समाचार लेख्ने कि परिवार सम्हाल्ने ? : रेखबहादुर गुरुङ, धादिङ (अन्तर्वार्ता)

”सूचना दिनु पहिलो प्राथमिकता हो कि उद्धार र राहत भन्ने पनि भयो। सबैभन्दा ठूलो कुरा भनेको विपदका बेला के विषय कसरी लेख्ने भन्ने ज्ञानको अभाव हो।”

रेखबहादुर गुरुङ

समाचार वाचक, रेडियो धादिङ

निलकण्ठ नगरपालिका–३, धादिङ।

 

rekha gurung photo

तस्विर सौजन्य: रेखबहादुर गुरुङ

 

भूकम्प जाँदा तपाईँ कहाँ हुनुहुन्थ्यो? के गर्दै हुनुहुन्थ्यो?

म आफ्नै कामको शिलशिलामा बाटोमा हिँड्दै थिए। म भन्दा पछिपछि एउटा मोटरसाइकल आइरहेकोथियो। अर्कैखालको आवाज आयो। त्यही मोटरसाइकलको आवाज होला भन्ने ठानेँ तर अलिक अगाडिपुगेपछि बाइक ढल्यो, बाइक भन्दा अगाडिका घरहरुबाट पनि धुलो उड्नथाल्यो, पारिपारि डाँडाँहरु पनि धुलाम्मे भए, भूकम्प आयो भन्दै मान्छेहरुकराउँदै बाटोमा आउन थाले। अनि बल्ल थाहा भयो भूकम्प आएको रहेछ।

भूकम्पपछि सञ्चारमाध्यमहरुको अवस्था कस्तो रह्‍यो? भूकम्पले बन्द भएका मिडिया सामान्य अवस्थामा फर्के?

भूकम्प गएको ४ दिनसम्म प्रकाशन/प्रसारणमा अवरोध आए पनि अहिलेसबै पत्रिका, रेडियो र टेलिभिजन सामान्य अवस्थामा फर्किसके।

सबैभन्दा पहिला त प्रारम्भिक सूचना दिने कुरा नै महत्वपूर्ण भयो होला। सुरुमा ब्रेकिङ न्युज तथा सूचना दिन सक्नु भयो वा भएन? यसको तयारी तथा व्यवस्थापन कसरी भयो?

ब्रेकिङ समाचार दियौँ। रेडियोको टावरमा क्षति पुगेको थियो तर पनिहामी भूकम्प विशेष कार्यक्रम मार्फत नागरिकको सुचनाको अधिकारलाई पुरा गर्‍यौँ भन्ने लाग्छ। १/१ घण्टाको फरकमा समाचार, सूचना र भूकम्पविशेष कार्यक्रम प्रशारण गरिह्यौं। सरकारी निकायका सूचना, स्थानीय बासिन्दाको जानकारी र अन्य मिडियामा आएका खबर पछ्याउँदै काम भयो।

भूकम्पसँगै उद्धार तथा राहत वितरण, सरुवारोग तथा महामारी, सञ्चार र  यातायात, खाद्यान्न अभाव, पहिरो आदिका समाचार दिनुपर्‍यो। यस्ता समाचार दिन कत्तिको अप्ठ्यारो भयो?

अप्ठ्यारो त निश्चितै भयो नि। उत्तरी धादिङका विकट वस्तीमा सबैभन्दा बढी क्षति भएको थियो तर त्यहीँ सम्पर्क हुन सकिरहेको थिएन। ठूलो चुनौती र समस्या आइलाग्यो तर पनि सुखदुख समाचार दियौँ।

श्रोतालाई प्रत्यक्ष लाभ पुर्‍याउन समाचारको विषय कसरी छान्नुहुन्थ्यो? सबैभन्दा महत्वपूर्ण विषय छनोट र समाचार प्रस्तुतिकरणको निर्णय कसरी हुन्थ्यो?

हामीले निकै ध्यान पुर्‍याएर काम गर्‍यौँ भन्ने लाग्छ। हल्लामा भन्दापनि प्रत्यक्ष रुपमा पीडितहरुलाई नै भेटेर समाचार रिर्पोटिङ गर्‍या। हामी बिहानैदेखि रेडियो आउथ्यौँ, सबै जना एक चोटी छलफल गर्थ्यौँ। विषय छान्थ्यौँ अनि आआफ्नो काममा लाग्ने गर्थ्यौँ।

फिल्ड रिपोर्टिङको अवस्था कस्तो रह्‍यो? पीडित तथा प्रभावितहरुलाई घटनास्थलमै गएर प्रत्यक्ष भेट्न कत्तिको सजिलो थियो?

सजिलो त केही पनि थिएन। पीडितहरुको पीडा देखेर सुनेर विचिलित हुनुपर्ने सम्मको स्थिति आयो।

विपद्का बेला समाचारका लागि विभिन्न स्रोतसँग सम्पर्क गर्नुपर्ने हुन्छ। त्यस्ता स्रोत तथा सामग्रीमा तपाईँहरुको पहुँच थियो त?

पहुँच नभएको भन्ने होइन तर मोबाइलमा आउने समस्या, यातायातको समस्या आदिले गर्दा सम्पर्क हुन गाह्रो। फेरि सूचना दिनु पहिलो प्राथमिकता हो कि उद्धार र राहत भन्ने पनि भयो। तर हामी आँफै भूकम्प प्रभावित क्षेत्रहरुमा गएर रिपोर्टङ गर्ने हुँदा पीडितहरुका प्रतिक्रिया सुन्दा लाग्छ, हामी मिडियाकर्मी पनि भूकम्प पीडितहरुको घाउमा मल्हम लगाउन सफलभएका छौं।

प्रारम्भिक अवस्थामा प्रकाशन/प्रसारण गरेका समाचारको फलोअप गर्नुभयोवा गर्नुभएन?

गरिरहेका छौँ। राहतका लागि ल्याइएका खाद्य सामग्रीको गुणस्तर, वितरणमा भेदभाव, दुरुपयोग, पुनर्वासको अवस्थाबारे निरन्तर लेखिरहेक छौँ, बोलिरहेका छौँ।

पत्रकार नै भूकम्पबाट पीडित छ भने समाचार रिपोर्टिङमा ऊ निष्पक्ष रहन कत्तिको चुनौतिपूर्ण हुन्छ?

एकदमै चुनौतीपूर्ण हुन्छ। सबै पत्रकारको घरमा क्षति पुगेको थियो। सबैको परिवार बारीको पाटामा खुला आकाश मुनीबसेको अवस्थामा हामीले एउटा त्रिपाल दिने अवस्था थिएन। अब भन्नुस् समाचार लेख्न जाने कि परिवार सम्हाल्न? त्यसमाथि हामी पुरुष, घरको छोरो, घर बनाउने जिम्मेवारी पनि थियो। समाज यही हो। पत्रकारहरुको लागि राज्यले केही पनि गरेन भने पत्रकार पेशाबाटै विस्थापित हुनुपर्ने वा अन्य वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था समेत आएको छ।

तपाईँको विचारमा मिडियाले खेलेको भूमिकालाई आम नागरिकले कसरी लिए? आम नागरिक मिडियाबाट कसरी लाभान्वित भए?

सुरुमा त नागरिकलाई भूकम्पबाट हुने क्षतिका बेला जोगिनुस् भन्ने कुरा भयो। कहाँ के कति क्षति भयो भन्ने कुरा दिनुपर्‍यो। मिडियाले खेलेको महत्वपूर्ण भूमिका भनेको समाचार प्रकाशन/प्रसारणका कारण राहत नपुगेको स्थानमा राहत पुग्यो, मान्छेहरु बिरामी भएका ठाउँमा स्वास्थ्य शिविर पुगे। यसलाई नागरिकले सकारात्मक रुपमा हेरेको पाउँछु।

पछाडि फर्केर हेर्दा मिडियाले अझ राम्रो र प्रभावकारी कभरेज गर्न के गर्नुपर्थ्यो जस्तो लाग्छ?

सबैभन्दा ठूलो कुरा भनेको विपदका बेला के विषय कसरी लेख्ने भन्ने ज्ञानको अभाव हो। त्यसपछि आवश्यक स्रोत साधन जस्तै यातायात, क्यामेरा, रेकर्डर, ल्यापटप, बिजुली ब्याक अप र इन्टरनेटको अभाव। यति कुरा हुने हो भने अझ राम्रो गर्न सकिन्थ्यो होला।

समयका लागि धन्यवाद।

धन्यवाद।

 

धादिङमा सञ्चारमाध्यमः एक झलक

दैनिक पत्रिकाः १ (धादिङ आवाज)

साप्ताहिक पत्रिकाः ६

पाक्षिक पत्रिकाः छैनन्

रेडियोः५

टेलिभजनः १

 

मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत, २६ जून २०१५

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "समाचार लेख्ने कि परिवार सम्हाल्ने ? : रेखबहादुर गुरुङ, धादिङ (अन्तर्वार्ता)"

Leave a comment

Your email address will not be published.


*