विपद्को बेला सूचना दिने पत्रकारका पीडा

भूकम्प पछि समाचार सम्प्रेषणका लागि मिडिया तथा पत्रकारमा पूर्व तयारी थिएन। त्यस लगत्तैपनि के गर्ने कसरी गर्ने भन्नेमा त्यस्तो तयारी गर्न नपाएका अधिकांश पत्रकारले आफ्नै संवेदनाले देखाएको बाटो समातेर समाचार सम्प्रेषण गरे।  टंक ढकालको रिपोर्ट

टंक ढकाल/काठमाडौं

हात कामिरहेका थिए, गोडा लुगलुग थिए, मनमा एकखालको डर थियो। तर भूकम्प गएको एकैछिनमा उनी स्टुडियोमा छिरे, भूकम्प गएको समाचार पढे र सुरक्षित रहन स्रोताहरुलाई आग्रह गरे।

ललितपुरस्थित उज्यालो ९० नेटवर्कका पत्रकार मिलन तिमिल्सिनाले यसरी समाचार पढिरहँदा धादिङमा रहेको उनको घर भत्किएको थियो। उनका भाइ घाइते भएका थिए। उनलाई हतारहतार अस्पताल कुदाइएकोले उनको ज्यान जोगियो। यो कुरा तिमिल्सिनाले पछिमात्र थाहा पाए।

‘सञ्चारकर्मीका रुपमा पहिलो धर्म नागरिकलाई सूचना दिनु नै थियो, पछि मात्र परिवारको हेक्का भएछ’, वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्र बनाएर गएको ७ दशमलव ८ रेक्टर स्कलेको भूकम्पपछिको अवस्था सम्झँदै थिए उनी। पत्रकार तिमिल्सिना प्रतिनिधि पात्र मात्रै हुन्। धेरै पत्रकार छन्, जसले भूकम्पले आफ्नो घर परिवारमा पुर्‍याएको पीडा लुकाएर नागरिकलाई सूचना दिने काममा खटिए।

नुवाकोट घर भएका किरण लोहनी हाल गोरखामा बसेर पत्रकारिता गर्छन्। नुवाकोटमा रहेको उनको घर गोठ लड्यो। धन्न परिवारका सदस्य सुरक्षित थिए। बस्ने बास भत्किए पनि किरणले आफ्नो धर्म बिर्सेनन्। उनी भूकम्प गएको तेस्रो दिन अथार्त वैशाख १५ गते भूकम्पको केन्द्रविन्दु बारपाक पुगेका थिए, समाचार खोज्दै।

लोहनीसँगै थिए कान्तिपुर दैनिकका पत्रकार सुदिप कैनी। पत्रकार लोहनी र कैनी भूकम्पको केन्द्रविन्दु बारपाक पुग्ने सम्भवतः पहिला पत्रकार हुन्। ‘बाटो सबै पहिरोले रोकेको थियो। घर कुनै पनि सद्धे थिएनन्’, पत्रकार लोहनीले सम्झे, ‘राहत सामग्री पुग्ने कुरै भएन। घर लडेर सर्वस्व गुमाएका गाउँलेहरुराहत कुरिरहेका थिए।‘

अरुको जस्तै पत्रकारको दैनिकी पनि वैशाख १२ को भूकम्पको भत्कायो। त्रास थपिएको थियो। अचानक आउनसक्ने यस्तो विपद्मा कसरी काम गर्ने भन्ने पूर्व तयारी नभए पनि उनीहरुले आफ्नो महत्वपूर्ण जिम्मेवारी भुलेनन्। पीडा दबाएर भए पनि नागरिकलाई सुसुचित र सचेत गराउने प्रयासमा पत्रकार लागे।

समाचार संकलन तथा सम्प्रेषण कसरी गर्ने? स्रोत कसरी जुटाउने? अन्यौल काठमाडौंमा बसेर काम गर्ने तथा भूकम्प प्रभावित जिल्लामा बसेर काम गर्ने दुवै थरिका पत्रकारमा थियो।

वैशाख १२ गते भूकम्प गए लगत्तै विभिन्न सञ्चारमाध्यमले आफ्ना सम्पूर्ण प्रयास भूकम्प र त्यसले पुर्‍याएको क्षतिका बारेमा समाचार सम्प्रेषण गर्नमा केन्द्रित गरे। पत्रकार पनि त्यसैमा खटिए। बिजुली, इन्टरनेट जस्ता सेवाको सीमिति उपलब्धताकाबिचमा पनि भूकम्पको प्रारम्भिक क्षतिको विवरण, प्रभावित क्षेत्रको अवस्थाका बारेमा समाचार संकलनमा जुटे सबै। भूकम्पका कारण बढी प्रभावित सिन्धुपाल्चोक, गोरखा, रसुवा, नुवाकोट, दोलखा, धादिङसहित काठमाडौं उपत्यकाका तीन जिल्लाका बस्तीमा बढी केन्द्रित भएका थिए सञ्चारमाध्यम र पत्रकार।

प्रभावकारी रेडियो

भूकम्पका बेला सबैभन्दा प्रभावकारी रेडियो देखिए। विस्थापित भएर खुला आकासमुनि पुगेका नागरिक र उद्धारमा खटिएका उद्धारकर्मी सबैका लागि रेडियो नै सूचनाको प्रमुख स्रो थिए। यसले रेडियो र रेडियोमा कार्यरत पत्रकारमा आफूलाई प्रमाणित गर्ने अवसरसँगै विपदको सूचना संवेदनशील भएर सम्प्रेषण गर्ने चुनौती पनि थपियो।

वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा भूकम्प गएलगतैबाट काठमाडौं उपत्यकाका केही रेडियोले प्रसारण बन्द गरे। केही रेडियो स्टेसन रहेका भवन भत्किएपछि नियमित प्रसारणमा असर पर्‍यो। तर अरु रेडियोहरुले भूकम्पको ब्रेकिङ समाचार दिए। ठूलो भूकम्पपछि अन्य ससाना परकम्प आउन सक्ने र त्यसले क्षति पुर्‍याउन सक्ने भएकाले खुला ठाउँमा बस्न सचेत गराए। कतिपय रेडियोहरुले भूकम्प प्रभावित क्षेत्रमै पुगेर स्थलगत रिर्पोटिङ गरे।

काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका सोलुखुम्बुका पत्रकार पि.टि. लोप्चन यस्तै मध्येका एक हुन्। ‘भूकम्प लगत्तै के र कसरी रिर्पोटिङ गर्नुपर्छ भन्ने बारेमा प्राविधिक ज्ञान थिए। तर विपदको बेला मानवीय संवेदनाले मैले गर्ने गरेको रिर्पोटिङलाई पनि संवेदनशील बनायो’, पत्रकार लोप्चनभन्छन्, ‘हामीसँग विपदपछि कसरी समाचार संकलन गर्ने,केलाई प्राथमिकता दिने भन्ने केही ज्ञान थिएन। कुनै किसिमको तालिम पाएका थिएनौं। तर आफ्नो कर्म सम्झेर काम गर्‍यौँ। केही ढिला भने भएका थियौं।’

लोप्चनको पनि सोलुखुम्बुमा रहेको घर भत्किएको थियो। तर समाचार संकलन र सम्प्रेषणमा उनी खटिरहे। ‘घरगोठ सबैको भत्केको थियो। धन्न घरमा कसैलाई केही भएन र यहाँ काम गर्न सकेँ’, उनी भन्छन्।

अलनलाइन तथा टेलिभिजनले पनि आफ्नो सबै शक्ति भूकम्प र त्यसले पुर्‍याएको असरका समाचार सम्प्रेषणमा केन्द्रित गरे। अनलाइहरुलाई इन्टरनेटमा आएको खराबीले समाचार सम्प्रेषणमा समस्या भएको थियो। टेलिभिजनहरुलाई पनि विद्युत सेवा नियमित नहुँदा आफ्नो प्रसारण नियमित राख्न कठिनाइ भएको थियो।

भूकम्पपछिको एक हप्ता उद्धार तथा राहतकासमाचारमा केन्द्रित सञ्चार माध्यम त्यसपछि भने उद्धार र राहतसँगै अस्थायी आवास निर्माण, भूकम्पपछिको पुनर्वासका लागि समुदाय स्तरमा भएका प्रयास, सरकारी निकायको सक्रियता, विज्ञका कुरा तथा सर्वसाधारणका अनुभव समेट्न केन्द्रित भए।

उद्धारमा खटिएका उद्धारकर्मीका प्रयास र सफलता। भूकम्पले भत्काएको संरचनाभित्र पुरिएर सकुशल उद्धार गरिएका व्यतिका कथा। रिपोर्टिङमा खटिएका पत्रकारका अनुभाव तथा विचारले पनि स्थान पाउन थाले। भूकम्पपछिको उद्धार तथा राहतको फलोअप तथा सरकारी निकाय र नागरिकबीच सम्वाद गराउने काम पनि सञ्चारमाध्यमले नै गरे।

भूकम्पपछिको विपदमा भैरहेको पत्रकारिताको अध्ययन तथा अनुगमन गरिरहेका वरिष्ठ पत्रकार रघु मैनालीका अनुसार नेपाली सञ्चारमाध्यमले कुनै तालिम वा अनुभव बिना नै स्रोत साधानले भ्याएसम्म समाचार सम्प्रेषण गरेको बताउँछन्। त्यसमा पनि एफएम रेडियोहरुले भूकम्पपछि सबैभन्दा बढी सक्रिय भएर समाचार सम्प्रेषण गरेको उनको अध्ययन छ। ‘भूकम्प प्रभावित जिल्लाका स्थानीय एफएम रेडियोहरु र त्यसमा कार्यरत पत्रकारहरुले यो भूकम्पका बेला राम्रो काम गरे। सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने र स्थानीय स्तरमा नै गर्न सकिने प्रयासका बारेमा सामग्री सम्प्रेशण गरेर उनीहरुले आफ्नो भूमिका जिम्मेवारी पूर्वक निभाएको पाइयो’,वरिष्ठ पत्रकार मैनाली भन्छन्, ‘उनीहरुमा तालिमको अभाव थियो। तर पनि उनीहरुले राम्रो काम गरे। पत्रकारितालाई मानवीय संवेदनासँग जोड्न रेडियो र रेडियो पत्रकार सफल नै देखिए।’

सीमित स्रोत साधानका बाबजुद पनि सूचना सम्प्रेषणमा सञ्चारमाध्यमले राम्रो काम गरेको सञ्चालकहरु बताउँछन्। कम्युनिकेसन कर्नरका सञ्चालक गोपल गुरागाईं भन्छन् ‘अप्ठ्यारो अवस्थामा पनि सञ्चारमाध्यले राम्रो काम गरे। विपदमा नागरिकसँग जोडिए सञ्चार माध्यम।’

पत्रपत्रिकादेखि रेडियो, टेलिभिजन तथा समाचारमूलक अनलाइनका सञ्चालकहरुका लागि भूकम्पपछि स्रोत, सुरक्षा तथा नियमितता अर्को चुनौती बनेर देखा परे। अहिलेपनि भूकम्प र त्यससँग जोडिएर आउने विषवस्तुलाई प्राथमिकता दिएका छन्।

चुनौती र सम्भावना

‘भूकम्पपछि मानवीय सम्वेदनासँग जोडिएका विषयमा रिर्पोटिङ गर्दै गर्दा नागरिकसँग जोडिएका विषयमा समाचार बनाउन पायौं। यो हाम्रालागि पत्रकारिताकै हिसाबले नयाँ कुरा सिक्ने अवसर सम्भावना बन्यो। तर त्यो भन्दा कैंयौ धेरै चुनौती आइपरे।’

सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिमा कार्यरत भक्तपुरका पत्रकार पत्रकार रमेश गिरीको भनाई हो यो। उनी भन्छन्,‘विपदको बेला कसरी समाचार सम्प्रेषण गर्ने भन्ने सैद्धान्तिक ज्ञान थिएन। मानवीय संवेदनालाई जोडेर काम गर्‍यौँ। त्यस क्रममा भोगिएको सबै भन्दा ठूलो चुनौती भनेको आफ्नै सुरक्षा कसरी गर्ने भन्ने नै हो। खतरापूर्ण ठाउँमा पनि कुनै पनि सुरक्षात्मक उपाए वा सामग्री प्रयोग नगरिकन रिर्पोटिङका लागि पुग्नु पर्ने अवस्था थियो र अहिले पनि त्यस्तै छ।’

पत्रकार गिरीले भनेजस्तै अधिकांश पत्रकारले भूकम्प र त्यससँग जोडिएका विषयमा रिर्पोटिङ गर्दा आफ्नै सुरक्षाको सबै भन्दा ठूलो चुनौती उठाएका हुन्। भूकम्प आउनु अघि विपद र त्यससँग जोडिएका विषयमा कसरी समाचार संकलन गर्ने, सम्पादन कसरी गर्ने, स्रोत कसरी जुटाउने, केलाई समाचार बनाउने केलाई नबनाउने भन्ने बारेमा पूर्व तयारी अवस्थामा नरहेका पत्रकारमा आफूले सम्प्रेशण गरेको समाचार मानवीय संवेदनासँग कसरी जोड्ने भन्ने चिन्ता अहिले पनि छ। यस्तै सुरक्षाको कुरा पनि उस्तै छ। तर पनि चुनौतीलाई सम्भावनाको रुपमा सबैले स्वीकारेको देखिन्छ।

समाचारको सहयोग

विपदका बेला प्रभावित जिल्ला तथा क्षेत्रमा सञ्चार माध्यमले सम्प्रेषण गर्ने समाचारले उद्धार तथा राहतको काममा सहयोग पुर्‍याएका थिए। यस्तो बेलामा केन्द्रमा बसेर गरिएको समाचार रिर्पोटिङ भन्दा प्रभावित क्षेत्रमै गएर गरिएको रिर्पोटिङ बढी प्रभावकारी भए। गाउँलेसँग कुराकारी गर्ने, उनीहरुको अवस्था बुझ्ने र त्यसलाई सञ्चार माध्यमबाट प्रकाशन तथा प्रकाशित गरि उद्धार तथा राहतमा खटिएका सरकारी तथा सरोकारवाल निकायलाई झकझक्याउन स्थलगत रिर्पोटिङले महत्व राखेका थिए। यसले गर्दा प्रभावित जिल्लामा राहत तथा उद्धार पनि सहयोग गरेका छन्।

जिल्लामा कायरत पत्रकारहरु पनि यो कुरा स्वीकार गर्छन्। भूकम्प बढी प्रभावित जिल्ला मध्येको एक दोलखाको रेडियो कालिञ्चोकका स्टेशन म्यानेजर तथा पत्रकार जीवन लामा आफ्नो जिल्लामा सञ्चारमाध्यमै कारण धेरै ठाउँमा उद्धार तथा राहत र सामाजिक सचेतनामा सहयोग पुगेको बताउँछन्। भूकम्पका कारण भवन भत्किएपछि रेडियो कालिञ्चोकले अहिलेपनि पालमुनिबाटै आफ्नो प्रसारणलाई निरन्तरता दिएको छ।

भूकम्प पछि समाचार सम्प्रेषणका लागि मिडिया तथा पत्रकारमा पूर्व तयारी थिएन। त्यस लगत्तैपनि के गर्ने कसरी गर्ने भन्नेमा त्यस्तो तयारी गर्न नपाएका अधिकांश पत्रकारले आफ्नै संवेदनाले देखाएको बाटो समातेर समाचार सम्प्रेषण गरे। अहिले पनि विपदको खतरा उस्तै छ। विपदका बेलाको रिर्पोटिङका लागि तयारी अवस्थामा रहनु पर्ने रहेछ भन्ने कुरा भूकम्पले सिकाए पनि अझै त्यसतर्फ ध्यान जान भने सकेको छैन।

मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत, १४ जुलाई २०१५

 

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "विपद्को बेला सूचना दिने पत्रकारका पीडा"

Leave a comment

Your email address will not be published.


*