‘साधन स्रोतको अभावमा सोचेजस्तो रिपोर्टिङ गर्न सकिएन’ : जीवन लामा, दोलखा (अन्तर्वार्ता)

”अहिलेसम्म सामान्य अवस्थामा फर्केको छैन। मानिसहरु घर छाडेर अहिलेपनि बाहिर पालमै बसिरहेका छन् भने पत्रकारहरु पनि घर छाडेर बाहिरै बस्नु पर्ने अवस्था छ।”

जीवन लामा

स्टेसन म्यानेजर, कालिञ्चोक सामुदायिक एफएम १०६.४ मेगाहर्ज

भीमेश्वर नगरपालिका १, चरिकोट, दोलखा।

Dolkha-03

तस्विर सौजन्य: जीवन लामा

भूकम्प जाँदा तपाईँ कहाँ हुनुहुन्थ्यो ? के गर्दै हुनुहुन्थ्यो?

बैशाख १२ गतेको भूकम्पमा म काठमाडौं थिए भने २९ गतेको भूकम्पमा चरिकोटमा थिएँ। २९ गते भूकम्प जाँदाम जिल्ला प्रशासन कार्यालय दोलखाSमा थिएँ। रेडियोहरुको लागि टेन्ट माग गर्न गएको थिएँ। जिल्ला प्रशासनमा निवेदन दिएर बर्द बहादुर गणमा टेन्ट लिनअघि बढ्दै थिएँ, त्यही बेला भूकम्प आइहाल्यो।

भूकम्पपछि सञ्चारमाध्यमहरुको अवस्था कस्तो रह्‍योभूकम्पले बन्द भएका मिडिया सामान्य अवस्थामा फर्के?

अहिलेसम्म सामान्य अवस्थामा फर्केको छैन। मानिसहरु घर छाडेर अहिलेपनि बाहिर पालमै बसिरहेका छन् भने पत्रकारहरु पनि घर छाडेर बाहिरै बस्नु पर्ने अवस्था छ। किन कि अहिलेसम्म पनि छिनछिनमा परकम्प आइरहेको छ। दोलखानै कयौँपटक केन्द्रविन्दु बनेको छ। तसर्थ न साप्ताहिक पत्रिका नियमित प्रकाशन हुन सकेको छ न रेडियोहरुनै नियमित प्रसारणमा आउन सकेका छन्। कर्मचारीहरु स्टुडियोदेखि डराउन थालेका छन्। घरभित्र पस्नै डराउँछन्। अहिले रेडियो भीमेश्वर पूर्ण रुपमा बन्द छ। घर भत्केको छ। टावर केही मात्रामा भाँचेको छ। तसर्थ घरबेटीले रेडियो सार्नु भनेपछि सामान जम्मा पारेर रेडियो बन्द भएको अवस्था छ।

भूकम्पपछि सञ्चारमाध्यमहरुको अवस्था कस्तो रह्‍योभूकम्पले बन्द भएका मिडिया सामान्य अवस्थामा फर्के?

म त तयार थिएँ, र छु पनि। तर एक्लैले सबै काम गर्न नसकिदो रहेछ। कालदेखि डराउनु हुँदैन भन्ने मेरो मान्यता। किन कि हाम्रो कर्तव्य भनेको जनतालाई सही सूचना दिनु हो। आपतविपद् परेको बेलामा सूचना नदिने र अरुबेला रिबन काट्ने र ताली बजाउने सूचना दिने मिडिया र पत्रकारको के काम? सङ्लो पानीमा माछा मार्ने पो मार्ने र धमिलो पानीमा जसले पनि मार्छ नि।रेडियो भएकाले प्राविधिक, रिपोर्टिङ, प्रस्तोता सबै चाहिने भएकाले एक्लैले अलि सम्भव भएन। र हाम्रो चाहिँ स्टुडियोमा भएका ट्रान्समिटर, कम्प्युटरलगायतका सामग्री खसेर फुटेको हुनाले पनि समस्या आयो। तर रिपोर्टिङ गर्ने र सूचना दिनमा भने फोनबाटै भएपनि भयो। पत्रकारको कामनै रिपोर्टिङ गर्ने भएकाले खतरा मोलेर आफू सुरक्षित बनेर रिपोर्टिङ गर्ने काम भयो। अझ मेरो सन्दर्भमा भन्नुहुन्छ भने फोटो खिच्ने पनि भएकाले तत्काल ती काममा लागे।

Dolkha-01

तस्विर सौजन्य: जीवन लामा

सबैभन्दा पहिला त प्रारम्भिक सूचना दिने कुरा नै महत्वपूर्ण भयो होला। सुरुमा ब्रेकिङ न्युज तथा सूचना दिन सक्नु भयो वा भएनयसको तयारी तथा व्यवस्थापन कसरी भयो?

दिनमा ३ घण्टा भएपनि ब्रेकिङ न्युज दिने काम भयो। किन कि न बत्ती, न सञ्चार।तर पनि जेनेरेटर चलाएर नागरिकलाई एकएक सूचना दिने काम भयो। मैले अहिलेसम्म यस्तो चुनौती खेप्नु परेको थिएन। किन कि मेरो जेठा दाइको यही समयमा मृत्यु हुनु अनि भाइको लास निकाल्न नसक्नु। यहीबेला रेडियोमा सूचना दिनुपर्ने र महासंघको उपाध्यक्षको हैसियतले बैठक, कार्यक्रममा भ्याउनु पर्ने धेरै चुनौतीहरु खेप्नु पर्‍यो। साथीहरु भूकम्पको कारणले काममा पूर्ण मन लाग्ने अवस्था थिएन। छिनमा भनेको कुरा छिनमै बिर्सिने।

भूकम्पको समाचार रिपोर्टिङमा के कस्ता चुनौति आएके कस्ता पाठ सिकायो भूकम्पले?

तर यत्ति धेरै चुनौतीका बिच नयाँ पाठ सिकियो जस्तो लाग्यो। अहिले हामीले यस्ता जुनसुकै विपदमा कसरी सञ्चारमाध्यम सञ्चालन ल्याउने र कसरी रिपोर्टिङ गर्ने भनेर गाइडलाईननै तयार पार्‍यौँ। रेडियोमा तालिम प्राप्त शेरबहादुर भुजेलको संयोजकत्वमा उपसमिति गठन भएको छ। भोलिको दिनमा पनि यस्ता किसिमका विपत्ति आउँदा तत्काल समस्या समाधान गर्न सकिन्छ भनेर ज्ञान प्राप्त भयो जस्तो लाग्छ। अनि स्यालको सिकार गर्न जाँदा बाघको लागि समेत हतियार बोक्नुपर्छ भन्ने थप पाठ सिकायो।

भूकम्पसँगै उद्धार तथा राहत वितरणसरुवारोग तथा महामारीसञ्चार र यातायातखाद्यान्न अभावपहिरो आदिका समाचार दिनुपर्‍यो। यस्ता समाचार दिन कत्तिको अप्ठ्यारो भयो?

मैले रेडियोमा त यसको विषयमा बैठक, छलफल र कार्यशालानै चलाएँ। हामीले तपाईँले सोचेभन्दा फरक तरिकाले सूचना दिने प्रयास गर्‍यौँ। हामीले यस सम्बन्धी केही दिनमात्र भएको थियो तालिम लिएको। त्यसैले पनि सजिलो भयो। किन कि यत्तिजनाको मृत्यु भयो, उस्तो भयो भनेर मात्र पुग्दैन। तसर्थ के भयो, के हुँदैछ र के हुन्छ भनेर ३ भागमा सूचना तयार प्रसारण गर्ने काम भयो। सूचना पर्याप्त थियो। रिपोर्टिङ पनि भयो तर पस्किनको लागि न बत्ती, न सञ्चार, न नेट इन्टरनेटको सुविधा? जसले गर्दा दुःख, सुख काम चलाउने मात्र भयो केही दिन सम्म।

भूकम्पसँगै उद्धार तथा राहत वितरणसरुवारोग तथा महामारीसञ्चार र यातायातखाद्यान्न अभावपहिरो आदिका समाचार दिनुपर्‍यो। यस्ता समाचार दिन कत्तिको अप्ठ्यारो भयो?

पाठक तथा श्रोता/दर्शकलाई दैनिक आवश्यकता पहिचान गर्‍यौँ। विपद्को बेलामा गाँस, बास पहिलो समस्या होला तर यदि स्वास्थ्य, सुरक्षा भएन भने थप समस्या निम्त्याउन सक्छ। यी गाँस बासमा सबैको पहुँच नपुग्न सक्छ। तसर्थ यी सबै कुरा ध्यानमा राखेर सूचना दिने काम भयो। अनि रेडियोहरु सामुदायिक भएकाले पनि समुदायको कुरा, समुदायको पीडा, भावना अनुरुप सूचना, समाचार प्रसारण गर्ने कार्य भयो। हामी सबै बिहान भेला भएर विषय वस्तु छनोट गर्ने,  हिजोको दिनमा उठाएका विषय र समुदायको समस्या बुझ्ने अनि बेलुकी समीक्षा गरेर फेरि भोलिको लागि तयार हुने। यस्ता कुरा चाहि हामीले साप्ताहिक रुपमा यसअघिदेखिनै गरिरहेको हुनाले सजिलो महसुस भयो।

फिल्ड रिपोर्टिङको अवस्था कस्तो रह्‍योपीडित तथा प्रभावितहरुलाई घटनास्थलमै गएर प्रत्यक्ष भेट्न कत्तिको सजिलो थियो?

नजिक नजिक त सजिलो थियो तर टाढा अलि गाह्रो भयो। किन कि यातायातको साधन नचल्ने अनि हेलिकोप्टरको लागि आर्मीसँग नजिक वा चिनजानको हुनु पर्ने। जसले गर्दा तत्कालै टाढा गएर रिपोर्टिङ गर्न सकेन। हिँडेर जानको लागि एक्लै जाने कुरा भएन। त्यसैले टाढाको रिपोर्टिङ भनेको बेलामा गर्न नसकेको हुनाले दुःख लागेको छ। कयौँ जना ५/७ दिनसम्म उद्धार गर्न नसकेको खबर सुन्दा पनि सुनेरै बस्नु पर्‍यो।

Dolkha-02

तस्विर सौजन्य: जीवन लामा

रिपोर्टिङ तथा समाचार सामग्री उत्पादनमा के कस्ता समस्या आए?

समस्या त भनेर साध्य भएन। जस्तैः बत्ती, इन्टरनेट र फोन, मोवाइल मुख्य भयो। सबै जानकारी छ। सबै साधन स्रोत भएर मात्र हुँदैन रहेछ। तर प्रभावित स्थानमा पुग्नको लागि त सवारी साधन र बाटो भयो भने हुने रहेछ जस्तो लाग्यो। तर दोलखाको सन्दर्भमा भन्नु पर्दा केही टाठाबाठा पत्रकारहरु मात्र दिनमा ५/६ चोटी हेलिकप्टर चढ्ने तर सीधा सोझा पत्रकारहरु अरुले चढेको हेलिकप्टर हेरेको भरमा रिपोर्टिङ गर्नुपर्ने भयो।

विपद्का बेला समाचारका लागि विभिन्न स्रोतसँग सम्पर्क गर्नुपर्ने हुन्छ। त्यस्ता स्रोत तथा सामग्रीमा तपाईँहरुको पहुँच थियो त?

स्रोत र स्रोतहरुको सम्पर्क सूचीको खाँचो थिएन। गाइडलाइन पनि थियो तर वेबसाइटहरु र सोसल मिडियाहरु बन्द थियो। यो सबैको उत्तिकै समस्या थियो। साझा समस्या थियो। सबैले झेल्नुपर्ने समस्या भयो।

स्रोतहरुको विश्वसनीयता कसरी जाँच्नुहुन्थ्योविश्वसनीय सूचनाको प्राप्ति तथा तथ्य परीक्षणमा कत्तिको ध्यान दिनुभयो?

हामीले हतार गरेनौँ। बरु ढिला सूचना दिने तर सही सूचना दिने भनेर लाग्यौँ। विश्वासनीयता गुम्न नदिनको लागि सबै स्रोतहरु प्रयोग गर्‍यौँ। यसबेला अरुभन्दा केही ढिला भयो होला। तर हतार गरेनौँ।

समाचारको फलोअप गर्नुभयो वा गर्नुभएन?

ए टु जेड नै तर गरेनौँ होला तर हामीले छुटेका, नसमेटिएका र उठान गर्न नसकेका विषयहरु समेत लिस्टिङ गर्‍यौँ। अनि कत्ति दिनमा हुने भन्ने कामहरु भयो कि भएन भनेर पुनः फलोअप काम भयो। तर पूर्ण रुपमै गर्‍यौँ भनेर चाहि दाबी गर्न सक्दिन।

पत्रकार नै भूकम्पबाट पीडित छ भने समाचार रिपोर्टिङमा ऊ निष्पक्ष रहन कत्तिको चुनौतिपूर्ण हुन्छ?

दोलखाको हकमा भूकम्पपीडित नभएको पत्रकारनै छैन जस्तो लाग्छ। किन घर पक्की होस या कच्ची कसैको बाँकी छैन। सबै झोलामै ल्यापटपदेखि ब्रस मञ्जन बोकेर हिँड्नु पर्ने। त्रिपालमुनिको बास सबैको। मानवीय क्षति मात्र मेरो होला तर भौतिक क्षति सबैको भएकाले पीडित मान्नु पर्छ। निष्पक्षको सन्दर्भमा भने एक बोरा चामलमा ३/४ वटा बियाँ हुन्छनै। हाम्रा सबै पत्रकारहरु सबै कुरामा सही छन् भनेर म दाबी गर्दिन। हुन त महासंघको उपाध्यक्षको हैसियतले यस्ता कुरा बोल्न नहुने तर बाहिरी श्रोता, पाठकको कुरालाई आधार मान्ने हो भने पेशागत धर्म निर्वाह गरेको जस्तो लाग्दैन।

तपाईँको विचारमा मिडियाले खेलेको भूमिकालाई आम नागरिकले कसरी लिएआम नागरिक मिडियाबाट कसरी लाभान्वित भए?

आफू जोखिममा रहेर पनि आम नागरिकलाई सूचना प्रदान गरेकोमा धन्यवाद पाएँ, पायौँ। किन कि आफू कसरी सुरक्षित रहन सकिन्छ भन्ने अवस्थामा मिडियाकर्मीले जोखिम मोल्नु भनेको ख्याल ख्याल होइन। त्यसैले नागरिकले मिडियाकर्मीलाई खुलेरै धन्यवाद दिए। टेलिफोनका कारणले कुनाकाप्चाको खबर बाहिर ल्याउन सकेनौँ तर सुरक्षा निकायलाई भन्दा मिडियाकर्मी र मिडिया हाउसमा पहिलो खबर प्राप्त हुन्थ्यो। आम नागरिकले पहिलाचाहिँ मिडियाकर्मीलाई सूचना दिनुपर्छ भनेर बुझेका थिए र त्यही अनुरुप बेला बेलामा सूचना प्रदान गर्दा आमनागरिकलाभान्वित भएका थिए।

पछाडि फर्केर हेर्दा मिडियाले अझ राम्रो र प्रभावकारी कभरेज गर्न के गर्नुपर्थ्यो जस्तो लाग्छ?

यस्तो विपत्ति आउँछ है, त्यसैले यी यी पूर्वाधार तयार गर्नु पर्छ भनेर योजना र त्यही अनुरुप साधन स्रोत भैदिएको भए अझ राम्ररी सूचना दिन सकिन्थ्यो। जोखिमको स्थानहरु पहिचान भैदिएको भए र सबै ठाउँमा पुग्ने वातावरणको योजना, तयारी भैदिएको भए अझ प्रभावकारी हुन्थ्यो। सबै सूचनाहरु प्राप्त र सम्प्रेषण हुन्थ्यो।

भूकम्पको असरपुनर्निर्माण र पुनर्वास बारेका समाचार आउँदा दिनमा पनि सञ्चारमाध्यममा आइरहनेछन्। जिल्लाका सञ्चारमाध्यमले यस्ता समाचार अझ प्रभावकारी ढंगले रिपोर्टिङ/प्रकाशन/प्रसारण गर्न के गर्नुपर्ला?

योजनावद्ध लाग्नु पर्छ। यसलाई मिडियाको प्राथमिकतामा राख्नु पर्छ। यस विषयमा उपसमितिहरु तयार गर्नुपर्छ र एउटा बिट, फेलोसिपनै खडा गरी साथीहरुलाई यस सम्बन्धी रिपोर्टिङ गर्न प्रोत्साहित गर्नुपर्छ अनि मात्र प्रभावकारिता बढ्छ।

विपत्तिमा समाचार/सूचना प्रभावकारी ढंगले प्रकाशन वा प्रसारण गर्न सञ्चारमायम तथा पत्रकारले कस्तो पूर्वतयारी गर्नुपर्छ जस्तो तपाईँलाई लाग्छ?

गाइडलाइन तयार गरी बिट छुट्याउनु पर्छ। सबै खालका विपत्तिलाई ध्यानमा राखी तालिम, गोष्ठीको व्यवस्था आन्तरिक तथा बाह्य रुपमा गर्नुपर्दछ। राम्रा रिपोटिङ गर्नेलाई जोखिम तथा प्राकृतिक विपत्ति पत्रकारिता पुरस्कारको व्यवस्था गर्नुपर्दछ। हामीले ३ वर्षअघिदेखि परोपकारी पत्रकारिता पुरस्कार स्थापना गरेका थियौँ तर यसतर्फ पनि ध्यान दिनुपर्ने अवस्था सिर्जना भयो।

समयका लागि धन्यवाद। अन्त्यमातपाईँलाई भन्न मन लागेको केही छ?

तपाईँलाई पनि ध्नयवाद। अहिलेसम्म विभिन्न मिडिया हाउसले पत्रकारिताको धेरै बिट तय गरेका छन् तर प्राकृतिक जोखिमको विषयमा ध्यान पुर्‍याउन सकेको छैनन्। आगामी दिनमा यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ।

 

दोलखामा मिडियाः एक झलक

दैनिक पत्रिकाः छैन

साप्ताहिक पत्रिकाः ५ वटा प्रकाशनमा

पाक्षिक पत्रिकाः छैन

रेडियोः ३ वटा प्रशारणमा र १ वटा भूकम्पपछि बन्द

टेलिभजनः छैन

पत्रकारको संख्याः राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत ५० जना लगभग।

 

मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत, २६ जून २०१५

 

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "‘साधन स्रोतको अभावमा सोचेजस्तो रिपोर्टिङ गर्न सकिएन’ : जीवन लामा, दोलखा (अन्तर्वार्ता)"

Leave a comment

Your email address will not be published.


*