स्रोतसाधनको राम्रो प्रबन्ध गर्न सके सूचना दिने कर्तव्य पुरा गर्न सकिन्थ्यो : रामकुमार थापा, धादिङ (अन्तर्वार्ता)

”जति नै पहुँच भए पनि के गर्ने भन्ने अन्यौल भैरह्‍यो। विपद्का बेला आउने चुनौति ‘फेस’ गर्न हामीले धेरै गर्न बाँकी छ।”

रामकुमार थापा

सम्वाददाता, पाविल साप्ताहिक (धादिङ)

ramkuram thapa photo

तस्विर सौजन्य: रामकुमार थापा

भूकम्प जाँदा तपाईँ कहाँ हुनुहुन्थ्यो? के गर्दै हुनुहुन्थ्यो?

बैशाख १२ गतेको भुकम्प जादा धादिङको निलकण्ठ नगरपालिका३ मा रहेको अफिसमा काम गर्दै थिएँ। पहिलो धक्का आउनसाथ लौन के भयो भनेर उठ्न नपाउँदै घर सबै हल्लाउन थाल्यो। के गर्ने गर्ने भयो। भाग्ने होस पनि आएन। पछि भूकम्प रोकिएपछि तल ओर्लेर हेर्दा के हेरिसाध्य थियो र? रुवाबासी र भागदौडमात्र देखिन्थ्यो।

जिल्लाका मिडिया सामान्य अवस्थामा फर्के?

भूकम्प गएको ४ दिनसम्म प्रसारण र प्रकाशनमा अवरोध आए पनि अहिलेसबै रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाहरु सामान्य अवस्थामा फर्किसकेका छन्।

भूकम्प वा अन्य प्राकृतिक विपत्ति र यस्तै आपतकालीन अवस्थामा काम गर्नका लागि कत्तिको पूर्वतयारी थियो?जिल्लाका पत्रकार तत्काल रिपोर्टिङ जान सक्ने अवस्था थियो वा थिएन?

घट्ना घट्ने बित्तिकै पत्रकार रिपोर्टिङमा गए। कतिपय पत्रकारले परिवारका सदस्य गुमाएका थिए, उनीहरु जान सक्ने/मिल्ने कुरा भएन। घरपरिवार र आफन्ततिरको खबर राम्रो पाएपछि काममा खट्ने जाँगर चल्यो। तर विप्त्ति आउँदा कसरी रिपोर्टिङ गर्ने भन्ने खालको पूर्वतयारी शून्य थियो।

१२ गतेको भूकम्पपछि पनि ससाना परकम्पहरु निरन्तर गइरहेका कारण कसरी काम गर्ने भन्ने चिन्ता थियो। सबै पत्रकारको घरमा पनि क्षति पुगेकाले पारिवारिक चिन्ता पनि एक ठाउँमा थियो। तर मनमा डर त्रास र पारिवारिक पीडाकै बिचमा पनि जनतालाई सूचना र जानकारी गराउनमा लागी परे।

भूकम्पपछि सबैभन्दा पहिला त त्यसको प्रारम्भिक सूचना (ब्रेकिङ न्युज) दिने कुरा नै महत्वपूर्ण भयो। सम्भव भयो कि भएन?

विद्युत सेवा अबरुद्ध रहेकोले तत्काल ब्रेकिङ न्युज दिन सम्भव भएन।

भूकम्पसँगै उद्धार तथा राहत वितरण, सरुवारोग तथा महामारी, सञ्चार र यातायात, खाद्यान्न अभाव, पहिरो आदिका समाचार दिनुपर्‍यो। यस्ता समाचार दिन कत्तिको अप्ठ्यारो भयो?

भूकम्पले विशेषगरि उत्तरी धादिङको विकट बस्तीमा क्षति पुर्‍याएकोले यी सम्पूर्ण कार्य गर्न ठूलो चुनौति र समस्या आइ लाग्यो तर पनि आफ्नो काम कर्तव्यबाट पछि हटेनौँ।

फिल्ड रिपोर्टिङको अवस्था कस्तो रह्‍यो? पीडित तथा प्रभावितहरुलाई घटनास्थलमै गएर प्रत्यक्ष भेट्न कत्तिको सजिलो थियो?

तत्कालफिल्ड रिपोर्टिङ सम्भव थिएन। एक दुई दिन त के हो के हो जस्तो भयो। अब बाँचिने हो कि हैन भन्ने पनि चिन्ता थियो। तर पछि पीडित समक्ष पुग्न सजिलो थियो, किनकी हामी सबै पीडित नै थियौँ।

रिपोर्टिङ तथा समाचार सामग्री उत्पादनमा के कस्ता समस्या आए?

उत्तरी क्षेत्रमा पुग्नलाई गाह्रो भयो। हेलिकप्टरबाट जानु पर्ने भएकोले धेरै समस्या भयो। फेरि सबैले हेलिकप्टरमा चढ्न पाउने कुरा पनि भएन। फिल्डसम्म पुग्ने कुरा नै सबैभन्दा चुनौतिपूर्ण भयो।

विपद्का बेला समाचारका लागि विभिन्न स्रोतसँग सम्पर्क गर्नुपर्ने हुन्छ। त्यस्ता स्रोत तथा सामग्रीमा तपाईँहरुको पहुँच थियो त?

सरकारी निकायसँग त अरुबेला पनि सम्पर्क भैरहने भएकोले समस्या भएन तर विपदको बेला अलि फरक हुने रहेछ। जति नै पहुँच भए पनि के गर्ने भन्ने अन्यौल भैरह्‍यो। तर कहाँ जाने, कसरलाई भेट्ने भन्नेमा न्युजरुमको स्पष्ट निर्देशन भएकोले सजिलो भयो। तर विपदका बेला आउने चुनौति ‘फेस’ गर्न हामीले धेरै गर्न बाँकी छ।

स्रोतहरुको विश्वसनीयता कसरी जाँच्नुहुन्थ्यो? विश्वसनीय सूचनाको प्राप्ति तथा तथ्य परीक्षणमा कत्तिको ध्यान दिनुभयो?

सुरुमा सरकारी निकायकै भर पर्ने कुरा भयो। बिस्तारै भूकम्प प्रभावित क्षेत्रका नागरिकसँग भेटियो। उनीहरु पनि श्रोत नै भए। मृतक र घाइतेको संख्या, स्थान आदिका लागि प्रहरीको तथ्यांक थियो। तर उत्तरी क्षेत्रका पाँच गाउँ विकास समितिमा सम्पर्क गर्न निकै समस्या थियो। भूकम्प गएको एक हप्ता बित्दा पनि लापा गाविसमा सम्पर्क हुन सकेको थिएन।

समाचारको फलोअप गर्नुभयो वा गर्नुभएन?

गर्यौँ, अझै जारी छ। भूकम्पपछि आएका समाजिक समस्या र समाधानका उपायमा अझ धेरै काम गर्न बाँकी छ।

पत्रकार नै भूकम्पबाट पीडित छ भने समाचार रिपोर्टिङमा ऊ निष्पक्ष रहन कत्तिको चुनौतिपूर्ण हुन्छ?

विपत्तिले पेशा, धर्म वा जात भन्दैन। सबैलाई आपत पर्‍यो। जसरी सेना, प्रहरी, कर्मचारी वा डाक्टर खटे, हामी पनि त्यसरी नै खट्यौँ। घर भत्किएका थिए, कतिका आफन्त गुमेका थिए। परिवारका सदस्य खुला आकाश मुनी बसेका थिए। चुनौतीको बाबजुद हामीले हाम्रो धर्म निभायौँ। व्यक्तिगत स्वार्थबाट माथि उठेर सामुहिक स्वार्थको कुरा उठाएपछि निष्पक्ष हुन सकिन्छ।

तपाईँको विचारमा मिडियाले खेलेको भूमिकालाई आम नागरिकले कसरी लिए? आम नागरिक मिडियाबाट कसरी लाभान्वित भए?

ठ्याक्कै भन्न सकिन्न तर राहत नपुगेका धेरै ठाउँमा सञ्चारमाध्यममा सूचना र समाचार प्रकाशन/प्रशारणभएपछि राहत पुगेको छ। उद्धार नभएका ठाउँमा उद्धार कार्य भएको छ। हामीले समाजमा गर्ने पनि यही त हो। यसको मूल्यांकनभविष्यमा हुँदै जाला।

पछाडि फर्केर हेर्दा मिडियाले अझ राम्रो र प्रभावकारी कभरेज गर्न के गर्नुपर्थ्यो जस्तो लाग्छ?

काम गर्न सकिन्छ, नसकिने होइन तर श्रोतसाधनकै अभाव भयो। क्यामेरा, रेकर्डर, मोटरसाइकल, इन्धन वा यातायातका साधन, काम गर्ने ठाउँ, बिजुली, इन्टरनेट आदि सबैभन्दा आधारभूत कुरा हुन्। विपदका बेला यस्ता स्रोतसाधनको राम्रो प्रबन्ध गर्न सके सूचना दिने कर्तव्य पुरा गर्न सकिन्थ्यो।

भूकम्पको असर, पुनर्निर्माण र पुनर्वास बारेका समाचार आउँदा दिनमा पनि सञ्चारमाध्यममा आइरहनेछन्। जिल्लाका सञ्चारमाध्यमले यस्ता समाचार अझ प्रभावकारी ढंगले रिपोर्टिङ/प्रकाशन/प्रसारण गर्न के गर्नुपर्ला?

भूकम्पपछिका खासखास विषय छुट्याएर त्यसमा काम गर्नुपर्ने हुन्छ। भूकम्पको सामाजिक/आर्थिक र मनोवैज्ञानिक प्रभाव, पुनर्निर्माण र पुनर्वास मुख्य विषय हुन्।

विपत्तिमा समाचार/सूचना प्रभावकारी ढंगले प्रकाशन वा प्रसारण गर्न सञ्चारमायम तथा पत्रकारले कस्तो पूर्वतयारी गर्नुपर्छ जस्तो तपाईँलाई लाग्छ?

कार्यस्थल भूकम्प प्रतिरोधात्मक हुनुपर्‍यो। सरकारी निकायले पनि यस्तै नीति तथा जनचेतनाका कार्यक्रमल्याउनुपर्‍यो।

अन्तर्वार्ताका लागि समय दिनुभएकोमा धन्यवाद।

डिआरनेपाललाई पनि धन्यवाद, अनुभव बाड्ने अवसर दिएकोमा।

 

धादिङमा सञ्चारमाध्यमः एक झलक

दैनिक पत्रिकाः १ (धादिङ आवाज)

साप्ताहिक पत्रिकाः ६ वटा

पाक्षिक पत्रिकाः छैनन्

रेडियोः ५ वटा

टेलिभजनः १

 

मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत, २६ जून २०१५

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "स्रोतसाधनको राम्रो प्रबन्ध गर्न सके सूचना दिने कर्तव्य पुरा गर्न सकिन्थ्यो : रामकुमार थापा, धादिङ (अन्तर्वार्ता)"

Leave a comment

Your email address will not be published.


*