‘रिपोर्टरका लागि सबै मिडियामा विपद् कोष चाहिन्छ’ : गोरखाकाे दरौंदी दैनिकका समाचारदाता, प्रशन्न पोखरेलकाे (अन्तर्वार्ता) पुन: प्रकाशित

 

prashanna-pokhrel

गोरखा बारपाकमा रिपोर्टिङका क्रममा प्रशन्न पोखरेल। फोटोः हरिराम उप्रेती/गोरखा।

  • सदरमुकामदेखि १८ कोश टाढा बारपाकसम्म सडक पहुँच छ। तर पहाडको ढिस्को खसेर अबरुद्ध सडक छिचोल्दै बारपाक जाने आँट १२ बैशाखमा पत्रकारमा थिएन। तर १३ बैशाखमा पत्रकारहरु महाभूकम्पको केन्द्रविन्दु बारपाक गाउँ पुगेर रिपोर्टिङ गरे।
  • क्यामेरा, मोबाइल तथा रेकर्डर चार्ज गर्ने ब्याक अप आवश्यक छ। यातायातामा लाग्ने पेट्रोल/डिजेल मौज्दात राख्नुपर्ने देखिन्छ। राष्ट्रिय सञ्चार माध्यम तथा स्थानीय सञ्चार माध्ययमा विपद्का बेला रिपोर्टरलाई दिने आर्थिक कोष खडा गर्नुपर्छ। विपद्का बेला पत्रकारलाई सामान्य अवस्थाको भन्दा केही बढी पारिश्रमिक दिनुपर्छ।

 

भूकम्प जाँदा तपाईँ कहाँ हुनुहुन्थ्यो के गर्दै हुनुहुन्थ्यो?

बैशाख १२ गते म गोरखाको बोर्लाङ गाविसको क्यामुन्टारमा थिएँ। त्यहाँ बुढीगण्डकी जलविद्युत आयोजना निर्माण हुँदा जलाशयको सतहले डुबानमा पर्न सक्ने क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिको भेला थियो। म रिपोर्टिङका लागि त्यहाँ पुगेको थिएँ। तर भूकम्पले कार्यक्रम बिथोल्यो।

सबैभन्दा पहिला त प्रारम्भिक सूचना दिने कुरा नै महत्वपूर्ण भयो होला। सुरुमा ब्रेकिङ न्युज तथा सूचना दिन सक्नु भयो वा भएनयसको तयारी तथा व्यवस्थापन कसरी भयो?

भूकम्प गएलगत्तै नेपाल टेलिकमको नेटवर्कले काम गर्न छाड्यो। विद्युत् अबरुद्ध भयो। ल्यान्डलाइन फोन पनि बन्द। यस्तो अवस्थामा पत्रकारहरु एकै ठाउँमा भेला भएर प्रहरीको सेटमा आएका सूचनाहरु नोट गरियो। १३ बैशाखदेखि पत्रकारहरु गाउँ गाउँको रिपोर्टिङ निस्किए। रेडियो नेपालबाट आधा–आधा घण्टामा गोरखाको अवस्थाबारे प्रत्यक्ष कुराकानी सम्भव भयो। एनसेलको नेटर्वकले सञ्चार सम्भव तुल्यायो। भूकम्प लगत्तै राष्ट्रिय सञ्चार माध्यममा जस्तो तत्काल सूचनाहरु दिन स्थानीय सञ्चारमाध्यममा सम्भव भएन। १३ बैशाखदेखि भने पत्रकारहरुले निरन्तर रुपमा पत्रिका प्रकासन र रेडियो प्रसारण गरिरहेका छन्।

  • फिल्डमा पुग्दा रुवाबासी सुनिथ्यो। समाचारका लागि आवश्यक जानकारी दिने मानिस भेट्न धौ धौ पर्थ्यो। पूर्ण समाचार लेख्न सकिँदैनथ्यो। समाचार अपुरो नै रहेका थिए।

भूकम्पपछि सञ्चारमाध्यमको अवस्था कस्तो रह्‍योभूकम्पले बन्द भएका मिडिया सामान्य अवस्थामा फर्के ?

महाभूकम्पको केन्द्रविन्दु गोरखा नै भएकोले होला, यहाँका मानिसमा भूकम्पको त्रास अन्यत्र भन्दा धेरै थियो। पत्रकार पनि अछुतो रहेनन्। १२ बैशाखको मध्याह्न महाभूकम्प गयो। उक्त दिन जिल्लामा रहेका रेडियो बन्द भए। भोलिपल्ट (१३ बैशाख) साँझ ६ बजेदेखि च्वाइस एफएम सञ्चालनमा आयो। १४ बैशाखदेखि “दरौंदी दैनिक” प्रकाशित भयो। रेडियो गोरखाले त्रिपालमुनिबाट दैनिक १९ घण्टा प्रसारण गर्दै आएको छ। भूकम्पपछिको एक महिना गोरखकाली एफएम बन्द रह्यो। भूकम्पले भएको प्राविधिक समस्याले गर्दा एफएम चलाउन सकिएन। मर्मतपछि रेडियो पुनः प्रसारणमा आएको छ। अहिले सबै सञ्चारमाध्यम सामान्य अवस्थामा फर्किसकेका छन्।

भूकम्प वा अन्य प्राकृतिक विपत्ति र यस्तै आपतकालीन अवस्थामा काम गर्नका लागि कत्तिको पूर्वतयारी थियोजिल्लाका पत्रकार तत्काल रिपोर्टिङ जान सक्ने अवस्था थियो वा थिएन ?

भूकम्पपछि गोरखाका पत्रकारहरू सक्रिय रह्यौं। भूकम्प जाँदा-जाँदै पनि पत्रकारले घर भत्केका तस्बिर/भिडियो खिच्न भ्याएका छन्। तर आपतकालीन अवस्थामा रिपोर्टिङका लागि आवश्यक सामग्रीको अभाव छ। मोवाइलको चार्ज सकिन्छ, पावर ब्याक अप छैन। आवतजावत गर्न गाडी चाहियो, मोटरसाइकल हुनेलाई पेट्रोल चाहियो, यस्तै बेलामा यातायात अबरुद्ध हुन्छ, पेट्रोल पम्प खुल्दैनन्। विपद्का लागि भनेर यस्ता अत्यावश्यक सामग्री मौजाद राख्ने चलन पनि थिएन।

महाभूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक थियो। सदरमुकामदेखि १८ कोश टाढा बारपाकसम्म सडक पहुँच छ। तर पहाडको ढिस्को खसेर अबरुद्ध सडक छिचोल्दै बारपाक जाने आँट १२ बैशाखमा पत्रकारमा थिएन। तर १३ बैशाखमा पत्रकारहरु बारपाक गाउँ पुगेर रिपोर्टिङ गरे।

  • मुख्य तीन खालका समस्या भोगियो। पहिलो, यातायातको समस्या।  दोस्राे, समाचार स्रोत भेट्टाउन कठिन थियो। तेस्राे, रिपोर्टिङ सामग्रीको अभाव।

भूकम्पको समाचार रिपोर्टिङमा के कस्ता चुनौति आए के कस्ता पाठ सिकायो भूकम्पले ?

तीन तलामाथि रहेको च्वाइस एफएम स्टुडियोबाट स्रोतालाई सुरक्षित र खुला चौरमा बस्न आग्रह गरिएको थियो। अरुलाई सुरक्षित तरिकाले बस्न भन्दै सूचना दिने सञ्चारकर्मी आफैँ भने भत्किएको घरको तीन तलाभित्रको स्टुडियोमा थिए। आफू असुरक्षित रहेर हजारौं स्रोतालाई सुरक्षित राख्न पत्रकार हरपल खटिरहे। चर्किएको घरको तीन तलाबाट रेडियो गोरखाको प्रसारण सामग्री झिकेर अन्यत्रैबाट प्रसारण गर्नुपर्ने अवस्था आयो। परकम्पको बेवास्ता गर्दै रेडियोका सामग्री झिकियो र त्रिपालमुनि सामान जडान गरेर रेडियो प्रसारण भयो। भूकम्पका अपटेड रेडियोले प्रत्यक्ष प्रशारण गरेको थियो।

भूकम्पले के सिकायो भने भूकम्पप्रतिरोधात्मक घरमा सञ्चार माध्यम राख्नुपर्ने रहेछ। रेडियो स्टेशनको विकल्पको रुपमा हामीसँग ‘डोको रेडियो’ को सामान भएको भए विपद्का बेला तत्कालै स्रोतामाँझ सञ्चार गराउन सकिन्थ्यो। वैकल्पिक ऊर्जा, अन्य मेशिनरी सामानहरूको वैकल्किप ब्यवस्था गर्नुपर्ने देखिन्छ।

भूकम्पसँगै उद्धार तथा राहत वितरणसरुवारोग तथा महामारीसञ्चार र यातायातखाद्यान्न अभावपहिरो आदिका समाचार दिनुपर्‍यो। यस्ता समाचार दिन कत्तिको अप्ठ्यारो भयो ?

उत्तरी गोरखाको सात गाविस बाहेक जिल्लाका ६० गाविस र दुई नगरपालिका क्षेत्रका विभिन्न वडाहरूमा पत्रकार पुगे। उत्तरी भेगमा गएको पहिरोबारे हेलिकोप्टरबाट कैद गरिएका दृश्यहरू काम लाग्यो। गाउँ-गाउँमा  घाइतेको उद्धार, राहत वितरणको अवस्थाबारे स्थलगत अवलोकन गर्ने मौका पत्रकारले पाएका थिए।

त्रिपालमुनि सुत्केरीले पाएका सकसदेखि बालबच्चा, महिलामा देखिएको मनोसामाजिक समस्या निवारण गर्न पत्रकारले मनोसामाजिक परामर्शदाताको आवश्यकता रहेकोबारे समाचार प्रकाशित गरे। घाइतेको उद्धार, राहत वितरणमा देखिएको समस्या र पहिरोजस्ता समाचार दिन सकेको यसअघि प्रकाशन भएका पत्रिका र प्रशारण भएका रेडियोका समाचारले पुष्टि गर्छन्। हिँडेर गाउँ-गाउँमा पहिरो छिचोल्दै रिपोर्टिङ गरेर समाचार प्रकाशन, प्रशारण गर्दा अप्ठ्यारो भने निकै भएको थियो।

  • सञ्चार माध्यमबाट पनि विपद्मा कसरी रिपोर्टिङ गर्ने भन्ने गाइड लाइन थिएन। रिपोर्टर कहाँ, कस्तो अवस्थामा छ भन्नेबारे पनि सञ्चारमाध्ययले खोजी गरेको भेटिएन। महाभूकम्प गएको एक सातापछि मात्रै ‘घरतिर कस्तो छ ? खोजपूर्ण समाचार लेखेर पठाउनुहोला’ जस्ता निर्देशन सहितको फोन राष्ट्रिय सञ्चार माध्यमले पत्रकारलाई आएको थियो।

राष्ट्रिय सञ्चार माध्यमले जिल्लाका रिपोर्टरलाई महाभूकम्पको केन्द्रविन्दु पुगेर रिपोर्टिङ गर्न, नभए जागिर चट हुने जस्ता कुराहरू समेत गरेको भेटियो।

पाठकलाई प्रत्यक्ष लाभ पुर्‍याउन समाचारको विषय कसरी छान्नुहुन्थ्यो सबैभन्दा महत्वपूर्ण विषय छनोट र समाचार प्रस्तुतिकरणको निर्णय कसरी हुन्थ्यो ?

सबैभन्दा पहिले घाइतेको उद्धारका लागि स्थानीय प्रशासनले तदारुकता देखाओस् भन्ने हेतुले उद्धारसम्बन्धी समाचार प्रकाशित भयो। घाइतेको उद्धार करिब सकिएपछि राहत वितरणबारेका समाचारले प्राथमिकता पाए। पहुँचको आधारमा राहत वितरण गरेको देखेपछि स्थानीय प्रशासनलाई समाचारमार्फत् समानुपातिक राहत वितरणको लागि घच्घच्यायौं। विपद्पछि पहिले उद्धार, त्यसपछि राहत र पुनःबासको लागि पहल गर्ने खालका समाचार प्रकाशित भएको देखिन्छ। समाचारको प्राथमिकता सम्पादकीय मण्डलले तय गर्छ।

फिल्ड रिपोर्टिङको अवस्था कस्तो रह्‍यो पीडित तथा प्रभावितलाई घटनास्थलमै गएर प्रत्यक्ष भेट्न कत्तिको सजिलो थियो?

अघिकांश समाचार घटनास्थलमै पुगेर फर्केपछि तस्बिरसहित प्रकाशित भएको छ। मानिसको मृत्युसम्बन्धी तथ्यांक भने जिल्ला दैवीप्रकोप उद्धार समिति र प्रहरीले पुष्टि गरेपछि प्रकाशन/प्रसारण गरियो। १२ बैशाखदेखि नै पत्रकारहरू फिल्ड रिपोर्टिङमा थिए। फिल्डमा पुग्दा रुवाबासी सुनिथ्यो। समाचारका लागि आवश्यक जानकारी दिने मानिस भेट्न धौ धौ पर्थ्यो। पूर्ण समाचार लेख्न सकिँदैनथ्यो। समाचारहरू अपूरो नै रहेका थिए।

  • पत्रकार पीडित भए पनि समचार लख्दै गर्दा आफ्नो पीडा भुल्नुपर्छ। भुल्न सकिएन भने त्यो निष्पक्ष पत्रकारिता भएन। जस्तो मेरो गाउँको घर भत्केको छ। भूकम्प गएको एक महिना बितिसक्दा पनि आफ्नो घर गएको छैन, तर समाचार स्रोतको घर घर पुगेको छु। समाचार लेखेको छु।

रिपोर्टिङ तथा समाचार सामग्री उत्पादनमा के कस्ता समस्या आए ?

मुख्य तीन खालका समस्या भोगियो। पहिलो, यातायातको समस्या। पीडितसम्म पुग्न यातायातको समस्या थियो। सडकमार्ग चिराचिरा परेकाले हिँड्नु वा हेलिकप्टर चढ्नुको विकल्प थिएन। घाइतेको उद्धारमा खटेको हेलिकप्टर चढेर गोरखाका पत्रकारले रिपोर्टिङ गर्न चाहेनन्। बरु एकजना घाइतेको उपचार हुन्छ भनेर पत्रकारले घाइतेको उद्धार हुञ्जेल हेलिकप्टर चढेनन्। राहत बोकेर ठाउँ–ठाउँ पुगेका हेलिकोप्टरमा भने केही पत्रकारले चढ्ने अवसर पाएका थिए। तर सबै पत्रकारले त्यो अवसर पाएनन्।

दोस्राे, समाचार स्रोत भेट्टाउन कठिन थियो। हचुवाको भरमा पल्लो गाउँमा यति जना मरे, उति पुरिए भन्ने खबर आउँथ्यो। सरकारी अधिकारी तथा प्रहरीहरु त्यस्ता खबर पुष्टि गर्न सकिरहेका थिएनन्। हामी उनीहरूको भर पर्नुपर्ने अवस्था। पत्रकारहरु गाउँ पुगेर यो घरमा कति जना मरे ? भनेर सोध्नलाई पनि मान्छे भेट्न पनि मुस्किल हुथ्यो।

तेस्राे, रिपोर्टिङ सामग्रीको अभाव। क्यामेरा, रेकर्डर र सवारीसाधनमा लाग्ने चार्ज, पेट्रोलको समस्या थियो। विद्युत् अबरुद्ध भएपछि क्यामेरा र रेकर्डरले काम गरेन।

विपद्का बेला समाचारका लागि विभिन्न स्रोतसँग सम्पर्क गर्नुपर्ने हुन्छ। त्यस्ता स्रोत तथा सामग्रीमा तपाईँहरुको पहुँच थियो त?

घटनास्थल पुग्दा समेत आवश्यक जानकारी पाइएको थिएन। गाउँमा कति जना थिए, कति जना बाँचे, कति घाइते, कतिको मृत्यु भयो भन्न सक्ने कोही थिएनन्। गाउँमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पुगेका थिए तर उद्धारमा खटेका उनीहरुले स्पष्ट विवरण थिएन। भरपर्दो स्रोतको अभाव हुँदा धेरै महत्वपूर्ण समाचार पनि प्रकाशित हुन सकेका छैनन्।

सञ्चार माध्यमबाट पनि विपद्मा कसरी रिपोर्टिङ गर्ने भन्ने गाइडलाइन थिएन। रिपोर्टर कहाँ, कस्तो अवस्थामा छ भन्नेबारे पनि सञ्चारमाध्ययले खोजी गरेको भेटिएन। महाभूकम्प गएको एक सातापछि मात्रै ‘घरतिर कस्तो छ ? खोजपूर्ण समाचार लेखेर पठाउनुहोला’ जस्ता निर्देशनसहितको फोन राष्ट्रिय सञ्चार माध्यमले पत्रकारलाई आएको थियो। राष्ट्रिय सञ्चार माध्यमले जिल्लाका रिपोर्टरलाई महाभूकम्पको केन्द्रविन्दु पुगेर रिपोर्टिङ गर्न, नभए जागिर चट हुने जस्ता कुराहरू समेत गरेको भेटियो।

  • मिडियाले खेलेका भूमिकालाई मानिसले प्रशंसा गरेका छन्। तर सदरमुकाम आसपासको क्षेत्रको मात्रै समाचार प्रकाशित भयो भन्दै दुर्गम भेगका मानिसहरू रुष्ट भएको पनि पाइयो।

स्रोतको विश्वसनीयता कसरी जाँच्नुहुन्थ्योविश्वसनीय सूचनाको प्राप्ति तथा तथ्य परीक्षणमा कत्तिको ध्यान दिनुभयो?

जिल्ला दैवीप्रकोप उद्धार समिति, गाविस सचिवहरु र नेपाल प्रहरीले पुष्टि गरेका सूचनाहरु मात्रै समाचारका रुपमा प्रकाशित गर्‍यौँ। कसैले अन्दाजको भरमा भनेका कुरा समाचारका रुपमा प्रकाशित भएका छैनन्। पुष्टि नभएका समाचारहरु प्रकाशन/प्रसारण भएको मेरो जानकारीमा छैन।

समाचारको फलोअप गर्नुभयो वा गर्नुभएन?

मृतकको संख्या, घाइतेको उद्धार लगायतका समाचार प्रारम्भिक चरणमा लेखिएको हुनाले त्यसको फलोअप गरिराख्नु जरुरी थिएन। आजसम्मको तथ्यांक हेर्दा गोरखामा ४४३ को मृत्यु भएको छ। ११ सय बढी घाइते र २२ जना बेपत्ता छन्। बेपत्तामध्ये कोही भेटिए खोज्ने हो। घाइतेहरूको अवस्थाबारे भने फलोअप गरिएको छ। पुनर्स्थापना र पुनर्निर्माणबारे फलोअप बिस्तारै भैरहेको छ।

पत्रकार नै भूकम्पबाट पीडित छ भनेसमाचार रिपोर्टिङमा ऊ निष्पक्ष रहन कत्तिको चुनौतिपूर्ण हुन्छ?

पत्रकार पीडित भए पनि समचार लख्दै गर्दा आफ्नो पीडा भुल्नुपर्छ। भुल्न सकिएन भने त्यो निष्पक्ष पत्रकारिता भएन। जस्तो मेरो गाउँको घर भत्केको छ। भूकम्प गएको एक महिना बितिसक्दा पनि आफ्नो घर गएको छैन, तर समाचार स्रोतको घर घर पुगेको छु। समाचार लेखेको छु।

केही पत्रकार साथीहरुको घर भत्केको छ। पहिले आफ्नो घर हेरेर, अर्काको हेर्न जानेहरु पनि देखियो। हुन त यो पत्रकारको नितान्त व्यक्तिगत कुरा हो। कतिपय कुरा व्यक्तिगत स्वार्थमा भर पर्ने कुरा हो। ऊ समाचार प्रकाशन/प्रसारणमा ध्यान दिन्छ कि आफ्नो घरपरिवारलाई भन्ने हो। परिवार ब्यवस्थापन गरेर मात्रै पत्रकार रिपोर्टिङमा हिँड्यो भने त्यहाँ निष्पक्ष पत्रकारिता देखिन्छ।

  • सेनालाई रिझाएर चढेको हेलिकप्टरबाट खिचेको तस्बिर र भिडियोहरुले न त भूकम्पपीडितको पीडा देखिन्थ्यो न त समाचारको गाम्भियर्ता नै। दोश्रो, हेलिकोप्टर चढ्न नपाएसम्म ‘राहत पुगेन, भूकम्पपीडित भोकै’ भन्ने खालका समाचार लेख्ने अनि भोलिपल्ट हेलिकप्टर चढेर गाउँ पुगेपछि ‘राहत पुग्यो, भूकम्पपीडित खुसी’ भन्दै समाचार लेख्नुको अर्थ रहँदैन।

तपाईँको विचारमा मिडियाले खेलेको भूमिकालाई आम नागरिकले कसरी लिएआम नागरिक मिडियाबाट कसरी लाभान्वित भए?

मिडियाले खेलेका भूमिकालाई मानिसहरुले प्रशंसा गरेका छन्। तर सदरमुकाम आसपासको क्षेत्रको मात्रै समाचार प्रकाशित भयो भन्दै दुर्गम भेगका मानिसहरु रुष्ट भएको पनि पाइयो। जब सञ्चार अबरुद्ध हुन्छ, घटनास्थलमा पत्रकार पुग्दैन, त्यस्तो ठाउँको समाचार सुनेकै भरमा पत्रकारले लेखेनन्। हल्लाको भरमा समाचार लेखिएन। यद्यपी त्यहाँ हामी पुगेर समाचार लेख्नुपर्थ्यो तर हाम्रा पनि सीमा थिए।

पछाडि फर्केर हेर्दा मिडियाले अझ राम्रो र प्रभावकारी कभरेज गर्न के गर्नुपर्थ्यो जस्तो लाग्छ?

पहिलो, आफूलाई ठूलो ठान्ने मिडिया हाउसहरुले हेलिकप्टरको प्रयोग गरेर ठाउँ–ठाउँको अवस्थाबारे समाचार प्रकाशन/प्रसारण गर्न सक्नुपर्थ्यो। सेनालाई रिझाएर चढेको हेलिकप्टरबाट खिचेको तस्बिर र भिडियोहरुले न त भूकम्पपीडितको पीडा देखिन्थ्यो न त समाचारको गाम्भियर्ता नै। दोश्रो, हेलिकोप्टर चढ्न नपाएसम्म ‘राहत पुगेन, भूकम्पपीडित भोकै’ भन्ने खालका समाचार लेख्ने अनि भोलिपल्ट हेलिकप्टर चढेर गाउँ पुगेपछि ‘राहत पुग्यो, भूकम्पपीडित खुसी’ भन्दै समाचार लेख्नुको अर्थ रहँदैन। हिँडेर गाउँठाउँ पुगेको भए वास्तविक भूकम्पपीडितको आवाज सञ्चारमाध्यममा आउने थियो।

भूकम्पको असरपुनर्निर्माण र पुनर्वास बारेका समाचारआउँदा दिनमा पनि सञ्चारमाध्यममा आइरहनेछन्। जिल्लाका सञ्चारमाध्यमले यस्ता समाचार अझ प्रभावकारी ढंगले रिपोर्टिङ/प्रकाशन/प्रसारण गर्न के गर्नुपर्ला?

जिल्लाका मात्र होइन, सबै ठाउँका सञ्चारमाध्यमको कुरा उस्तै हो। भूकम्पले क्षति पुर्‍याएका सबैजसो ठाउँको पैदल हिँडेर भ्रमण गरेपछि भूगोलको बारेमा जानकारी हुन्छ। मानिसहरुको बसोबासको आधारमा जानकारी लिन सकिन्छ। कस्तो संस्कार र संस्कृतिको बसोबास छ, आयस्रोत कस्तो छ लगायतका जानकारी लिएमा समाचार संकलन र प्रकाशनमा सजिलो पर्छ। धेरैभन्दा धेरै स्रोत तथा जानकारहरुसँग छलफल अन्तर्क्रिया गरेर रिपोर्टिङ गरियो भने मात्रै वास्तविकता के हो थाह हुन्छ।

विपत्तिमा समाचार/सूचना प्रभावकारी ढंगले प्रकाशन वा प्रसारण गर्नसञ्चारमायम तथा पत्रकारले कस्तो पूर्वतयारी गर्नुपर्छ जस्तो तपाईँलाई लाग्छ?

पहिलो, क्यामेरा, मोबाइल तथा रेकर्डर चार्ज गर्ने ब्याक अप आवश्यक छ। दोस्राे, यातायातामा लाग्ने पेट्रोल/डिजेल मौज्दात राख्नुपर्ने देखिन्छ। तेस्राे, राष्ट्रिय सञ्चार माध्यम तथा स्थानीय सञ्चार माध्ययमा विपद्का बेला रिपोर्टरलाई दिने आर्थिक कोष खडा गर्नुपर्छ। चौँथो, विपद्का बेला पत्रकारलाई सामान्य अवस्थाको भन्दा केही बढी पारिश्रमिक दिनुपर्छ जसले गर्दा उसले परिवारलाई सुरक्षित राख्न सकोस् र ऊ ढुक्कसँग गाउँगाउँमा रिपोर्टिङका लागि जान सकोस्।

समयका लागि धन्यवाद। अन्त्यमातपाईँलाई भन्न मन लागेको केही छ?

अघिकांश अनलाइन, टेलिभिजन, पत्रपत्रिका, रेडियोले पत्रकारलाई काम लगाउने तर पारिश्रमिक नदिने भेटिएको छ। नियुक्तिपत्र समेत दिँदैनन्। मिडिया चलाउने तर पत्रकारलाई पारिश्रमिक नदिने प्रवृत्तिमा सुधार आउनुपर्छ। जबसम्म पत्रकारहरु घरव्यवहार चलाउन सक्नेगरि तलब पाउँदैनन्, नेपाली मिडिया र पत्रकार व्यवसायिक हुन सक्दैनन्। बाहिर आदर्शको कुरा गरे पनि पारिश्रमिकको ग्यारेन्टी नहुँदा पत्रकारले काम गर्न सकिरहेको हुँदैन। आफ्ना अनुभव राख्ने अवसर दिनु भएकोमा धन्यवाद।

गोरखामा सञ्चारमाध्यमः एक झलक

दैनिक पत्रिकाः

१) दरौंदी दैनिक

२) सुरुवात दैनिक

साप्ताहिक/पाक्षिक पत्रिकाः छैनन्

रेडियोः ६ वटा।

१) सामुदायिक रेडियो- रेडियो गोरखा ९२.८ मेगाहर्ज

२) सामुदायिक रेडियो- मनासलु १०३.९ मेगाहर्ज

३) गोरखकाली एफएम ९३.६ मेगाहर्ज

४) च्वाइस एफएम ९०.४ मेगाहर्ज

५) मातृभूमि एफएम ९०.२ मेगाहर्ज

६) सामुदायिक रेडियो हर्मी १०५.४ मेगाहर्ज

राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकारको संख्याः २० जना

 

Be the first to comment on "‘रिपोर्टरका लागि सबै मिडियामा विपद् कोष चाहिन्छ’ : गोरखाकाे दरौंदी दैनिकका समाचारदाता, प्रशन्न पोखरेलकाे (अन्तर्वार्ता) पुन: प्रकाशित"

Leave a comment

Your email address will not be published.


*