रेडियो कालिञ्चोक : तीन तलाबाट त्रिपालमा खस्दा

जीवन लामा

वैशाख १२ र १३ गतेको भूकम्पले दोलखामा जनधनको ठूलो नोक्सान गर्‍यो । जिल्लामा ७६ जनाको मृत्यु भयो । सयौ घाईते भए । ५५ हजारमध्ये ५२ हजार घर पूर्ण रुपले भत्किए । धेरैवटा गाविसका बासिन्दालाई स्थानान्तरण गर्नुपर्ने भयो । घर छोडेर मानिसहरु सडकमा आए । सञ्चारमाध्यम समेत धरापमा परे । सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुको अनुहारको खुसी उडेको थियो । तर काम त गर्नै पर्‍यो । पत्रकारहरुले आफ्ना घर भत्केको खबर सामाजिक सञ्जालमा हालेर अरुको घर भत्केको रिपोर्टिङ गरे । आफ्नो समाचार लेख्नु प¥यो भन्ने कसैले सोचेन । उनीहरुको गुनासो पोख्न थलो सामाजिक सञ्जाल मात्र थियो ।

१२ गतेको भूकम्पपछि दुई तीन दिनसम्म दोलखाका सबै रेडियो बन्द भए । न बत्ती, न टेलिफोन, न कर्मचारी र पत्रकारसित ३ तलमाथि बसेर काम गर्ने आँट नै रह्यो । रेडियोका केही विद्युतीय उपकरणहरु या त फुटेका थिए, या पुरिएका थिए । बल्ल बल्ल टुटे फुटेका सामान संकलन गरेर स्टुडियोमा नै राखियो । तेस्रो दिन बैशाख १५ गते, रेडियो बजाउने आँटका साथ स्टुडियोमा छि¥यौ । तर छिनछिनमा आउने पराकम्पनले जमीन र घर त स्थीर थिएनन् नै, मन पनि अस्थिर भैरह्यो । न हात गोडा चल्छ, न दिमागले काम गर्छ भैरह्यो । एक दुईजना साथीहरु बाहेक सबै साथीहरु आ–आफ्नै घरायसी समस्यामा अल्झेका थिए । आफै बाँचिन्छ कि बाँचिदैन भन्ने ठूलो भयले थिचेका साथीहरुमा रेडियोको धेरै चिन्ता नहुनु स्वाभाविकै थियो । त्यसमाथि मोवाईलको नेटवर्कले राम्रो काम गरेन । त्यसैले प्राय साथीहरु कहाँ छन् भन्ने कुरा पनि अत्तोपत्तो थिएन ।

हराएका, बेपत्ता भएकाको उद्धार तथा उपचार होस्, भूकम्प पीडितले समयमै राहत पाउन् भनेर रिपोर्टिङ गर्नु पत्रकारहरुको पेशा नै हो । घटना स्थलमा पुग्नु, सही सूचना जनतासम्म पुर्‍याउनु, कसले राहत पाए, कसले पाएनन् भनेर सोधखोज गर्नु रिपोर्टिङको दैनिकी बन्न थाल्यो ।

आफू के खाने ? कहाँ सुत्ने ? आफू मात्र बाँचेर भएन घरपरिवारलाई ओत लाग्ने वातावरण छ कि छैन भनेर सोच्ने फुर्सद पनि भएन । जहिले पनि अरुको लागि दिमाग जान थाल्यो । आफ्नै दिमागले आफ्नोबारेमा सोच्न फुर्सदै पाएन । यस्तै दैनिकी चलिरहदा बैशाख २२ गते रक्तचाप बढेर जेठो दाईको अचानक मृत्यु भयो ।

दैनिकजसो आईरहने ठूलठूला पराकम्पनले जमीनसँगै दिमाग पनि हल्लिरहेकै थियो । दाईको मृत्युको कारण पनि यही तनाव थियो । कहाँ उपचार गर्न लाने भनेर बेलामा निर्णय गर्न नसक्नाले दाईको ज्यान गयो । आफ्नो पनि कहाँ जाने, के खाने, कहाँ सुत्ने केही तालिका थिएन । भोक लाग्दा खानेकुरा खोज्ने र रातपरेपछि त्रिपाल खोज्ने बाहेक दिमागले लामो सोच्नै सकेन ।

यसरी दिन बित्दै थिए । वैशाख २९ गते रेडियोहरुलाई पनि टेण्ट चाहियो भनेर दोलखामा सञ्चालित ४ वटै रेडियोका सञ्चालक तथा व्यवस्थापकहरु ११ बजे जिल्ला प्रशासन कार्यालयमा पुग्यौ । प्रमुख जिल्ला अधिकारीलाई कार्यालय परिसरमै भेटेर कुरा गर्‍यौं । प्रमुख जिल्ला अधिकारीले टेण्ट बन्दोवस्त गरिदिएपछि हामी टेण्ट लिन बर्दबहादुर गणमा जाने बाटो लाग्यौं ।

टुँडिखेलमा आईपुगेर केही साथीहरु मोटर साईकल चढ्न थाल्नुभयो । म र चिरञ्जीवीजी हिडेर जाने भनेर पाईला अगाडि सार्दै थियौ । अचानक ठूलो आवाज आयो । यताउता हेरे । रुखहरु ढल्न थालेको जस्तो लाग्यो । जिल्ला विकास समितिको कार्यालय हामीतिरै आउन लागेको लाग्यो ।

खुला चौरमा जान खोज्छु । पाईला अभि सरे त मर्नु ! बोल्न खोज्छु, बोली आउदैन । सुरुमा त धर्ती नै उल्टेको जस्तो लाग्यो । दाँयाबाँया सबैतिर मानिसहरु चिच्याउन, कराउन थाले । गाउँतिर धुलोको मुस्लो निस्कन थाल्यो । मलाई रिङ्गटा चल्न थाले जस्तो भयो, तर ढल्न चाहि ढलिन । भुँईमा बस्न खोज्छु, भुँइ नै फाट्ला जस्तो लाग्यो । कहिले हल्लाउछ, कहिले उफार्छ । भुईंचालोले त हल्लाउनु पर्ने हो, तर उर्फाछ पो ! जमिनमुनि गुटुङटुङ आवाज आउँछ । मनले भन्यो, अब चाहि सबै तहस नहसै हुन्छ ! तर मुखले चिरञ्जीविजीलाई भन्न सकिन । यत्तिनै बेला फोन गर्नुपर्छ भन्ने दिमागमा आयो । पहिला रेडियोका साथीहरुलाई सम्झे । पटक पटक फोन गर्छु, फोनले सम्पर्क हुन सकेन मात्रै भन्छ । लामो समयको प्रयासपछि रेडियोका साथीहरुसित सम्पर्क भयो । रेडियो बन्द गर्न भ्याउने कुरै भएन । रेडियो बजेकै अवस्थामा छाडेर साथीहरु जुत्ता चप्पल बिनै बाहिर निस्कनु भएछ ।

एक घण्टापछि साथीहरु रेडियो स्टेशनमा पुग्दा सामान खसेर ध्वस्त । रेडियो आफै बन्द भएछ । रेडियोको मुख्य सामग्री ट्रान्समिटर खसेर काम नलाग्ने अवस्थामा पुरिएको छ । कम्प्युटर, प्रिन्टरहरु खसेर केही बाँकी थिएन । अन्य सामग्री राम्रा भएतापनि ट्रान्समिटरनै खसेपछि के काम र ? त्यही दिन घर झ्याँकुबाट चरिकोट पढ्न आउँदा सिंङ्गटीमा भाईलाई भूकम्पले बेपत्ता पारेको खबर आयो । न भाई खोज्न जाने, न रेडियो बजाउने ? अन्तमा जे नहुनु पथ्र्यो त्यही भयो । अब म गएर भाई ज्यूँदै रहने होईन भनेर मन बुझाएँ ।

रेडियो कसरी सञ्चालन गर्ने भन्ने कुराले सबैभन्दा धेरै मन पोल्न थाल्यो । रेडियोले सूचना दिन सके मात्र मरेकाको उध्दार र जिवीतको डर घटाउन सकिन्छ भन्ने कुरा मनमा लागि रह्यो । त्यसमाथि दोलखाका सबै रेडियो बन्द भएका छन् । यत्तिबेला रेडियो बजाउन सके  मात्र जनताको मनमा राहत मिल्ने विश्वास बढ्यो । यही कुरालाई मनन गरेर काडमाडौमा सामान लिन जाने निष्कर्ष निस्क्यो । तर, सामान किन्ने दाम पनि छैन र जान सजिलो पनि छैन । साथीहरु सबै सम्पर्कबिहीन छन् । बिहान बेलुकी रिपोर्टिङ गर्ने र दिउँसो भतकेको रेडियोमा बस्ने बाहेक अरु केही गर्न सकिएन ।

वैशाख ३१ गते उज्यालो एफएमबाट गोपाल दाईको फोन आयो रेडियो सग्लै छ कि बन्द भो भनेर । कुराकानीपछि ट्रान्समिटर दिने कुरा गर्नुभयो । के खोज्छस दृष्टिबिहिन भन्दा “आँखा” भने झैं लाग्यो । मनमनै धन्यवाद दिए । प्राविधिक प्रलादजीलाई खबर गरे, काडमाडौमा सामान लिन जानको लागि तर उहाँको फोन स्वीचअफ । त्यही क्रममा वीवीसी मिडिया एक्सनबाट सुष्माजीले फोन गर्नुभयो । उहाँले पनि अर्को व्यवस्था नभएसम्मको लागि २ वटा ल्यापटप सहयोग गर्ने वचन दिनुभयो । यी सबै खबरले गदगद नै बनायो मन ।

जेठ २ गते बिहानै गाडी लिएर प्रलादजी र म काठमाडौ लागयौं । अरुबेला त्यही गाडी ५ देखि ६ हजार रुपैयामा काठमाडौ आवतजावत गथ्र्यो । तर १२ हजार रे अहिले ! तै पनि सामान सुरक्षित ल्याएर रेडियो चलाउनु थियो । महंगै भाडा तिरेर काठमाडौ लागियो । खाडीचौरदेखि उताको बाटो हेर्दा भरे फर्किन पाईन्छ कि पाईदैन जस्तो थियो । बाटामा ठूलै पराकम्प आयो । पराकम्पनले बाटोमा पहिरो खसिरहेको थियो । पहिरो आउने डाँडा हेर्दै र पहिरो छल्दै अगाडि बढ्यौ । धेरै ठाउँमा घरले बाटो छेकेका थिए । कतै पहिरोले साँघुरो बाटो । मौसम अत्यास लाग्दो थियो । कहिले चर्को घाम, कहिले पानी । उज्यालोमा गोपाल दाई र मन्टेश्वरी दिदीसित केही समय दुःखसुखको कुरा ग¥यौ । विविसीबाट २ वटा ल्यापटप लियौं र बानेश्वरमा सुशिल दाई (उहाँ दोलखाकै हुनुहुन्छ) कहाँ पुगेर ट्रान्समिटर लियौं । सामान लिएर चरिकोट आईपुग्दा रात परिसकेको थियो ।

३ गते बिहानैदेखि रेडियो स्टेशन नजिकै खुला चौरमा टेण्ट गाडियो । टेण्टमै उपकरण जाडियो । टेण्टबाटै रेडियो घन्कियो । सबैजना छक्क पर्न थाले । रेडियो पनि टेण्टबाटै प्रशारण ? २ वटा ल्यापटप, एउटा मिक्सचर र केही सामग्रीको भरमा दिनमा १६ घण्टा नियमित प्रशारण गर्न थाल्यौ । अरुबेला १८ घण्टा अनि घण्टैपिच्छे बुलेटिन हुन्थ्यो भने अहिले बुलेटिन ४ घण्टाको अन्तरमा मात्र प्रशारणमा ल्याउन सक्यौ ।

स्टुडियो मसानघाट जस्तो भैसकेको थियो साथीहरुको लागि । कोही पनि स्टुडियोमा जान मान्नु भएन । टेण्टको स्टुडियोमै खाट राखियो । राती ३,४ जना साथीहरु सुत्ने र दिउँसो कार्यक्रम चलाउनहरु बस्ने ! बेला बेलामा आउने पराकम्पनले हामीलाई त तसाईरहेकै छ, तर स्टुडियो सार्नपरेको छैन, टेण्टमा जो छ । रेडियोको धेरै कार्यक्रमहरु रोकिए । केही महत्वपूर्ण कार्यक्रमहरु मात्र नियमित प्रशारण भैरहेका छन् । तर, भुईचालोसँग सम्बनिधत कार्यक्रम र सूचना खोजी खोजी प्रसारण गर्छौ ।

नयाँ ट्रान्समिटर अनि नयाँ व्यवस्थापनको कारणले हो कि खै के भएर हो, जिल्लाका सबै ठाउँमा रेडियो स्पष्ट सुन्न सकिने भएछ । सबैजना छक्क पर्न थालेका छन् आजकाल । कत्तिले त कालिञ्चोक एफएमलाई भूकम्प आएको त राम्रो भएछ पनि भने । जस्ले जे सुकै भनुन्, टेण्टबाटै हामी हरेक दिन १६ घण्टा रेडियो प्रशारण गर्दैछौं । सामुदायिक रेडियो कालिञ्चोकले यो विपदको समयमा नभै नहुने सूचना र कार्यक्रमहरु उत्पादन र प्रसारण गरेर भुकम्प पीडित दोलखालीको मन र मुटुलाई जोड्ने काम गरिरहेको छ, ।

– जीवन लामा कालिञ्चोक एफ.एम. दोलखाका स्टेशन प्रवन्धक हुनुहुन्छ

उज्यालो अनलइन, १४ जून २०१५

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "रेडियो कालिञ्चोक : तीन तलाबाट त्रिपालमा खस्दा"

Leave a comment

Your email address will not be published.


*