सूचना प्रवाहमा चुकेको बेला

हामीले राज्यका निकायलाई काम गर्न दिनुपर्छ, धैर्य धारण गरौं भन्ने आसयका थप जानकारीमुलक सन्देशहरु बनायौं । प्रसारण गर्न थाल्यौं । हामीले त्रासदीपूर्ण र भ्रम फैलन सक्ने सामग्री प्रसारण गरेनौं । उत्पादित सामग्रीलाई पटक पटक सुनेर, बिष्लेषण गरेर मात्र प्रसारण गऱ्यौं । प्रत्यक्ष कुराकानी गरिरहन्थ्यौं । यसरी त्रासदीपूर्ण जनजीवनलाई सामान्य बनाउन रेडियोले मद्दत गऱ्यो ।

 

1 Sher Bhujel

तस्वीर: लेखक

 

बैशाख १२ गते, एकहप्ता जति भएको थियो, कालिञ्चोक सामुदायिक एफएमका स्टेसन म्यानेजर जीवन लामा र म विपद् जोखिम व्यवस्थापनसम्वन्धी ललितपुरको गोदावरीमा भएको कार्यशालामा सहभागी भएर दोलखा फर्केको ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ‘एनसेट’ ले आयोजना गरेको कार्यशालामा भूकम्पका कुरा बढी भए । साथमा समुदायमा आधारित विपद् जोखिम ब्यवस्थापानका साथै बाढी, पहरो र आगलागीबाट समुदायलाई कसरी जोगाउने भन्ने बारेमा पनि कुरा भयो । कार्यशालमा भएको तयारी अनुसार बिपद् जोखिम न्युनीकरण, बिपद् मा खेल्नुपर्ने भूमिका र बिपद्पछि कसरी काम गर्ने भन्ने बारेमा हामीले रणनीतिक योजना बनाएका थियौं । तर योजना कार्यान्वयनको तयारी गर्न नपाउँदै बिनासकारी भूकम्पको सामना गर्न बाध्य भइयो ।

१२ गतेको पहिलो र ठूलो भूकम्पको धक्का महसुस गर्न पाइएन । हामी कच्ची बाटोमा दोलखा सदरमुकाम चरिकोटबाट २१ किलोमीटर दुरीमा पर्ने भीरकोट गाविस सम्मका लागि बसको यात्रामा थियौं । महिला विकास कार्यालय दोलखाले जिल्लाको भीरकोट गाविसमा गरेको जीविकोपार्जन सुधार कार्यक्रमको अनुगमनका लागि फिल्डमा जाँदै थियौं । यात्रामा दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आले, सरकारी कार्यालय प्रमुखहरु र केही सञ्चारकर्मी पनि थिए ।

अनुगमनस्थल पुग्नै लाग्दा हामी चढेको गाडी बेस्सरी हल्लियो । मेरो अघिल्लो सिटमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी आलेले सान्त्वाना दिने पारामा भने–पहाडको कच्ची बाटो यस्तै हो हल्लाउँछ । भूकम्पनको वास्तै नगरी गाडी अगाडि बढ्यो । बस अलि अगाडि मात्र के पुगेको थियो । भीरकोट गाविसको काफ्ले टोलमा बाटैभरी मान्छेहरु भागाभाग गर्न थाले । जताततै धुलो उडिरहेको थियो । हाम्रो गाडी पनि रोकियो । हामी अतालिएर हतार हतार गाडीबाट बाटोमा ओर्लियौं । सबैजना छक्क प¥र्यौ । के भयो भनेर सोच्न सकिएन । भूइँचालो गयो भनेर सवैले भनिहाले । त्यति बेलासम्म ठूलो धक्का रोकिइसकेको थियो । तर साना–साना पराकम्पनहरु गइरहेका थिए ।

वरिपरिको वातावरण धुलाम्य बन्यो । घरहरु धमाधम भत्किदै थिए । गाउमा माटो ढुंगाले बनेका पुरानो किसिमका कच्ची घरहरु भएकाले सबै घरमा क्षति पुगेको थियो । मैले वरिपरी देखेका प्राय घरहरु सद्धे थिएनन् ।  त्यति बेला मलाई श्रीतती कविता, बा आमा र छोरा छोरीको  याद आयो । छोरा अलिन र छोरी असिमा १३ गते आइतबारबाट विद्यालय सुरु हुने भएकाले पवटीबाट चरिकोट आउने तयरीमा थिए । अनि रेडियो स्टेसनमा काम गर्दै गरेका मेरा सहकर्मी दिउसोको सिफ्टमा काम गर्ने समाचार कक्षका उषा पाख्रिन र निराशी थामीको बढी याद आयो सायद आफुले सम्हाल्ने शाखा भएर होला । साथमा कार्यलयमा रहेका साथीहरु गायत्री आचार्य, प्राविधिक सुखमान थामी, प्रशासनकी मन्दिरा सुवेदीको पनि याद आयो । उनीहरु के गर्दै होलान बढो खुल्दुली भयो ।

शनिवार ११ बजेको समाचार पछि मनोरोञ्जनको प्रत्यक्ष कार्यक्रम सेलो ढुकढुकी हुने भएकाले साथी उषा स्टुडियो भित्रै हुने पक्का थियो । साथी निराशी १ बजे प्रसारण हुने कालिञ्चोक अपडेका लागि समाचार कक्षमै तयारीमा हुन पर्छ भन्ने मेरो ठम्याई थियो । उनीहरुको हालखवर बुझ्न मसँग भएको जिएसएम फोन थिचेँ । त्यस बेला फोनले काम गरेन । सेतोपाटी अनलाइनका जिल्ला संवाददाता अर्जुन दाहालको सिडिएमए फोनमार्फत पवटीमा भएको परिवारसँग मेरो सम्पर्क भयो । पवटी गासिसमा वडा नम्बर ६ मा पर्ने दुईवटा ढुंगा माटोले बनेका कच्ची घर भत्को पनि परिवार सुरक्षित भएको थाहा पाएँ ।

त्यसपछि मात्र मेरो मनमा अलि ढुक्क भयो । तर सदरमुकाम चरिकोटको चरिघ्याङ स्थित पाँचतले घरको माथिल्लो तलामा रहेको कार्यालयको अवस्था र त्यहाँ काम गर्दै गरेका मेरा सहकर्मीहरुका बारेमा थाहा पाउन सकिएन । भूकम्पपछि केहीबेर प्रसारणमा रहेको रेडियो स्टेसन बन्द भइसकेको छ । दोलखा सदरमुकाम चरिकोटका चार वटै सामुदायिक रेडियो स्टेसन बन्द भइसकेका थिए । दोलखामा चार वटा सामुदायिक रेडियो स्टेसन सञ्चालनमा छन् । करिव आधा दर्जन साप्ताहिक पत्रिका प्रकाशन हुन्छन् । स्थानीय तहमा टेलिभिजन र अनलाइन भने सञ्चालनमा छैनन् ।

सबै हतास देखिन्थें । टेलिफोन मार्फत घर परिवार र आफन्तलाई फोन गर्न सबै व्यस्त थिए । राजधानीमा रहेका सहकर्मी जीवन लामासँग बल्लतल्ल फोन लाग्यो । भूकम्पले राजधानीमा पनि निकै क्षति पुगेको थाहा भयो । सहायक प्रमुख जिल्ला अधिकारीमार्फत रेडियो स्टेसन रहेको भवन सुरक्षित रहेको थाहा पाएँ । कार्यालय भवन सुरक्षित रहेको थाहा भयो । त्यसबेला सवै सहकर्मी साथीहरु पनि सुरक्षित होलान् भन्ने आशा पलायो । तर सहकर्मी सिर्जना खड्काको घर भने ढलेको जानकारी पाइयो । हामी काम छोडेर चरिकोट फर्कियौं । बाटोमा एकै छिन अघिका राम्रा र सुन्दर घरहरु ध्वस्त भएका थिए । यिनै दृष्य हेर्दै चरिकोट आईपुगियो । चरिकोटको दृष्य निकै भयाबह थियो ।

भूकम्प लगत्तै केही दिन रेडियो स्टेसन बन्द रह्यो । शक्तिशाली पराकम्पनहरु गइरहे । काम गर्ने वातावरण भएन । हामीले अनौपचारिक छलफल गर्यौं । स्टेसन बन्द गऱ्यौँ र समुदायमा उद्धार गर्न जुट्ने निधो गऱ्यौं । तर जुन आपत बिपद्को बेला नागरिकलाई सूचना चाहिन्छ । त्यही बेला हामी सूचना दिन नसकेर नराम्रोसँग चुकेका थियौं । आफ्नो अनुभव र ज्ञान सीपलाई सही बेलामा प्रयोग गर्न सकेनौं । यस्तो अवस्थामा भित्रैबाट नराम्रो लाग्दो रहेछ ।

आफ्नो घर परिवार र समुदायमा भूकम्पले पारेको क्षतिको अवस्था बुझ्न गाउँ पुगे पनि दुई दिन भन्दा बढी बस्न सकिएन । सबै स्थानीय रेडियो स्टेसन बन्द थिए ।  आम नागरिक सूचना थाहा पाउनका लागि रेडियो नेपालको भर परेका थिए । हामी पनि त्यसैको भरमा पऱ्यौं । सबै पत्रकार साथीहरुको बेहाल भयो । सदरमुकाम चरिकोटमा घर हुने पत्रकार पनि विस्थापित भए । हामी डेरा गरी बस्नेको त झन् बेहाल भयो ।

Bhujel Sher

तस्वीर: लेखक

भूकम्पका पराकम्पनहरु कम हुँदै गएपछि बैशाख १६ गतेबाट आंशिक रुपमा रेडियो स्टेसन सञ्चालमा ल्याइयो । बिहान, दिउँसो र बेलुका एकएक घण्टा भूकम्पसम्वन्धी स्थानीय गतिविधि रेडियोबाट प्रसारण गर्न सुरु गरियो । कार्यक्रम उत्पादनका लागि सहकर्मी भीमसेन, उषा र निराशी र  लाई संयोजन गर्दै म फिल्डमा खटिए । टेलिफोन नभएकाले जसको आवाज चाहिए पनि रेकर्ड ल्याउन स्टेशनमा नै आउनुपर्ने बाध्यता भयो ।

विस्तारै टेलिफोन सञ्चालनमा आयो । हामीले स्टुडियोबाटै जिल्लाका जिम्मेवार अधिकारीसँग प्रत्यक्ष सम्पर्क गरी प्रसारण गर्न थाल्यौं । इन्टरनेट सेवा सञ्चालनमा आएपछि बाहिरका साथीहरुसँग पनि सम्पर्क हुन थाल्यो ।

हामीले विगत ४ बर्षदेखि एनसेट सँगको सहकार्यमा भूकम्पीय सुरक्षासम्बन्धी रेडियो कार्यक्रम उत्पादन गरी प्रसारण गर्दै आएका थियौं । जसको उत्पादन टिम भएकाले मलाई भूकम्पबारे धेरथोर जानकारी त थियो । तर अनुभव थिएन । होस पनि त कसरी भूकम्प भोगेको भए पो ? पर्याप्त र आवश्यक पुर्व तयारीको अभावमा यस्तो विपद्को बेला कसरी काम गर्ने भन्नेमा अन्योल हुँदोरहेछ । कस्ता समाचार र गतिविधिलाई प्राथामिकता दिने भन्नेमा पनि हामीलाई समस्या पथ्र्यो । कोसँग के–कस्तो विषयमा कुराकानी गर्ने भन्नेमा पनि हामीलाई अन्योल हुने गरेको थियो ।

भूकम्पको हप्तादिन वितिसक्दा पनि ग्रामीण क्षेत्रमा राहत पुग्न सकेको थिएन । नागरिक खुल्ला आकाशमुनि रात कटाउन बाध्य थिए । जुन हामीले प्रत्यक्ष देखेका थियौं । आफ्नो पनि हालत उस्तै थियो ।

जिल्ला सदरमुकाम चरिकोट स्थित बर्दबहादुर गणमा रहेको स्टोरमा भने राहत आउने र थुप्रिने क्रम जारी थियो । हामीले केही दिनको प्रसारणलाई राहत वितरण प्रक्रियामा केन्द्रित गऱ्यौं । जिल्लाबाट जति राहतसामाग्री पठाए पनि नागरिकले भने राहत नपाएको भनेर गुनासो गरिरहन्थे । हरेक दिन बेलुकीको बुलेटिनमा प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष कुराकानी गरेर जिल्लाको अबस्थाको बारेमा जानकारी लिन्थ्यौं । हामीसँग आएका नागरिकका गुनासा सुनाएर जवाफ लिने प्रयासले केही दिन निरन्तरता पायो ।

बिस्तारै हामीले भूकम्पपछि कसरी पहिलेकै अवस्थामा फर्कने भनेर विभिन्न विषय समेटेर कार्यक्रम तयार गर्न थाल्यौं । केन्द्रीय स्तरमा विविसी मिडिया एक्सनले उत्पादन गर्ने कार्यक्रम ‘मिलिजुली नेपाली’ र सामुदायिक सूचना नेटवर्कले उत्पादन गर्ने कार्यक्रम ‘भूकम्प पछिको जीवन रक्षा’ लाई दोहो¥याएर प्रसारण गर्न थाल्यौं ।

स्थानीय नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने कार्यक्रम सञ्चालन गऱ्यौं । उनीहरुको भूकम्प अनुभव र भूकम्प पछिको अवस्थाका बारेमा बोल्न लगायौं । आफ्नो पीर मर्का अरुलाई सुनाएपछि केही पीडा कम होस् भन्ने हाम्रो प्रयास थियो । हामीले केही जानकारीमूलक सन्देश बनाएर प्रसारण गर्न थाल्यौं । विपद् पछि गर्नुपर्ने कामका बारेमा रेडियो सामग्री बनाएर प्रसारण गर्न थाल्यौं । जिल्लाका विभिन्न स्थानमा राहत सामग्री लुटिन थालेको समाचार आउन थाले ।

हामीले राज्यका निकायलाई काम गर्न दिनुपर्छ, धैर्य धारण गरौं भन्ने आसयका थप जानकारीमुलक सन्देशहरु बनायौं । प्रसारण गर्न थाल्यौं । हामीले त्रासदीपूर्ण र भ्रम फैलन सक्ने सामग्री प्रसारण गरेनौं । उत्पादित सामग्रीलाई पटक पटक सुनेर, बिष्लेषण गरेर मात्र प्रसारण गऱ्यौं । प्रत्यक्ष कुराकानी गरिरहन्थ्यौं । यसरी त्रासदीपूर्ण जनजीवनलाई सामान्य बनाउन रेडियोले मद्दत गऱ्यो ।

भूकम्प पछि बिस्तारै जनजीवन सामान्य हुँदै गयो । हामीले भूकम्प पछि कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा भएको क्षतिका पुनः निर्माण र पुर्नस्थापनका लागि भएको प्रयासका बारेमा विभिन्न खाले सामग्री उत्पादन गऱ्यौं । प्रसारण गर्न थाल्यौ । रेडियोमा भएको क्षतिको विवरण लिनका लागि सामुदायिक रेडियो प्रसारक संघ र नेपाल पत्रकार महासंघका प्रतिनिधि, रेडियो अभियान्ता रघु मैनाली र ईन्टरन्युजका मधु आचार्य दोलखा आए । विपद्को बेला सञ्चारकर्मीका भूमिकाका बारेमा पनि हामीलाई केही बताए ।

विस्तारै बजार खुल्न थाल्यो । जनजीवन सामान्य हुँदै गयो । भूकम्पले रेडियोका केही उपकरणमा क्षति पुर्याएको थियो । विस्तारै हामीले रेडियो सञ्चालन गर्न थालेका थियौं । बैशाख २९ गतेको अर्को पराकम्पन आयो । फेरि केही दिन रेडियो स्टेसन बन्द भयो । त्यसपछि हामी अहिले चउरमा टेन्टभित्र बसेर रेडियो स्टेसन सञ्चालन गरिरहेका छौं ।

मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत,   ९ जून २०१५

 

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "सूचना प्रवाहमा चुकेको बेला"

Leave a comment

Your email address will not be published.


*