प्रेमनारायण भुसाल : प्राकृतिक विपत्तिमा नेपाली सञ्चार मााध्यमको भूमिका कस्तो हुनु पर्छ ?

प्रेमनारायण भुसालमनोवैज्ञानिक परामर्शदाता

सञ्चारका माध्यम कुनै पनि राष्ट्रका सामाजिक, आर्थिक एवम् राजनीतिक परिवर्तनका सशक्त माध्यम हुन् । सामाजिक सुरक्षा, एकता र चेतनाको अभिवृद्धि गर्दै व्यावसायिक मर्यादामा निष्ठा राख्नु कुनै पनि सञ्चार गृहको धर्म तथा कर्तव्य हो भन्ने कुरामा दुईमत हुन सकिँदैन । हरेक सामाजिक क्रियाकलापको साक्षी बन्दै सकारात्मक परिवर्तनको सन्देश दिनु नै सञ्चार जगतको सामाजिक उत्तरदायित्व ठहर्छ ।  यस कारण समाजका राम्रा–नराम्रा सबै घटनाको समाजपरक विश्लेषण र प्रशारणमा संलग्न रहनु सञ्चार जगतको अनिवार्य कार्य हो ।

नेपाली सञ्चार जगतमा विगतका बीस वर्ष निकै उपलब्धिमूलक देखिएका छन् । यस समयमा सञ्चारका माध्यम समाचार प्रशारण संस्था मात्र नरहेर नेपाली जनताको ढुकढुकीकै रूपमा स्थापित भएका छन् । २०७२ सालको पहिलो महिनामा राष्ट्रमा आएको प्राकृतिक विपत्तिमा पनि नेपाली सञ्चार जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो ।

प्राकृतिक विपत्तिले जनधनको क्षति मात्र पुर्याउने नभएर मानसिक रूपमै मानवलाई त्रस्त पार्ने काम गर्दछ । मानिस शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा समेत विचलित हुन सक्ने भएकाले विपत्तिको वास्तविक पीडा निकै लामो समयसम्म विभिन्न रूपमा रहन पुग्दछ ।

यस्तो अवस्थामा सुरक्षित स्थान, स्वस्थ खाद्यपदार्थ, सत्य सूचना, परिवारजनसँगको सम्पर्क र मनोवल उच्च पार्ने किसिमका क्रियाकलाप आवश्यक पर्दछन् । सामाजिक सम्पर्क र सही सूचना प्रदायकका रूपमा नेपाली सञ्चारमाध्यमले पु¥याएको योगदान एवम् मनोसामाजिक प्रभावको सङ्क्षिप्त चर्चा यस आलेखमा गरिन्छ ।

सञ्चारको भूमिका
वैशाख १२ गतेको घटनापछि नेपाली तथा विदेशी सञ्चार माध्यमले भूकम्प तथा त्यसले पारेको मानवीय र भौतिक क्षतिका विवरणहरू प्रस्तुत गर्नमा आफूलाई व्यस्त राखे । केही विदेशी मिडियाले मानवीय संवेदनाको पटक्कै ख्याल नराखी सनसनीपूर्ण समाचारका नाममा वीभत्स दृश्यहरूसमेत सम्पादनबिना प्रस्तुत गरे ।

यस काममा नेपाली मिडिया पनि त्यति अछुतो रहन भने सकेन । घटनाको यथार्थ चित्रण गर्ने सन्दर्भमा टेलिभिजन र पत्रपत्रिकाका धेरैजसो भाग भग्नावशेष, मृतक र घाइतेको उद्धार गर्दै गरेका तस्बिरले भरिए भने एफएम रेडियोहरूमा क्षतिग्रत स्थानबाट प्रत्यक्ष संवाद र ताजा घटनाका रूपमा यिनै घटना र प्रसङ्ग प्रसारित भए । अन्तिम संस्कारका लागि स्थान अभावले पालो पर्खनु परेका, शवदाह गर्दै गरेका, आफन्तजन गुमाउँदाको पीडामा चुलुम्म डुबेर रोइरहेका जनमानसका दृश्य यत्रतत्र प्रशारित भए ।

यी घटनाको प्रसारणले क्षतिको वास्तविक आँकलन तथा घाइतेको उद्धारमा अवश्य सहयोग पुर्याए साथसाथै राज्यप्रतिको वितृष्णा र त्रासको वातावरणलाई बढावा दिने काम समेत गरे । अर्कोतर्फ केही अनलाइन मिडियाले विभिन्न स्रोतलाई उद्धृत गर्दै जनतालाई आतङ्कित पार्ने निराधार भविष्यवाणी र अपूर्ण सामग्रीहरू प्रस्तुत गरे भने सामाजिक सञ्जालको दुरुपयोगका घटना समेत यस समयमा नभएका होइनन् ।

विज्ञका रूपमा मिडियामा आएका केही व्यक्तिबाट घटनाको अतिरञ्जना तथा पार्न सक्ने असरको बढाइ चढाइले आशङ्का र त्रासमय वातावरणको सिर्जना गरिदियो । उद्धार गर्दाको अवस्थाको चित्रणका सन्दर्भमा क्षतविक्षत अवस्थाका घाइते, मृतक र जनमानसको रुवाबासी मात्र होइन, अर्कै घटना र प्रसङ्गमा पनि वीभत्स दृश्यको प्रशारण गरी ताजा र सनसनीपूर्ण खवरको पहिलो प्रशारक बन्ने होडबाजी देखियो ।

तात्कालिक घटनाको प्रस्तुतिमा तल्लीन हुँदा नयाँ नयाँ समाचारको खोजीमा अग्रसर नेपाली सञ्चार जगत् समाचारले पार्ने मनोसामाजिक प्रभावका बारेमा भने हुनुपर्ने जति सजग नभएको पाइयो । जे होस् प्रकृतिको विनाशलीलाको सशक्त चित्रणमा नेपाली सञ्चार माध्यम वास्तवमै खरो रूपमा उत्रिएको महसुस भयो ।

मनोसामाजिक प्रभाव
भूकम्पमा परिवार गुमाएका, घाइते र अङ्गभङ्ग भएका तथा भौतिक क्षतिका कारण असह्य पीडामा परेका व्यक्तिले मानसिक रूपमा समेत ठूलो क्षति भोग्नु स्वाभाविक नै हो साथसाथै यस्ता दुखद् घटना देखेका, उद्धारमा संलग्न रहेका र यस सम्बन्धी समाचार हेरेका व्यक्ति पनि कुनै न कुनै रूपमा मानसिक क्षति व्यहोर्न विवश हुन्छन् ।

पहिलेदेखि नै मानसिक समस्यामा परेका तथा औषधोपचारपछि निको भएका व्यक्ति, महिला, अपाङ्ग, वृद्धवृद्धा र बालबालिका यस्ता घटनाबाट बढी प्रभावित हुन पुग्दछन् । हरेक घटनाको प्रभाव सबै व्यक्तिमा समान रूपमा नपर्ने भएकाले केहीले प्राथमिक घटनापछि पनि आफूलाई तुरून्तै सामान्य अवस्थामा फर्काउँछन् भने कोही द्वितीयक घटनाको अवलोकन र श्रवणबाटै असामान्य अवस्थामा पुग्दछन् ।

टेलिभिजन र पत्रपत्रिकामा प्रसारित वीभत्स दृश्यका कारण मानसिक क्षति पुगी मनोपरामर्शमा आउने व्यक्तिको सङ्ख्या उल्लेख्य रहेको छ । प्रभावित क्षेत्रमा पुगेका सञ्चारकर्मीले सोध्ने प्रश्न कस्तो किसिमका हुनुपर्ने भन्ने विषयमा पनि अध्ययन–प्रशिक्षण आवश्यक देखियो ।

केही ठाउँमा पीडा शान्त पारिदिन कुराकानी गरेको भए पनि असावधानीवश पीडामा नुन थप्ने काम र मात्र तथ्य सङ्कलनको उद्देश्य राख्दा मानवीय संवेदनाको कदर नभएको पाइयो । यसका साथसाथै सुरुमा नडराएको तर सञ्चार माध्यममा प्रसारित सामग्रीका कारण (anxiety) त्रास र डरको मात्रा अत्यधिक भई सामान्य जीवनमा फर्कन कठिनाइ भएका प्रौढहरूको सङ्ख्या पनि धेरै देखिन्छ ।

पेसा व्यवसाय नै छोडेर काठमाडौँ बाहिरिएका व्यक्तिमध्ये धेरै भूकम्पले पुर्याएको भौतिक क्षतिका कारण मात्र नभएर काठमाडौँबाहिर बस्ने नातेदारको काठमाडौँ असुरक्षित छ भन्ने दबाबले छोडेको देखिनुमा पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सञ्चारक्षेत्रमा आएका सूचनाको प्रभाव जिम्मेवार देखिन्छ । मन नै कमजोर भएका बेलामा समूहमा हुँदा आत्मबल बढे पनि एक्लो हुँदा र रातको समयमा बढी त्रसित हुनु स्वाभाविक हो ।

यस्तो अवस्थामा विभिन्न रूपमा फैलाइएका अफवाहले पनि सहजै मानवमनलाई विचलित पारेको पाइन्छ । भूकम्पपछिको सम्भावित विकराल अवस्था तथा महामारीको प्रचारप्रसारले काठमाडौँबासीमा आतङ्क मच्चाएको तथा विनाकारण आत्तिँदै काठमाडौँ छोडेर हिँडेका घटना तथा भविष्यप्रतिको निराशा बढाएको पाइयो ।

डरलाग्दा घटनाको निरन्तरको प्रशारणले मानिसमा एक किसिमको निराशा, जीवनप्रतिको नकारात्मक सोच, खानपान, निद्रा र सामाजिक व्यवहारमा असामान्य उथलपुथलको सिर्जना गर्नुका साथै अत्यधिक तनावका कारण नकारात्मक सामना विधि समेत अवलम्बन गर्न पुगेका घटना दोहोरिए ।

आजका मिडियाको नयाँ चुनौती
सञ्चार माध्यमले सही सूचना दिएर जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षणमा निकै ठूलो योगदान दिएका छन् । समयमै ताजा समाचार दिन जिउज्यानको समेत कुनै पर्वाह नगरी हरपल तम्तयार सञ्चारकर्मीको योगदान स्मरणीय छ । यस सन्दर्भमा आमजनताको मानसिक स्वास्थ्य र समाचारले त्यसमा पार्ने प्रभावका बारेमा सचेत हुनैपर्ने अवस्था आएको छ ।

समाचारलाई तथ्यपूर्ण बनाउन घटनावस्थाको चित्रण आवश्यक पर्ने भए पनि क्षतिकै कुरालाई घुमाएर बारम्बार प्रस्तुत गर्नुभन्दा क्षतिपूर्वको अवस्था देखाउँदै पुनर्निर्माण र सजगताका बारेमा मुख्य ध्यान केन्द्रित गरी पेटबोलीमा मात्र दुर्घटनाका दृश्य प्रस्तुत गर्न सके समाचारको सामाजिक प्रभाव बढी सकारात्मक बन्न पुग्थ्यो ।

वैदेशिक सहयोग जुटाउन चरम क्षतिका घटनाको प्रस्तुति प्रभावकारी हुने भए पनि प्रभावित जनतालाई पुग्ने मानसिक क्षतिको नजरअन्दाज गर्नु जायज हुन सक्दैन । हाम्रा समाचारका विषयवस्तु निर्दोष केहीकसैलाई नोक्सान नगर्ने मान्यता (no harm approach)बाट प्रेरित हुनुपर्ने तर्फ ध्यान पुर्याउनु आजको आवश्यकता हो ।

अहिलेकै क्षतिको कुरा गर्ने हो भने नेपालको कुल जनसङ्ख्या लगभग ३ करोडमध्ये लगभग १० हजारको ज्यान गएको अनुमान गर्न सकिन्छ । यो प्रतिशतमा निकै कम भए पनि विदेशबाट नेपाललाई हेर्दा अब पुरानो सुन्दरता, संरचना र अवस्था खासै बाँकी नरहेको भ्रम फैलिएको छ ।

यसलाई मेटाउनु पनि आजका मिडियाको नयाँ चुनौती हो । जुनसुकै प्रसङ्ग र सन्दर्भमा देखाइए पनि वीभत्स दृश्यले मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याएकै हुन्छ । यसकारण यस्ता दृश्यको प्रसारणमा होडबाजी गर्नु हुँदैन ।

भौतिक क्षति र रुँदै गरेका दृश्यको निरन्तरको प्रशारणले व्यक्तिमा एक किसिमको ग्लानि र विचलन सिर्जना गर्दछ । Anxiety disorder / post-traumatic stress disorder जस्ता समस्याका कारक यस्ता घटना बन्न सक्ने भएकाले सिर्जनशीलता, जीवनप्रतिको आशा, पुनर्निर्माण, सामूहिक कार्यमा संलग्नता जस्ता कुरालाई सञ्चार माध्यमले जोड दिने हो भने जनसाधारणलाई सामान्य जीवनमा फर्कन तथा मानसिक रूपमा स्वस्थ रहन सहयोग पुग्दछ ।

(२०७२ असार ४ गते प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘‘विपद्कालमा साना लगानीका मिडियाको अवस्था र भूमिका’’ विषयक मिडिया संवाद कार्यक्रममा प्रस्तुत लेखको सम्पादित प्रति)

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "प्रेमनारायण भुसाल : प्राकृतिक विपत्तिमा नेपाली सञ्चार मााध्यमको भूमिका कस्तो हुनु पर्छ ?"

Leave a comment

Your email address will not be published.


*