज्ञहरु र अनुसन्धान/सोध सामग्रीको प्रयोग के-कसरी गरिरहेका छन् भन्ने विषयमा यो आलेख तयार पार्ने क्रममा मात्र मैले यो कुरा जानकारी पाएँ ।

अप्लाइड साइन्स एन्ड टेक्नोलोजी आनल्स (आस्टा) नाम दिइएको उक्त जर्नल विभिन्न विज्ञ तथा अनुसन्धाताका ३१ वटा रिसर्च पेपर, अनुसन्धानमूलक लेखहरुसहित ‘कोभिड-१९ विशेषांक‘ का रुपमा प्रकाशित भएको छ । कोभिड-१९ महामारीका बीचमा विशेषांकका रुपमा प्रकाशित यो एक मात्र जर्नल रहेको रिकास्टको भनाइ छ।

 ‘तपाईसँगै पहिलोपटक कुराकानी हुँदैछ । जर्नल आर्टिकलमा चासो राखेर लेख्ने पत्रकार कति पो होलान् र!’ — प्रा. डा. रामेश्वर अधिकारी

आस्टाका प्रधान सम्पादक त्रिभुवन विश्वविद्यालयका प्रा. डा. रामेश्वर अधिकारीलाई जिज्ञासा राखेँ, ‘रिकास्टको कोभिड-१९ सम्बन्धी जर्नल प्रकाशन भएपछि यसमा आधारित समाचार बनाउन कुनै पत्रकारले सम्पर्क गरे?’

‘अहँ, छैन ।’

‘अनि, तपाईंहरुले जर्नलका लेखबारे पत्रकारहरुलाई जानकारी दिनुभयो?’ मैले फेरि सोधेँ ।

 ‘तपाईसँगै पहिलोपटक कुराकानी हुँदैछ । जर्नल आर्टिकलमा चासो राखेर लेख्ने पत्रकार कति पो होलान् र!’ अधिकारीले उत्तर दिए ।

‘किन यस्तो अवस्था रहेको?’

‘त्यसमा पत्रकारहरुको मात्र कमजोरी छैन, वैज्ञानिक समुदायले पनि यस्ता विषयवस्तु उनीहरुसमक्ष पुर्याउन सकेका छैनौं ।’  

यत्तिकैमा कुराकानी टुंगियो ।

त्यसपछि ‘आस्टा’ जर्नलका लेखहरु अद्योपान्त हेरेँ । कोभिड-१९ पछि नेपालको स्वास्थ्य, कृषि, परम्परागत जडिबुटी, आयुर्वेद, प्राकृतिक एन्टिभाइरल ड्रग्स, भाइरसको प्रकृति, महामारीमा विज्ञान तथा प्रविधि, नवप्रवर्तन, मनोसामाजिक समस्या आदि विषयगत गहन तथा खोजमूलक लेखहरु समाविष्ट गरिएको रहेछ, जर्नलमा । तर, जर्नल अनलाइनमा राखिएको यस अवधिमा यो अनुसन्धान कार्यबारे कुनै पनि मिडियामा समाचार, लेख प्रकाशित-प्रसारित नभएको प्रधान सम्पादक अधिकारी बताउँछन् ।

नेपालमा कोभिड-१९ को महामारी सुरु भएपछि यस विषयमा कलम चलाउँदै आएका पत्रकारले वैज्ञानिक अनुसन्धान तथा विज्ञहरुका विचारलाई आममानिससमक्ष कसरी पुर्याउँदै आएका छन्, नेपालमा उपलब्ध वैज्ञानिक जर्नलहरु कत्तिको प्रयोग गर्छन्, अन्तर्राष्ट्रिय जर्नलहरुलाई कुन रुपमा उल्लेख गर्छन्, यस्ता सामग्री प्रयोग गर्न के-कस्ता चुनौती रहेका छन्, वैज्ञानिक समुदाय र पत्रकारबीचको दुरी कम गर्न कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा यो आलेख केन्द्रित रहेको छ ।

वैज्ञानिक रिसर्चमा आधारित लेख अत्यन्त न्यून   
हिमालय टेलिभिजनका नेपालगन्ज संवाददाता कृष्ण अधिकारीले विगत पाँच महिना देखि निरन्तर कोभिड-१९बारे स्थलगत रिपोर्टिङ गर्दै आएका छन् । गत वैशाख तेस्रो साता बाँकेको नरैनापुर गाउँको विपन्न मुस्लिम बस्तीमा फैलिएको कोरोना संक्रमणबारे मल्टिमिडिया रिपोर्टिङ गरेका थिए उनले । यस अवधिमा करिब १ सय ४० वटा स्थलगत भिडियो रिपोर्टिङ गरेका उनी अहिलेसम्म आफूले कुनै पनि वैज्ञानिक जर्नल उद्धृत नगरेको बताउँछन् । 

‘नेपालबाट प्रकाशन हुने साइन्टिफिक जर्नल एकदमै थोरै देखेको छु, त्यस्ता जर्नलहरुमा आधारित रहेका समाचार सामग्री पनि त्यति पढेकै छैन,’ कृष्ण सुनाउँछन् । उनको अनुभवमा काठमाडौंबाहिर जर्नलहरु अध्ययन गरेर समाचार लेख्ने प्रवृत्ति पत्रकारहरुमा छैन भन्दा पनि हुन्छ ।

उनले चाहिँ कोभिड-१९ रिपोर्टिङका क्रममा यस विषयको नयाँ ‘ट्रेन्ड’ बारे जानकारी राखिरहने विज्ञ डाक्टरहरुलाई भने भरपर्दो स्रोत बनाएका छन् । भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा लेख प्रकाशित गरिसकेका र कोभिड-१९ बारे अपडेट भइरहने डाक्टरहरुको संगतले आफूलाई रिपोर्टिङमा सजिलो भएको उनको अनुभव छ ।

कृष्णका विचारमा रिपोर्टिङका क्रममा गरिने फिल्ड स्टडीले पनि धेरै कुरा थाहा पाउन सजिलो हुन्छ। ‘फिल्डमा आफूले गर्ने अवलोकन, स्वास्थ्यकर्मीसँगको कुराकानी र सिडिओको अध्यक्षतामा गठित कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटीबाट जानकारी लिएर रिपोर्टिङ गर्दै आएको छु,’ उनले भने । नेपालमा मेडिकल रिसर्चसम्बन्धी सामग्री अधिकांश पत्रकारहरुको पहुँचमा नरहेको उनी बताउँछन् ।

अरु देशका रिसर्चको सहारा   
केही पत्रकारले कोभिड-१९ को रिपोर्टिङ गर्दा अन्तर्राष्ट्रिय जर्नल तथा विज्ञहरुलाई कोट गरेर पनि समाचार लेख्ने गरेका छन् । यसरी अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित विषयवस्तुलाई पृष्ठभूमिका रुपमा नेपालको स्टोरीसँग जोड्दा प्रभावकारी हुने उनीहरुको बुझाइ छ ।

इकान्तिपुर डटकमकी संवाददाता बुनु थारुले २०७६ साल माघ ९ गते नेपालमा कोरोना भाइरसको पहिलो केस देखिएपछि यससम्बन्धी रिपोर्टिङ निरन्तर गर्दै आएकी छन् । उनले कोभिड-१९ सम्बन्धी स्टोरी लेख्दा पाएसम्म साइन्टिफिक जर्नल ‘फलो’ गर्ने गरेकी छन् । कतिपय अवस्थामा नेपालको स्टोरी लेख्दा कोरोना भाइरसको बारेमा विश्वभर भइरहेका रिसर्चलाई समेट्ने गरेकी छन् ।

अन्तर्राष्ट्रिय जर्नलमा नेपालको कोभिड-१९ को ‘ट्रेन्ड’ विश्लेषणबारे एकदमै थोरै सामग्री पाइने गरेको उनको अनुभव छ । तर, नेपालका जर्नलमा आएका ‘रिसर्च आर्टिकल’ आफूले थोरै फेला पारेको र केही मात्रामा त्यसको प्रयोग भएको छ । आफूले लान्सेट, साइन्स डाइरेक्ट डटकमलगायत अन्तर्राष्ट्रिय जर्नलका आर्टिकललाई ‘कोट’ गरेर नेपाली सन्दर्भअनुसार स्टोरी तयार पार्ने गरेको उनको भनाइ छ ।

वैशाख पहिलो साता सिएनएन, बीबीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार आए दक्षिण कोरियामा कोरोना संक्रमित भएर निको भएका व्यक्तिमा फेरि उस्तै लक्षण देखियो । विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीलाई उद्धृत गर्दै लकडाउन जारी रहेका बेला नेपाली अखबारमा छापिएका यस बारेका समाचारले झनै अन्योलको अवस्था सृजना गर्यो ।

वैशाख १३, २०७७ मा थारुको इकान्तिपुर डटकममा छापिएको ‘के निको भइसकेका व्यक्तिमा फेरि कोरोना संक्रमण देखिन सक्छ?‘ शीर्षक समाचारमा अन्तर्राष्ट्रिय जर्नल तथा विज्ञहरुलाई अधिकतम कोट गरिएको छ। यसबारे नेपालका विज्ञहरुको रिसर्च आर्टिकल उल्लेख नगरिए पनि सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ राखिएको छ ।

उक्त लेखमा मेडिकल न्युज टुडे, फ्रेन्च रिसर्च इन्स्टिच्युट, बर्गिङघम युनिभर्सिटी अफ माइक्रोबायोलोजीलगायत अन्तर्राष्ट्रिय जर्नल आर्टिकल उद्धृत गरिएको छ । यसैगरी, अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक आन्थोनी फाउचीले एउटा अनुसन्धानको उदाहरण दिँदै न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा विचार राखेका छन् भनि उक्त लेखमा जनाइएको छ । थारुले फाउचीलाई यसरी उद्धृत गरेकी छन्- ‘कोभिड-१९ को संक्रमणबाट निको भइसकेको जो मानिस छन्, उनीहरुमा केही महिनासम्मका लागि रोग प्रतिरोधात्मक क्षमता विकास भएको हुन्छ ।’  थप, भ्रम निवारणका लागि उनले ‘निको भइसकेको व्यक्तिलाई पुनः कोरोना संक्रमण देखिन्छ कि देखिँदैन भन्ने थाहा पाउन अझै अध्ययन गर्नुपर्ने’ भन्ने विश्व स्वास्थ्य संगठनको भनाइ पनि राखेकी छन् ।

‘ओरिजिनल आर्टिकल’ थोरै आउँछन्   
स्वास्थ्य मन्त्रालयअन्तर्गतको नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी) ले वर्षमा चारवटा अंक जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल प्रकाशित गर्दै आएको छ । पछिल्लो समय काउन्सिलले कोभिड-१९ सँग सम्बन्धित अनुसन्धानमूलक लेखलाई प्राथमिकतामा राख्दै आएको छ । काउन्सिलले प्रकाशन गरेको जर्नल (अंक ४७) अप्रिल-जुन, २०२० मा पनि १२ वटा कोभिड-१९ सँग सम्बन्धित आर्टिकल छन् ।

कोभिड-१९ रिसर्च पेपर समेटेर नेपालबाट प्रकाशित केहि प्रमुख वैज्ञानिक जर्नल । तस्बीर: जर्नल कभरहरु ।  

 

जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिलका प्रधान सम्पादक डा. गणेश दंगाल पछिल्लो समय कोभिड-१९ सम्बन्धी धेरै आर्टिकल आउन थालेको बताउँछन् । ‘कोभिड-१९ सँग सम्बन्धित स्वास्थ्य, मनोसामाजिक समस्या, वैज्ञानिक अनुसन्धान, परम्परागत औषधि, प्रतिरोधात्मक क्षमतालगायत विषयका आर्टिकल बढी आउँछन् । अन्यत्र जुन विषय चलेका छन्, तिनै विषयलाई स्थान परिवर्तन गरेर लेख्ने ‘ट्रेन्ड’ बढ्दो छ । नेपालकै खोजमा आधारित मौलिक लेखहरु चाहिँ थोरै हुन्छन्,’ डा. दंगाल भन्छन् ।  

नेपालबाटै वैज्ञानिक जर्नलहरु प्रकाशित भइरहे पनि ती अधिकांश पत्रकारहरुको पहुँचमा छैनन् । यस्ता सामग्रीले त्यत्ति महत्व पाउन सकेका छैनन् । ती जर्नलमा प्रकाशित आर्टिकलहरुलाई समाचारको रुपमा प्रयोग हुन नसकेको यथार्थ भने पत्रकारले स्वीकार गर्नुपर्ने हुन्छ ।

हुन पनि कोभिड-१९ कै सन्दर्भमा नेपालको परिवेशमा आधारित रिसर्च लेखहरु पर्याप्त नभएको गुनासो छ । चीनमा उहानबाट गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोना भाइरस विश्वभर फैलँदा त्यसको प्रभाव उस्तै छ कि परिवर्तन भयो, नेपाल र अमेरिकामा छुट्टाछुट्टै देखिएको कोरोना भाइरसको स्वभावमा परिवर्तन आयो कि आएन, यस्ता विषयमा नवीनतम ढंगले अनुसन्धान गरिएका मौलिक लेख जरुरी रहेको डा. दंगाल औंल्याउँछन् ।

नेपालबाट वैज्ञानिक जर्नलहरु प्रकाशित भइरहे पनि ती अधिकांश पत्रकारहरुको पहुँचमा छैनन् । स्वास्थ्य मन्त्रालय, नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी) बाट प्रकाशित जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिलमा कोभिड-१९ सम्बन्धी विभिन्न रिसर्च पेपरहरु समेटिएको हुन्छ, जुन समाचार बनाउन लायक हुन्छन् । त्रिवि माइक्रो बायोलोजी विभाग, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, पाटन अस्पताल, वीर अस्पताल आदिबाट प्रकाशित हुने जर्नलमा पनि कोभिड-१९ सम्बन्धी उपयोगी रिसर्च आर्टिकल छापिने गरेका एनएचआरसीले उल्लेख गरेको छ ।

नेपालबाट प्रकाशित अधिकांश जर्नलहरुलाई नेपाल जर्नल्स अनलाइन (नेप्जोल)मा राखिएको छ । यस डाटाबेसमा नेपालभरिबाट प्रकाशित १ सय ८५ वटा जर्नलहरु अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको छ । नेप्जोल डट इन्फोको व्यवस्थापन त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयले गर्दै आएको छ । यसमा जर्नल अफ नेपाल फिजिकल सोसाइटी, नेपाल जर्नल अफ न्युरोसाइन्स, नेपाल जर्नल अफ एन्भाइरोन्मेन्टल साइन्स, एप्लाइड साइन्स एन्ड टेक्नोलोजी आनल्स (आस्टा)लगायत  विभिन्न जर्नल राख्ने गरिएको छ ।     

बिदेशबाट प्रकाशित हुने जर्नलहरुमा पनि नेपालको कोविद-१९ अवस्था र बिषयबारे दर्जनौं पेपर छापिइसकेका छन् । यस्ता रिसर्च पेपर गूगल स्कलरमा पनि सर्च गर्न सकिन्छ ।  

नेपालबाटै वैज्ञानिक जर्नलहरु प्रकाशित भइरहे पनि ती अधिकांश पत्रकारहरुको पहुँचमा छैनन् । केही पत्रकारले यस्ता जर्नलहरुलाई ‘फलो’ गरेर समाचार बनाए पनि यस्ता सामग्रीले त्यत्ति महत्व पाउन सकेका छैनन् । तसर्थ, नेपालमा वैज्ञानिक जर्नल नै छैनन् भन्ने तर्क उचित देखिँदैन । बरु, ती जर्नलमा प्रकाशित आर्टिकलहरुलाई समाचारको रुपमा प्रयोग हुन नसकेको यथार्थ भने पत्रकारले स्वीकार गर्नुपर्ने हुन्छ ।

अनुसन्धाता र पत्रकार बीचको ‘ग्याप’ घटाउन पहल   
डा. दंगालको विचारमा पछिल्लो समय वैज्ञानिक अनुसन्धाता र पत्रकारबीचको ‘ग्याप’ घट्दै गएको छ । कतिपय पत्रकारले नेपाल हेल्थ रिसर्च काउन्सिलको जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेखहरुको बारेमा चासो राखी त्यसमा आधारित रहेर समाचार तथा फिचर लेख्दै आएका छन् । ‘जर्नलमा कोभिड-१९ सम्बन्धी केकस्ता अनुसन्धानमूलक आर्टिकल छन्, त्यसबाट केही चाखलाग्दा समाचार बनाउन सकिन्छ कि भन्नेमा पत्रकार चनाखो रहन थालेका देखिन्छन्,’ उनी भन्छन् ।

जर्नलमा छापिएका लेखहरुमा महत्वपूर्ण विषयवस्तुलाई सार्वजनीकरण गर्न काउन्सिलले कम्युनिकेसन विभाग पनि स्थापना गरेको छ । उक्त विभागले बेलाबेलामा स्वास्थ्य पत्रकारसँग अन्तर्क्रिया गर्दै आएको छ । 

अन्य विधामा रिपोर्टिङ गर्दै आएका पत्रकारलाई अनुसन्धानमूलक लेखहरु बुझ्न केही गाह्रो हुने देखिए पनि स्वास्थ्य बिटमा काम गर्दै आएका पत्रकारलाई त्यस्तो समस्या नहुने उनको भनाइ छ । जर्नलमा छापिएका लेखहरुमा महत्वपूर्ण विषयवस्तुलाई सार्वजनीकरण गर्न काउन्सिलले कम्युनिकेसन विभाग पनि स्थापना गरेको छ । उक्त विभागले बेलाबेलामा स्वास्थ्य पत्रकारसँग अन्तर्क्रिया गर्दै आएको छ । कान्तिपुर, नागरिक, नयाँ पत्रिकालगायत अखबारका साथै टेलिभिजन तथा अनलाइन मिडियामा बेलाबेलामा अनुसन्धानमा आधारित लेख तथा फिचर छापिनु सकारात्मक रहेको दंगालको भनाइ छ ।

भाइरसको वंशाणुगत संरचनाबारे अध्ययन   
सन् २०१९ डिसेम्बरदेखि चीनको हुवेई प्रान्तको उहान सहरबाट सुरु भएको कोभिड-१९ संक्रमण नौ महिनाको अवधिमा विश्वभर फैलिसकेको छ। चीन, अमेरिका अनि युरोप, भारत र नेपालका कोरोना संक्रमित व्यक्तिमा देखिने लक्षण उस्तै नरहेको पाइएको छ । त्यही भएर इन्ट्रेपिड डायगोनोस्टिक सेन्टरसँगको सहकार्यमा नेपाल हेल्थ रिसर्च काउन्सिलले कोरोना भाइरसको वंशाणुगत संरचनाबारे तथ्य पत्ता लगाउन हालै अनुसन्धान सुरु गरेको छ ।

काउन्सिलले गर्न लागेको यही रिसर्चमा केन्द्रित रहेर साउन २७, २०७७ को नागरिकन्युजमा श्रीराम सुवेदीले ‘के नेपालमा देखिएको कोरोना भाइरस अरु देशको भन्दा फरक छ?‘ शीर्षकमा लेखेको समाचार प्रकाशित भएको छ । यो समाचार तयार पार्दा सुवेदीले काउन्सिलका सदस्य सचिव, वरिष्ठ अनुसन्धान अधिकृत, भाइरोलोजिस्ट आदिको भनाइ राखेका छन् ।

नेपालमा आएको कोरोना भाइरस अन्य मुलुकको भन्दा कडा वा नरम छ भन्ने जिज्ञासा आममानिसमा छ । यस्तो सार्वजनिक चासोको विषयमा सुवेदीले तयार पारेको समाचारमा सबै अंगलाई ध्यान दिइनुको साथै भाषाशैली सजिलो र बुझ्न सकिने खालको छ ।

‘काउन्सिलको यो अनुसन्धानले नेपालमा आइपुग्दा कोरोना भाइरसमा उत्परिवर्तन (म्युटेसन) भएको छ कि छैन? अन्य स्थानका भाइरसको जेनेटिक सिक्वेन्स नेपालमा पाइने भाइरसभन्दा फरक छ कि छैन? जस्ता प्रश्नको उत्तर खोज्ने छ,’ सुवेदीले लेखमा उल्लेख गरेका छन् । लेखका अनुसार अनुसन्धान पद्धति पनि विशिष्ट खालको छ । अनुसन्धानका क्रममा विश्वका विभिन्न देश अनि हटस्पट मानिएका स्थानबाट नेपाल आएका, लक्षण देखिएका तथा नदेखिएका बिरामीको स्वाबको अध्ययन गरिन्छ। यसरी अध्ययन गर्दा उमेर र लिंगलाई ख्याल राखिनेछ । निश्चय पनि सबैको चासो रहेको बिषयमा केन्द्रित यो महत्वपूर्ण अनुसन्धान नेपाली पत्रकारका लागि निरन्तर फलो-अपको बिषय हो । 

सुवेदीको लेख प्रतिनिधि उदाहरण मात्र हो । कोभिड–१९ संक्रमणसम्बन्धी विभिन्न फिचर लेखहरु अन्य मिडियामा पनि प्रकाशित हुने गरेका छन् । बीबीसी नेपाली सेवाको अनलाइनमा २२ मे, २०२० मा ‘कोरोना भाइरस नेपालः कोभिड–१९ र सम्बन्धित विषयमा नेपाली वैज्ञानिक कस्तो अनुसन्धान गर्दैछन्?’ भन्ने विषयमा फिचर छापिएको छ । उक्त लेखमा नेपाली वैज्ञानिकले गरेको अनुसन्धानको पाटोलाई केलाउने जमर्को गरिएको छ ।  

यो फिचरमा सान्दर्भिक साइन्टिफिक जर्नलको आर्टिकललाई कतै कोट नगरिए पनि विज्ञहरु र स्वास्थ्य संस्थाका पदाधिकारीहरुसँग कुराकानी गरेर नेपाली अनुसन्धाताले गरिरहेका कामको आँकलन गर्न खोजिएको छ ।

कोभिड-१९ समाचारमा एजेन्सीको भर   
नेपालमा २०७६ माघ ९ मा पहिलोपटक चीनबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । त्यसको दुई महिनापछि मात्र नेपालमा संक्रमणको दोस्रो केस देखा पर्यो । सुरुका दिनमा कोभिड-१९ मा रिपोर्टिङ गर्ने पत्रकारले फिल्ड रिपोर्टिङमा जोड दिन्थे । सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन सुरु गरेपछि पत्रकारले फिल्डमा गएर रिपोर्टिङ गर्ने क्रम बन्द भयो । त्यसपछि टेलिफोन, भाइबर, म्यासेन्जर, फेसबुक लाइभलगायत माध्यमबाट पत्रकारले समाचार खोज्नुपर्ने अवस्था सिर्जना भयो ।

लकडाउनको अवधिमा रिसर्चमा आधारित कोरोना भाइरससम्बन्धी आर्टिकलभन्दा पनि अन्य स्रोतमा आधारित बढी समाचार तथा फिचर नेपाली मिडियामा छापिए ।

कान्तिपुर दैनिकका समाचार सम्पादक श्रीश भण्डारी कोभिड-१९ को महामारी सुरु भएपछि विकसित भएका परिस्थिति अनुसार समाचारको प्राथमिकता फरक-फरक पर्दै गएको जानकारी दिन्छन् । ‘सुरुमा चीनको उहान सहरमा कोभिड-१९ को महामारी देखिँदा यसलाई नेपालमा आउँदैन जस्तो गरी हेरियो, कतिपय नेताहरुले त नेपालीको इम्युनिटी पावर बलियो छ, केही हुँदैन भन्ने जस्तो प्रतिक्रिया दिएर यसलाई बेवास्ता गर्न खोजे । तर, हामीले चाहिँ विज्ञहरुका कुरालाई ध्यान दिएर लेखिएका समाचारलाई प्राथमिकतामा राख्यौं,’ भण्डारी भन्छन्, ‘त्यसपछि आइसोलेसन, क्वारेन्टिन, सतर्कता आदिबारे समाचारमा केन्द्रित भयौं, डब्लुएचओको गाइडलाइनका आधारमा स्वास्थ्य मन्त्रालयकै सूचना र जानकारी मुख्य स्रोत बन्न पुग्यो ।’ अहिले पनि अधिकांश मिडियाले हरेक दिन स्वास्थ्य मन्त्रालयले गर्दै आएको प्रेस ब्रिफिंङमा दिइने कोभिड-१९ सम्बन्धी सूचनालाई समाचारको मुख्य आधार बनाउँदै आएका छन् । 

त्यसबेला कोरोना भाइरसको औषधिबारे यहाँका मिडियामा छापिएका अधिकांश समाचारमा एजेन्सीलाई कोट गरिएको उनको भनाइ छ । उनका अनुसार लकडाउनको अवधिमा रिसर्चमा आधारित कोरोना भाइरससम्बन्धी आर्टिकलभन्दा पनि अन्य स्रोतमा आधारित बढी समाचार तथा फिचर नेपाली मिडियामा छापिए ।

पत्रकारले नेपालमा रहेका जनस्वास्थ्य विज्ञ तथा भाइरोलोजिस्टसँग कुराकानी गरेर समाचार बनाए । विदेशमा रहेका नेपाली विज्ञहरुसँग पनि भर्चुअल माध्यमबाट अन्तर्वार्ता गरेर सूचना र जानकारी संकलन गरियो । ‘नेपालका साइन्टिफिक जर्नलमा छापिएका कोभिड-१९ सम्बन्धी रिसर्च आर्टिकललाई आधार बनाएर कान्तिपुर, काठमाडौं पोस्टलगायत काअखबारमा त्यति धेरै समाचार तथा फिचर छापिएको मलाई ख्याल छैन । पत्रकारहरुमा त्यस्ता जर्नल खोजेर हेर्ने ट्रेन्ड पनि रहेको देखिँदैन,’ भण्डारी भन्छन् ।

बैज्ञानिक बिधि अपनाएर तयार गरिएका रिसर्च सामग्रीले यथाअवस्थाको वस्तुपरक विश्लेषण र भविष्यको दिशा आँकलन गर्ने हुँदा त्यस्ता रिसर्चले पत्तो लगाउने सानो तिनो नयाँ ज्ञान पनि महत्वपूर्ण हुने गर्छ । जस्तो कि, नेपालमा देखिएको कोरोना भाइरसको पहिलो केसबारे सन् २०२० मार्च (माघ २७, २०७६) मै बेलायतबाट प्रकाशित हुने दि लान्सेट  जर्नलमा एउटा छोटो रिपोर्ट सामग्री छापियो । अनुप बाँस्तोला, रंजित साह, अल्फन्सो रोड्रिगज-मोरेल्सलगायत दर्जन लेखकद्वारा लिखित उक्त लेखमा उल्लेखिक संक्रमितमा देखिएका क्लिनिकल तथ्यहरुको विवरण दिइएको थियो । त्यसबेला ती विवरणको ठूलो समाचार मूल्य थियो ।

पत्रकारितामा तथ्यगत र प्रामाणिक स्रोतको महत्वमा बिशेष जोड दिने चलन छ तर यस्ता सामग्री हामीकहाँ बिरलै मात्र समाचारका विषयवस्तु बन्ने गरेका छन् ।  दि लान्सेटमा नेपालको पहिलो संक्रमितको क्लिनिकल बिवरण आएको झन्डै दुई महिना (चैत्र २२, २०७६) पछि इकान्तिपुर डटकमकी संवाददाता बुनु थारुले ती पहिलो कोरोना संक्रमितसँग कुराकानी गरेर फिचर तयार गरेकी थिइन् । स्पस्ट छ, तत्काल समाचारको बिषय नबने पनि जर्नलमा प्रकाशित संक्रमितको अनुभवमा आधारित उक्त ‘क्लिनिकल फाइनडिंङ’ पहिलो केसको सम्बन्धमा जहिले पनि प्रामाणिक अनि पूरक श्रोतको रूपमा सान्दर्भिक छ ।

पहुँच र भाषा बुझ्न चुनौती   
समाचार सम्पादक भण्डारीको विचारमा साइन्टिफिक रिसर्च प्रकाशन वा जर्नलमा समाचार गृहका अधिकांश रिपोर्टरको पहुँच छैन । मिडिया हाउसले पनि पुस्तकालयमा त्यस्ता जर्नल ल्याउने वा अनलाइन एक्सेस लिने गरेको देखिँदैन। ‘लकडाउनयता कोभिड-१९ सम्बन्धी दैनिक ८० प्रतिशतभन्दा बढी समाचार छापिने गरे पनि वैज्ञानिक अध्ययन-अनुसन्धानमा आधारित समाचार भने नगन्य छन्,’ उनी भन्छन् ।

वैज्ञानिक जर्नलमा छापिएका लेखहरुमा प्राविधिक शब्दावलीको प्रयोग अत्यधिक हुन्छ । त्यही भएर पनि त्यस्ता विषयवस्तु बुझेर लेख्नसक्ने दक्षता पत्रकारमा हुँदैन । अर्कोतर्फ, अधिकांश जर्नल अंग्रेजी भाषामा हुने भएकाले सबै पत्रकारले त्यसलाई सहजै बुझ्न सक्दैनन् । अंग्रेजीमा भाषिक दक्षताको अभावले गर्दा पनि जर्नल आर्टिकललाई पत्रकारले एकदमै कम मात्रामा प्रयोग गर्ने गरेको भण्डारीको ठम्याइ छ ।

वैज्ञानिक जर्नलमा छापिएका लेखहरुमा प्राविधिक शब्दावलीको प्रयोग अत्यधिक हुन्छ । त्यही भएर पनि त्यस्ता विषयवस्तु बुझेर लेख्नसक्ने दक्षता पत्रकारमा हुँदैन । अर्कोतर्फ, अधिकांश जर्नल अंग्रेजी भाषामा हुने भएकाले सबै पत्रकारले त्यसलाई सहजै बुझ्न सक्दैनन् ।

सेतोपाटी अनलाइनका सम्पादक सुदीप श्रेष्ठका अनुसार विदेशबाट छापिने साइन्टिफिक जर्नल नेपाली पत्रकारले सहज पाउने वातावरण छैन । त्यही भएर पनि नेपाली मिडियामा प्रत्यक्ष जर्नललाई कोट गरेर समाचार बनाउनुभन्दा पनि सेकेन्डरी स्रोत (विदेशी न्युज एजेन्सी) मा निर्भर रहनुपर्ने स्थिति छ ।

जर्नलका लेखहरुमा प्रयोग भएका प्राविधिक शब्दहरुको बुझाइमा फरक पर्ने भएकाले अर्थको अनर्थ लाग्न सक्छ। त्यही भएर त्यस्ता विषयलाई सरलीकरण गर्न कोही विज्ञलाई सोध्नैपर्ने हुन्छ । ‘तर, पत्रकारमा पनि यसरी सोधीखोजी गर्ने धैर्यता हुँदैन, घटना र मान्छे भेटेर समाचार लेख्ने बानी परिसकेको पत्रकारले यस्ता काममा नीच मार्छन्, जुन कमजोरी हो,’ श्रेष्ठ भन्छन्, ‘अनुसन्धाताले पनि जर्नलमा मेरो लेख आयो है भनी पत्रकारलाई खबर गर्ने चलन रहेको देखिँदैन । त्यही भएर पनि साइन्टिफिक रिसर्चर र पत्रकारबीच खाडल छ।’ 

हरेक विधाको आफ्नै शैली हुन्छ। जर्नल आर्टिकललाई पठनीय बनाउन नसक्दा सामग्री सतही र फितलो हुने गरेको पनि पाइन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) की युवा वैज्ञानिक डा. टिस्टा प्रसाईं भन्छिन्, ‘विज्ञानको औपचारिक अध्ययन नगरेका पत्रकारमा यस विषयको ज्ञान कम हुने भएकाले विषयवस्तुलाई तथ्यपरक र पठनीय बनाउन समस्या भएको पाइन्छ । वैज्ञानिकहरु पनि आफूले दिएको कन्टेन्ट उल्टोपाल्टो होला भन्ने डरले पत्रकारसँग खुल्न चाहँदैनन् । वास्तवमा, समस्या यहीँनेर छ।’

सेतोपाटी अनलाइनले साइन्टिफिक आर्टिकलको निचोडलाई सेकेन्डरी स्रोतबाट मात्रै प्रयोग गर्ने गरेको श्रेष्ठको भनाइ छ । ‘बीबीसी, न्युयोर्क टाइम्सको साइन्ससम्बन्धी स्तम्भलाई निरन्तर फलो गर्छौ, जहाँ अन्तर्राष्ट्रिय जर्नलबाट खोजमूलक समाचार तयार गरिएको हुन्छ । कोभिड-१९ को सवालमा पनि हामीले त्यस्ता स्तम्भबाट नियमित अनुवाद गरेर वैज्ञानिक लेख राख्ने गरेका छौं,’ श्रेष्ठ थप्छन् । कोभिड-१९ को बारेमा नेपाली सन्दर्भका जर्नल आर्टिकल अहिलेसम्म उनले देखेका छैनन् ।

नेपालबाट प्रकाशित जर्नल आर्टिकललाई अहिलेसम्म आफूले फलो नगरेको उनी स्पष्ट पार्छन् । ‘नेपाली जर्नल प्रकाशकहरुले पनि आर्टिकलबारे मिडियालाई जानकारी दिनुपर्छ, स्वयं अनुसन्धाताले पनि आफूले गरेको कामबारे पत्रकारलाई बताउनुपर्छ,’ उनी सुझाव दिन्छन् ।

विदेशी जर्नलमा आएको चाखलाग्दो अनुसन्धानलाई नेपाली सन्दर्भमा जोडेर फिचर तयार गरेको उनी उल्लेख गर्छन् । दुई महिनाअघि एक अन्तर्राष्ट्रिय जर्नलमा गम्भीर अवस्थामा पुगेका कोभिड-१९ का बिरामीको लागि भेन्टिलेटर उपलब्ध नभएको अवस्थामा कोल्टे फर्काएर सुताउँदा जोखिमबाट बचाउन सकिने खोजसहितको आर्टिकल भेटियो ।

उक्त तथ्यलाई आधार बनाएर उनले नेपाली डाक्टर र विज्ञरुसँग कुराकानी गरी फिचर तयार पार्न लगाए । सेतोपाटीमा छापिएको त्यो फिचर धेरैले मन पराएका उनी जनाउँछन् ।

कोभिड-१९ रिपोर्टिङमा वैज्ञानिक विधि किन?   
कोभिड-१९ का विषयवस्तुबारे वैज्ञानिक रिपोर्टिङ गर्न वैज्ञानिक रिसर्च, जर्नलहरुको अध्ययन वा प्रयोग, र विषयगत दक्षता भएका विज्ञसँग कुराकानी र अन्तर्वार्ता आवश्यक पर्ने यस क्षेत्रमा रिपोर्टिङ गर्दै आएका पत्रकारले महसुस गर्न थालेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), नेपाल सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गतको नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी), नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायत निकायले आधिकारिक अनुसन्धान गरी प्रकाशित गरेका आर्टिकललाई सन्दर्भ सामग्री मान्नुपर्छ ।

नेपाल फोरम अफ साइन्स जर्नालिस्ट (एनएफएसजे) का अध्यक्ष लक्ष्मण डंगोल साइन्टिफिक आर्टिकलमा आधारित भएर विषयगत वैज्ञानिक विचार समेटी तयार पारिएका समाचार विश्वसनीय हुने धारणा राख्छन् । ‘जर्नल भन्नेबित्तिकै सबै एउटै हुँदैनन्, त्यही भएर तिनीहरुको विश्वसनीयता तथा प्रभावकारितालाई ख्याल गर्नुपर्छ,’ डंगोल भन्छन्, ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय जर्नलका आर्टिकलबाट पत्रकारले प्रभावकारी समाचार तयार पार्न सक्छन्।’

रिसर्च आर्टिकललाई विज्ञहरुले वस्तुपरक ढंगले ‘पिअर रिभ्यु’ गर्ने भएकाले त्यसबाट आएको ज्ञानलाई परिस्कृत र प्रामाणिक रुपमा लिइन्छ । यिनमा आधारित समाचारले पत्रकारिताकै विश्वसनीयताको अभिवृद्धि हुन्छ ।

यसरी वैज्ञानिक अनुसन्धानमा आधारित लेख वस्तुपरक हुने भएकाले तिनीहरुबाट तथ्यपरक सन्देश दिन सकिने उनको भनाइ छ । रिभोसाइन्सका सम्पादकसमेत रहेका डंगोलले बीबीसी नेपाली सेवामा विज्ञान संवाददाता भएर काम गरिसकेका छन् ।

कोरोना भाइरसको प्रकृति तथा यसविरुद्धको भ्याक्सिनबारे उपलब्ध तथ्यमध्ये वैज्ञानिक अनुसन्धानबाट उपलब्ध तथ्यलाई विश्वसनीय मान्नुपर्छ । रिसर्च आर्टिकललाई विज्ञहरुले वस्तुपरक ढंगले ‘पिअर रिभ्यु’ गर्ने भएकाले त्यसबाट आएको ज्ञानलाई परिस्कृत र प्रामाणिक रुपमा लिइन्छ । यिनमा आधारित समाचारले पत्रकारिताकै विश्वसनीयताको अभिवृद्धि हुन्छ ।  

तथापि, राजनीतिक अभीष्ट परिपूर्तिका लागि नेताहरुले कोभिड-१९ का विषयवस्तुलाई आफ्नो ढंगले अपव्याख्या गर्ने गरेको राजनीतिक विश्लेषक भीम भूर्तेलको भनाइ छ । ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि नेपालका प्रधानमन्त्री केपी ओलीसम्मले कोरोनालाई राजनीतीकरण गरिरहेका छन् । ट्रम्पले कोरोनालाई चिनियाँ भाइरसको संज्ञा दिनु, ओलीले भारतीय भाइरस कडा हुन्छ भन्नु राजनीतिक अभिव्यक्ति हो, यो अनुसन्धानबाट प्रमाणित तथ्य होइन,’ उनी भन्छन् । नेतृत्वमा बसेका व्यक्तिले हचुवाका भरमा बोल्दा क्षणिक रुपमा उनीहरुले आफूलाई फाइदा पुगेको ठाने पनि आखिरमा यसले आमजनतामा अफवाह फैलाउँछ ।

वैज्ञानिक रिसर्च किन कम प्रयोग?   
डंगोलका विचारमा अधिकांश पत्रकारहरुलाई के-कस्ता वैज्ञानिक रिसर्च भइरहेको छ भन्ने जानकारी हुँदैन । पत्रकारहरुको पनि रिसर्चलाई ‘फलो’ गर्ने बानी हुँदैन । छापिएका जर्नलमा पनि उनीहरुको पहुँच हुँदैन । ‘विज्ञान पढेको पत्रकारलाई सजिलो हुन सक्ला। तर, धेरैजसो पत्रकारलाई वैज्ञानिक रिसर्च आर्टिकल पढ्न र बुझ्न कठिन हुन्छ, त्यहाँ प्रयोग भएका प्राविधिक शब्दावलीको गलत प्रयोग हुनसक्छ,’ उनी भन्छन्, ‘त्यस्ता अप्ठ्यारा विषयवस्तुमा स्पष्ट हुन पत्रकारहरुले मुख्य अनुसन्धातासँग भेटघाट वा टेलिफोन, इमेलबाट संवाद गरेको एकदमै बिरलै भेटिन्छ ।’ यही ‘ग्याप’ ले गर्दा पत्रकारले दिनहुँ गर्ने रिपोर्टिङमा विज्ञान, अनुसन्धान र वैज्ञानिक विधिको न्यून प्रयोग भएको उनको धारणा छ ।

 त्यसो त राजनीतिक घटनाका छायाँले अन्य विषयका समाचारलाई ओझेलमा पार्ने गरेको हाम्रो सन्दर्भमा अनुसन्धानमूलक आलेखलाई उच्च प्राथमिकतमा राखेको देखिँदैन ।

पत्रकारले दैनिक रिपोर्टिङ गर्दा डेडलाइनको पालना तथा घटनापरक न्युजलाई चाँडै ब्रेकिङ गर्नुपर्ने बाध्यता रहेको देखिन्छ । यसले गर्दा पनि हुनसक्छ उनीहरुले वैज्ञानिक रिसर्चका गहन लेखहरुलाई समय दिएको पाइँदैन । त्यसो त राजनीतिक घटनाका छायाँले अन्य विषयका समाचारलाई ओझेलमा पार्ने गरेको हाम्रो सन्दर्भमा अनुसन्धानमूलक आलेखलाई उच्च प्राथमिकतमा राखेको देखिँदैन ।

अनुसन्धानमा पत्रकारको नियमित ‘फलो’ छैन   
नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी)ले कोभिड-१९ सम्बन्धी विभिन्न रिसर्च गर्दै आए पनि पत्रकारले तिनको नियमित फ्लोअप गरेको देखिँदैन । यस्तो अवस्था रहेमा कोरोना भाइरसँग सम्बन्धित महत्वपूर्ण अनुसन्धान सम्पन्न भइसके पनि रिसर्चबाट पत्तो लगेको कुरा समाचार मिडियामा नआउने हुन्छ ।

नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी)का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीका अनुसार महामारी सुरु भएयता कोभिड–१९ सम्बन्धी अनुसन्धानका लागि मुलुकभरबाट आएका १ सय ४० प्रस्तावलाई काउन्सिलले अनुमोदन गरिसकेको छ। एनएचआरसीले आफ्नै पहलमा २१ वटा प्रस्ताव स्वीकृत  गरी अनुसन्धान अगाडि बढाएकोमा ७ वटा रिसर्च सम्पन्न भएर जर्नल अफ नेपाल हेल्थ रिसर्च काउिन्समा आर्टिकलसमेत छापिइसकेका छन् । ८ वटा अनुसन्धान निक्कै अगाडि बढिसकेको र बाँकी अनुसन्धान पनि सुरु भइसकेको डा. ज्ञवालीले जानकारी दिए ।

अनुसन्धान पूरा भएका विषयमा जसरी मिडियामा लेख आउनुपथ्र्यो, त्यस्तो हुन सकेको छैन ।

‘अहिले प्रकाशित भइसकेका रिसर्च आर्टिकल अस्पताल र कार्यस्थलमा देखिएका असहजता, मनोवैज्ञानिक समस्या, क्वारेन्टिनको स्थिति, कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको मानसिक अवस्था, विदेशबाट फर्किएका व्यक्तिमा देखिएको कोरोनाको लक्षण आदिमा केन्द्रित रहेका छन्,’ डा. ज्ञवाली भन्छन्, ‘अहिले भइरहेका रिसर्चमा प्रतिरोधात्मक क्षमता बढाउने परम्परागत जडिबुटी र आयुर्वेदिक औषधि, भाइरसको प्रकृति आदि विषयलाई समेटिएको छ।’ अनुसन्धान पूरा भएका विषयमा जसरी मिडियामा लेख आउनुपथ्र्यो, त्यस्तो हुन नसकेको उनको भनाइ छ । 

के गर्ने त?   
नेपालगन्जका पत्रकार अधिकारीका विचारमा हामीकहाँ अनुसन्धाताहरु रिसर्च आर्टिकल छापिएपछि पत्रकारलाई खबर नगरी त्यतिकै बस्ने प्रवृत्ति छ । अर्कोतिर, सबै पत्रकारमा जर्नलको पहुँच नहुनुका साथै नेपालको सन्दर्भमा जर्नल आर्टिकल छापियो कि भनेर खोजीनीति गर्ने चलन छैन । त्यही भएर पनि नेपालमा हरेक महिना दर्जनौं जर्नल प्रकाशन भए पनि मिडियामा रिसर्च आर्टिकलबारे केही समाचार बनेको देखिँदैन ।

वैज्ञानिक समुदाय र पत्रकारहरुबीच साझेदारीको आवश्यकता छ । अनुसन्धाताले नवीनतम खोजबारे लेख्ने र पत्रकारले जर्नलमा छापिएका आर्टिकलको सन्देश जनतासम्म पुर्याउने भएकाले यी दुवै परिपुरक रहेका छन् ।डा. सुनिलबाबु श्रेष्ठ, नास्टका उपकुलपति 

यतिसम्म कि अखबार, टेलिभिजन, रेडियो र अनलाइनका सम्पादकहरु नै नेपालबाट निस्कने साइन्टिफिक जर्नलबारे बेखबर रहेका हुन्छन् । विज्ञान तथा प्रविधिको प्रबर्धन र विकासका लागि अनुसन्धान र पत्रकारिताबीचको खाडल पुर्नुपर्ने आवश्यकता रहेको विज्ञहरु बताउँछन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ वैज्ञानिक समुदाय र पत्रकारहरुबीच साझेदारीको आवश्यकता औंल्याउँछन् । अनुसन्धाताले नवीनतम खोजबारे लेख्ने र पत्रकारले जर्नलमा छापिएका आर्टिकलको सन्देश जनतासम्म पुर्याउने भएकाले उनको विचारमा यी दुवै परिपुरक रहेका छन् ।

‘जर्नल आर्टिकलको म्यासेज जनतासम्म पुर्याउन पत्रकारको गहन भूमिका हुन्छ, यसलाई कहिल्यै नकार्नु हुँदैन । एक अर्कालाई सहयोग पुर्याएर कसरी वैज्ञानिक लेखमा पहुँच बढाउन सकिन्छ भन्नेमा केन्द्रित रहनुपर्छ,’ डा. श्रेष्ठ भन्छन् । 

यसका लागि विज्ञान तथा प्रविधिमा लेख्ने पत्रकार र वैज्ञानिक समुदायबीच निरन्तर अन्तरक्रिया गर्नु पर्ने देखिन्छ ।

कोभिड-१९ सम्बन्धी रिसर्च आर्टिकलहरुमा पहुँच बढाउन नेपाल हेल्थ रिसर्च काउन्सिल, नास्टजस्ता सरकारी निकायले यस विधामा लेख्दै आएका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम, खोजमूलक रिपोर्टिङका लागि फेलोसिप आदि व्यवस्था गरेर अभिप्रेरित गर्नुपर्ने देखिन्छ ।

अनुसन्धानमा काम गरिरहेका निकायले लकडाउनका सामाजिक-आर्थिक, राजनीतिक र मनोवैज्ञानिक पक्षलाई पनि समेटेर अनुसन्धानलाई वृहत् बनाउन जरुरी छ ।  वैज्ञानिक रिसर्च ओझेलमा पर्नुमा अनुसन्धाता पनि स्वयं जिम्मेवार रहेकाले उनीहरुले पनि आर्टिकल छापिसकेपछि पत्रकारलाई यसबारे जानकारी दिनुपर्छ । रिसर्च भन्नेबित्तिकै त्यसको गुणस्तर र प्रामाणिकताको कुरा पनि आउँछ, नेपालबाट छापिने ‘पिअर रिभ्युड’ जर्नलप्रति पनि त्यति विश्वसनीयता रहेको देखिँदैन । तसर्थ, जर्नल आर्टिकल छनोट गर्दा त्यसको मौलिकता र अनुसन्धान विधिलाई मुख्य मापदण्ड बनाउनुपर्छ ।

वैज्ञानिक रिसर्च र पत्रकारिताबीचको दुरी कम गर्न एनएचआरसी, नास्टजस्ता निकायका साथै विज्ञान-प्रविधि अनि स्वास्थ्यको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारबीच नियमित सहकार्य जारी राखी अगाडि बढ्नुपर्ने देखिन्छ।

छत्र कार्की बिज्ञान बिषयमा कलम चलाउने पत्रकार हुन् ।  यो सामग्री मिडिया फाउण्डेसनको कोभिड-१९ मिडिया आउटरीच कार्यक्रमअन्तर्गत ह्युम्यानिटी युनाइटेडको सहयोगमा तयार गरिएको हो । लेखमा व्यक्त गरिएका दृष्टिकोण लेखकका हुन् ।

Comments