भूकम्पले बाँच्न र समाचार संकलन गर्न सिकायो

पत्रकारले चुनौती पनि धेरै सामना गर्नुपर्‍यो। सबैभन्दा ठूलो चुनौती चाहेजति गाउँबस्ती पुग्न सकिएन। सुरुका दिनमा गाउँको रिपोर्टिङ गर्न जानुपर्ने तर जानलाई बाटो थिएन।  गोरखाबाट शिवप्रसाद उप्रेतीको रिपोर्ट

शिवप्रसाद उप्रेती/गोरखा

लामो समयदेखि नभेटिएका रेडियो गोरखाका स्टेसनम्यानेजर किशोरजंग थापासँग संयोगले त्यसदिन भेट भएको थियो। म दरौंदी दैनिक पत्रिकाको कार्यालयमा समाचार लेख्दै थिएँ। समाचार महत्वपूर्ण र संवेदनशील विषयमा थियो। माओवादी द्वन्द्वका बेला पहुँचवालाहरुमाथि लागेका मुद्धा फिर्ता भएको तर पहुँचविहीनहरुलाई लगाइएका मुद्दा भने भने २० वर्षदेखि अदालतमा मुल्तबीमा रहेको विषयमा समाचार थियो।

माओवादी हेडक्वाटरसँग समेत समाचारको विषय जोडिएको गम्भीर विषय भएकोले अरुको सल्लाहसहित समाचार तयार पार्दा त्यसको प्रभाव झन् राम्रो हनु सक्छ भनेर मैले थापालाई समाचार कक्षमा बोलाएँ। समाचारको विषयमा छलफल भइसकेपछि उनीपत्रिकाकै कार्यालय रहेको घरमै रहेको गोरखकाली एक्यूप्रेसरमा ‘फूलबडीचेक अप’का लागि गए। म समाचार पठाउन तल्लीन रहें।

२०७२ सालको बैशाख १२ गतेको दिन थियो त्यो। एक्कासी घर हल्लियो। छोटो छोटो भूकम्पबाट अभ्यस्त रहेकाले यो पनि छोटै होला भनेर म खासै बाहिर निस्किइन। तर निरन्तर कम्पन भैरहेपछि बाहिरिन बाध्य भएँ। बाहिरको दृश्य हेर्दा चकित भएँ।

खुला ठाउँमा पुग्दा पनि हल्लिरह्यो, हल्लिरह्यो। सहरभरि होहल्ला हुन थालिसकेको थियो। सबै जना बाहिरिए। नजिकै रहेको गोरखाको नामी होटल बिसौनी आँखै अगाडि ढल्यो। मान्छेहरु भागाभाग र रोइकराइको दृश्य। कहालीलाग्दो। किम्कर्तव्यबिमुढ।

अचानक समय हेर्ने ख्याल आयो। १२:५६ बजेको रहेछ। अनि जमिन निरन्तर हल्लिरहँदा अर्को पनि ख्याल आयो, खाली खुट्टा रहेछु। मोबाइल समाचार कक्षमै छोडेर निस्केछु। केही सेकेण्ड कम्पन बन्द हुँदा डराइ–डराई मोबाइल झिक्न दुई तला माथिको कोठामा पुगें।

साथी किशोरजंगले मेरो मोटरसाइकलको साँचो मागे। दिएँ। मोटरसाइकल चढेर हामी बजारको अवलोकन गर्न गयौं। उनी सम्बद्ध रेडियो गोरखाको कार्यालय भवन चिरिएको रहेछ। सँगैको एउटा घर भत्किएछ। बसपार्क भासिएछ। बसपार्कसँगैको एउटा आरसीसी घर निकै नै ढल्किएछ। ठूलोआँगन पुग्दा केही घर रोड अबरुद्ध हुने गरी भत्केको देखियो। त्यो पार लगाउँदै गर्दा गोरखकाली मन्दिरबाट फर्कँदै गरेका प्याब्सन गोरखाका अध्यक्ष सिताराम तिवारीले गोरखा दरबार ध्वस्त भएको सुनाए। हामी त्यतै ताकियौं।

गोरखा दरबारको मोटरपार्कमा पुग्दा भुइँचालो फर्कियो। यतिबेलासम्म चार जना घाइतेलाई उपचारका लागि माइक्रोबस चढाइसकिएको रहेछ। उनीहरुलाई ढिला नगरी गोरखा अस्पताल पुर्‍याउन आग्रह गर्दै हामी गोरखा दरबारतिर हिड्यौं। पहाडबाट आएका ठूलाठूला ढुंगाले त्यहाँको संरचना बिगारेको दृश्य हेर्दै गोरखा दरबारको प्रवेशद्वार पुग्यौं। त्यहाँबाट भित्र जान मिलेन। अर्को बाटोबाट च्वाइस एफएमका स्टेसन मेनेजर किरण लोहनी र सम्वाददाता पनि संगै आए। प्रहरीले कडा पहरा दिइरहेको थियो। हामीले पत्रकारको परिचय दिई केही फोटो मात्र खिच्न भित्र जाने अनुमति पायौं। केही मिनेटमै हामी त्यहाँबाट ओरालो लाग्यौं। च्वाइस टिमलाई हाम्रो मोटरसाइकल दियौं। हामी उनीहरुको मोटरसाइकल लिएर फरक फरक बाटोमा पर्ने भौतिक क्षति हेर्दै झर्‍यौँ। ढुंगामाटोले बनेको घर प्राय सबै घर भत्किएका थिए।

मैले काम गर्ने अन्नपूर्णपोस्टका अनलाइन प्रमुख विष्णु सुवेदीलाई मुस्किलले फोन लाग्यो। अवस्थाको जानकारी गराएँ। तर काठमाडौंमा पनि अवस्था उस्तै रहेको जानकारी दिदै उनले सुरक्षित रहन सुझाब दिए। समाचार अपडेटको पाटो सकियो।

बीपीचोकमा आइपुग्दा एभिन्युज टेलिभिजनका पत्रकार कैलाशबाबु श्रेष्ठ मोटर साइकल चढेर उकालो लाग्दै थिए। उनले ‘अस्पतालमा भेला होऔं है’ भन्न भ्याए। हामी पनि सरासर अस्पताल पुग्यौं। यतिबेलासम्म धमाधम घाइतेलाई अस्पताल ल्याउने क्रम चलिसकेको रहेछ। ५ जनाको मृत्यू घोषणा भइसकेको रहेछ। केही मिनेटको अन्तरमा मृत्यू हुनेको संख्या बढिरहेको थियो।

मोबाइल सबैको नेटवर्क बिहीन थियो। गाउँमा कतै सम्पर्क नभएपनि बारपाक केन्द्र भन्ने हल्ला आयो। फेरि होइन, लम्जुङ रे भन्ने आयो। धादिङ रे भन्ने पनि आयो। पछि बारपाक केन्द्र भन्ने निश्चित भयो।

मृतकको नाम ठेगाना टिपेर साध्य लागेन

‘मुच्चोकमा चार जना शिक्षक एकै ठाउँमा चेपिएर मरे’ भन्ने आयो। स्तब्धता, त्रास सँगसँगै हामीले घाइतेको उद्धारमा सघाउने जिम्मेवारी पनि निभायौं। सुरु सुरुमा त मृतकको संख्या कमै होला भनेर नाम, ठेगाना, उमेर सबै टिप्यौं। तर जब बारपाक, लाप्राक, सिम्जुङ, सौरपानी लगायतका गाउँ सबै पुरिएको ठूलो संख्यामा हताहत भएको भन्ने आयो, अनि नाम ठेगाना लेखेर साध्य नहुनाले त्यो काम छाड्यौं।

साँझ भइसकेको थियो। टेलिफोन थिएन। बिजुली थिएन। निरन्तरको कम्पनले कार्यालय भित्र जाने हिम्मत थिएन। सबै साथीहरु एकैठाउँमा भेला भएका थियौं। कार्यालयमा मात्र होइन, घरमा पनि जाने अवस्था थिएन। अबको रात कसरी कटाउने भन्ने चिन्ता सुरु भयो। गोरखा बोर्डिङको आँगनमा पत्रकारहरु कैलाशबाबु श्रेष्ठ, म, प्रसन्न पोखरेल एकैठाउँमा सुतियो। राती परेको पानीले बिजोग बनायो।

भोलिपल्ट बैशाख १३ गते भुकम्पको केन्द्रविन्दु बारपाक जाने रहर अन्नपूर्णपोस्ट कार्यालयमा ब्यक्त गरें। तर यस्तो बेला जिल्लाभरिका समाचारसँग अपडेट रहनु पर्ने भएकाले सदरमुकाम नछोड्नु भन्ने सुझाब पाएँ। यसको भोलिपल्ट कान्तिपुर संवाददाता सुदीप कैनी र च्वाइस एफएमका स्टेसनम्यानेजर किरण लोहनी बारपाकतिर लागे। र उनीहरु इपिसेन्टर पुग्ने पहिलो पत्रकारमा दर्ज भए।

बन्द मिडिया

दोस्रो, तेस्रो दिनसम्म राष्ट्रिय पत्रपत्रिकाहरु बन्द थिए। जिल्लाका दुई पत्रिका पनि प्रकाशन भएका थिएनन्। जिल्लामा रहेका पाँचवटै एफएम रेडियो बन्द थिए। मोबाइलमा आक्कलझुक्कल नेटवर्क आएपनि सहज सुचारु थिएन। अनलाइनहरुले पनि समाचार अपडेट गरिरहेका थिएनन्। विद्युतलाइन नभएकाले जताततै जटिलता मात्र थियो। रेडियो गोरखा प्रसारण गर्ने उद्देश्यका साथ किशोरजी, म र नरहरी सापकोटा भत्केको स्टेसनतिर गयौं। निरन्तरको धक्काका बाबजुद जीर्ण घरभित्र पस्ने आँट भएन। त्यसैले त्यो दिनको प्रयास विफल भयो। किशोरजीले सबै एफएमको नाममा एउटा एफएम संचालन गर्ने प्रस्ताव गरे। त्यो पनि सफल भएन।

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारीले नागरिक सूचना सञ्चारबाट विमुख रहेको भन्दै रेडियो पत्रपत्रिका सुचारु गर्न आग्रह गरिरहेका थिए। बैशाख १४ गते बिहान विद्युत लाइन सुचारु भयो।

मैले सुरुवात नामको अर्को पत्रिकाको टिमसँग बिहानभरि सेटिङ गरेर दिउसो पत्रिका प्रकाशन गर्ने प्रस्ताव गरें। प्राविधिक कारण देखाउँदै अर्को टिमले असमर्थता देखायो। तर हाम्रो टिमले बिहान नौ बजेदेखि काम गरेर १२ बजेतिर दरौंदी दैनिक पत्रिका प्रकाशन गरियो। त्यसको भोलिपल्टदेखि सुरुवात पत्रिका पनि प्रकाशन हुन थाल्यो।

त्यसदिनदेखि निरन्तर पत्रिका प्रकाशन भइरहेको छ। र, जति पनि समाचार प्रकाशित छन्, धेरै भुकम्पसँग सम्बन्धित छन्। दुई वटै रेडियो पनि १४ गतेबाटै बज्न थाले। रेडियो गोरखा सतिपिपलको डाँडामा टेण्टभित्र रहेर प्रसारण सुरु भयो। च्वाइस एफएम पहिल्यैको घरबाट प्रसारण सुरु भयो। यसको दोस्रो तेस्रो दिनदेखि मातृभूमि र मनास्लु एफएम पनि बज्न थाले।

यति बेला जिल्लामा क्षतिको विवरण आउन थालिसकेको थियो। पहिलो चोटी थाहा पाएको ठूलो संख्या ४० जनाको मृत्यूको थियो। त्यसपछि बढ्दै गयो। अहिलेसम्म मृत्यू हुनेको संख्या चारसय ५४ जना पुगिसकेको छ। २१ जना अझै बेपत्ता छन्। यहीं छन् भन्ने थाहा भएपनि ठूलो पहिरोमा पुरिएकाले निकाल्न सकिएको छैन। नौहजार एकसय पाँच जना घाइते भए। जिल्लाको ६६ हजार ५१६ घरधुरीमध्य भुकम्पमा परी जिल्लाभर ४४ हजार ८७७ घर पूर्ण रुपमा क्षति भएको छ। १३ हजार २२६ घरमा आंशिक क्षति भएको छ। घर भत्केपछि र चिरिएपछि दुईलाख ७१ हजार एकसय १४१ जनसंख्या मध्य एकलाख ६१ हजार २९२ जना घरबाट विस्थापित छन्।

चारसय ९५ वटा विद्यालयका तीनहजार ५२ वटा कक्षाकोठा क्षतिग्रस्त भएका छन्। त्यस्तै एकसय वटा खानेपानी योजना पूर्ण क्षति भएको छ। ३० वटा प्रहरी चौकी पूर्ण क्षति भएको छ, ४५ वटामा सामान्य क्षति पुगेको छ। ७५ वटा स्वास्थ्य चौकीहरु पनि क्षतिग्रस्त छन्। ११ गाविसका २२०० घरधुरी अन्यत्रै पुनःस्थापित गर्नुपर्ने अवस्थामा छन्।

पत्रकार महासंघका पूर्व अध्यक्ष किशोरजंग थापाका अनुसार गोरखाका पत्रकारले भुकम्प २०७२ को रिपोर्टिङ गर्दा जिम्मेवारपूर्वक जिल्लाको संवेदनशीलतालाई ध्यान दिए। ‘पत्रकारको यो भूमिकाबाट जिल्ला दैवी प्रकोप उद्धार समितिलाई पनि अघि बढ्न सहज भएको छ’,थापा भन्छन् ‘अन्य जिल्लाहरुको भन्दा गोरखा जिल्लाको उद्धार, राहत वितरण तथा अस्थायी घर टहरो निर्माणको काम प्रभावकारी हुनुको पछाडि पनि मिडियाको भूमिकाले महत्वपूर्ण योगदान दिएको छ।’ पत्रकारले संवाददाता मात्र नभई जिल्लाबासी र सामाजिक अगुवाको भूमिका निर्बाह समेत गरेको उनको टिप्पणी छ।

पत्रकार महासंघ गोरखाका अध्यक्ष भीमलाल श्रेष्ठ ठूलो भूकम्पको जानकारी मात्र संकलन नगरेर पत्रकारले यसको राम्ररी अध्ययन समेत गरेको बताउँछन्। करिब सय वर्षको अन्तरालमा आउने भूकम्पको अनुभव लिँदै भावी दिनमा पाठ सिकाउन सक्ने गरी ज्ञान आर्जन गरेको उनले बताए। ‘अरु जिल्लामा यस्तो प्राकृतिक बिपत्ति पर्‍यो भने विपत्तिको रिपोर्टिङ कसरी गर्ने भन्ने सन्देश दिन सक्ने भइयो’,उनी भन्छन्,‘अनि विपत्तिको ब्यबस्थापन गर्ने उपाय सम्बन्धी धेरथोर सिकाउन सक्ने भइयो।’

आत्मसन्तुष्टि

भूकम्प गएको दिनदेखि म दिनहुँ बिहान साढे ६ बजेदेखि दिउसो करीब पाँचबजेसम्म जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकस्थल आसपासै रहें। ताजा अपडेट लिने, राहत दिनका लागि बाहिर जिल्लाबाट मेरो सम्पर्कमा आएकाहरुलाई विभिन्न दुर्गम गाउँ जान बाटो देखाउने, त्यहाँका बासिन्दा भेटाइदिने, गाउँबाट टेलिफोनमा आएको जानकारी दैवी प्रकोप उद्धार समितिमा पास गर्ने, उद्धारका लागि हेलिकोप्टर लानु पर्ने ठाउँको प्राथमिकीकरणमा राय दिने जस्ता भूमिका निर्बाह गरें। यसले एकातिर उद्धार र राहतमा मद्धत पुग्यो भने अर्कातिर आत्मसन्तुष्टि पनि मिल्यो।

घटना भएका गाउँहरुमा जानु हाम्रो प्राथमिकताभित्र पर्छ। जान इच्छा हुँदा पनि जिल्लाका सबै हामी पत्रकारले हेलिकप्टर चढाइदिन रोइकराइ अनुरोध, आग्रह, दबाब केही गरेनौं। एकदुईफेर अनुरोध गर्दा ‘तपाईँ जाने सिटमा एकसय किलोग्रामको खाद्यान्न जान्छ, तपाइँ फर्कने सिटमा एकजना मर्नै लागेको घाइते आउँछ’ भन्ने घतलाग्दो जबाफ सुनेपछि फेरि अनुरोध गर्ने हिम्मत आएन। नैतिकताले पनि दिएन। त्यसैले हामी सुरुका दिनहरुमा विभिन्न ग्रामीण भेग जान सकेनौँ। पछि समय मिलाएर गाउँतिर निस्कन पनि थालियो। तर राहत बाँडेको ठाउँमा फोटो खिच्न भने कहीं हिँडिएन। विपत्तिको मौका छोपी भित्रिएका एनजिओ, आइएनजिओहरुलाई बारम्बार खबरदारी लगाउने काम निरन्तर गरियो।

त्यस्तै भूकम्पले बढि जोखिममा रहेका इपिसेन्टर आसपासका गाविसको भ्रमणमा जिल्लाका पत्रकारहरुको जोड रह्यो। प्राय सबै पत्रकारहरु कुनै न कुनै टोलीसँग मौका मिलाएर बारपाक, लाप्राक, गुम्दा, सौरपानी, स्वाँरा, भच्चेक, सिम्जुङ लगायतका गाविसहरुमा पुगे। त्यहाँको वस्तुस्थितिको रिपोर्टिङ गरे। ‘त्यो क्षेत्रमा फेरि बस्न हुन्छ कि हुन्न भन्ने बारेमा हामीले चासो राख्यौं’,कान्तिपुर दैनिकका सम्वाददाता सुदीप कैनी भन्छन्,‘स्थानान्तरण गर्नुपर्ने गाउँहरुलाई बर्खाअघि नै सार्न दबाब पुग्ने खालको समाचार गर्‍यौँ।‘

त्यस्तै त्रिपालभित्र बस्दाको समस्या, सुत्केरी, बालबालिका, वृद्धवृद्धाको समस्याको बारेमा समाचार लेखेको उनले अनुभव सुनाए। त्यस्तै डाँडामा पहिरो गएर बाटो अबरुद्ध हुँदा राहत सामग्री ओसार्न भएको सकस, चिनियाँ नाका खुलाए तिब्बतबाट खाद्यान्न ल्याउन हुने सहजतालाई पनि जिल्लाका पत्रकारहरुले समाचार बनाए।

फेरिँदै समाचार

पत्रकारहरुले दुख, ब्यथा र पीडाका कथा मात्र लेखेनन्। पीडितलाई बल मिलोस् भनेर सामान्य बन्दै गएको जनजीवनलाई पनि बिस्तारै प्राथमिकतामा पर्‍यौँ। पछिल्लो चरणमा राहत वितरणमा मनोमानी, राष्ट्रिय ढुकुटीको बर्बादी लगायतका विषय पनि पत्रकारको खोजीमा परे। अनि विपतको मौका पारी जिल्ला भित्रिएका अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरका गैरसरकारी संस्थाको कार्यशैली पनि समाचारको बिषय बने। तिनले भित्र्याएका बिकृतिलाई पनि पत्रकारको कलमले छाडेन।

पत्रकारले चुनौती पनि धेरै सामना गर्नुपर्‍यो। सबैभन्दा ठूलो चुनौती चाहेजति गाउँबस्ती पुग्न सकिएन। सुरुका दिनमा गाउँको रिपोर्टिङ गर्न जानुपर्ने तर जानलाई बाटो थिएन। हेलिकोप्टरमा जान नपाइने, बाटो अबरुद्ध भएका कारण मोटर नजाने, हिँडेर जान नसकिने जस्ता कारणले समाचार संकलन सदरमुकामकेन्द्रित भयो। अर्को समस्या जिल्ला दैवी प्रकोप उद्धार समिति तनावपूर्ण बनिरहने, बैठक बसिरहँदा हामीले विभिन्न कुरा सोध्ने अवसर नपाउने अवस्था आयो। जस्ले गर्दा राष्ट्रिय नीति, निर्देशन, जिल्लाले तय गरेको स्थानीय स्तरको योजनाको बारेमा अनभिज्ञ रह्यौं।

पत्रकार स्वयंको पनि घर र काम गर्ने कार्यालय भत्केको थियो। दिनभरि रिपोर्टिङ गरेका पत्रकारले राती खाने, सुत्ने समस्या झेल्नु पर्‍यो। गाउँ–गाउँमा सञ्चार सुविधा विच्छेद हुँदा त्यहाँको जानकारी लिन समस्या भयो। निरन्तरको परकम्पका कारण कोठाभित्र बसेर समाचार लेख्न नसक्ने अवस्था पनि भयो। त्यसैले खुल्ला चौरमा ल्यापटप लगेर समाचार लेख्ने अनि आफ्नो कार्यालयमा पुगेर छिटो छिटो इमेल गर्ने गरिएको अनुभव रह्यो।

समग्रीमा भुकम्पले गोरखाका विभिन्न गाउँहरु तहसनहस भए। भौतिक सम्पदा र प्राकृतिक सम्पदा नष्ट भए। तर बच्ने र समाचार संकलन गर्ने सिकाइ भयो।

मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत, १२ जुलाई २०१५

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "भूकम्पले बाँच्न र समाचार संकलन गर्न सिकायो"

Leave a comment

Your email address will not be published.


*