दिलादत्त पन्त : विपत्मा सामाजिक सञ्जालको प्रयोग

दिलादत्त पन्त

गत वैशाख १२ र २९ गते विनाशकारी भूकम्पले राजधानी सहरलाई समेत प्रभावित गरेका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय र सञ्चारमाध्यमको चासोको विषय बन्यो । देश बाहिर तथा जिल्ला बाहिरबाट स्थलगत समाचार र सूचनाको माग बढ्यो । समय—समयमा अद्यावधिक भैरहने क्षतिका सूचनाहरू मूलधारका मिडियामार्फत यथासमयमै सम्प्रेषण हुन नसक्ने भयो । समय, स्रोत, पहुँच र प्रशोधन पद्धतिको हेक्का राखेर आउने त्यस्ता मूलधारे समाचारले सूचनाको पर्खाइमा रहेका मानिसहरूको अधैर्यतालाई सम्बोधन नगर्दो रहेछ । त्यसैले नयाँ कुराहरूको जानकारी लिनका लागि सामाजिक सञ्जाल माध्यम बन्न पुग्यो । फेसबुक, ट्विटर तथा युट्युवजस्ता सामाजिक सञ्जालहरू मानवीय अवस्था देखाउन तथा अभिव्यक्तिका लागि सशक्त माध्यम बने ।

सूचनाको अग्रदूत

पत्रकार, भूगर्भविद तथा कहलिएका अन्य व्यक्तिहरूले आफ्ना सञ्जालहरूमार्फत तत्कालै विवरणहरू अद्यावधिक गरेका कारण पनि भूकम्पसम्बन्धी जानकारी सामाजिक सञ्जालहरूमार्फत लिने गरेको पाइयो । सूचनाको विश्वसनीयताको लागिभन्दा पनि भूकम्प गए/नगएको, कति ठूलो भूकम्पदेखि कतिपय स्थानमा भएका क्षतिका विवरणहरूको जानकारी लिन पनि सामाजिक सञ्जाललाई प्रयोग गरेको पाइयो । कतिपय मिडियाकर्मी र मिडिया हाउसहरूका पोस्टिङ पनि सूचनाको यही भोक मेटाउने दौडमा रहेको पाइयो । टाँसिएका तस्वीरहरू एवं भिडियोहरूले मानिसका आफ्ना बुझाइलाई बल प्रदानमात्रै गरेनन्, बरु सूचना अथ्र्याएर टोल छिमेकका विवश अनुहारहरूमाझ ‘झन्डै विज्ञ’को परिचय बनाउनसमेत टेवा पुर्‍याए !

सोसल मिडिया प्रयोगकर्ताहरूको हकमा पोष्ट गरिएका समाचार, अनुभव तथा विचार लाइक गर्ने तथा सक्दो चाँडो सेयर गर्ने वा रिट्विट गर्ने प्रवृत्ति आम बानीको रूपमा देखियो । गृह मन्त्रालयको अप्डेट, भूकम्प मापन केन्द्रका सूचना, विभिन्न गैरसरकारी संघ—संस्थाहरूका उद्धार तथा राहत कार्यहरूबारे मानिसहरूले सामाजिक सञ्जालबाटै बढी थाहा पाए । यस अर्थमा सामाजिक सञ्जालमार्फत सूचनाको ‘ब्रेक’ हुने भएकाले यसले सूचनाको अग्रदूतको रूपमा काम गर्‍यो भन्न सकिन्छ । सविस्तार र फलोअप समाचार भने मूलधारका मिडियाले समेटे ।

सामाजिक सञ्जालले प्रयोगकर्ताहरूमाझ आफ्ना अनुभूतिहरू साटासाट गर्ने अद्वितीय अवसर प्रदान गर्‍यो । आफ्ना प्रियजन, साथीभाइ तथा परिवारका खबरहरू आफन्तहरूमाझ पुर्‍याउने अनुपम माध्यम बन्यो, सामाजिक सञ्जाल । त्यतिमात्र हैन, फेसबुकले त सुरक्षित रहेको खबर फैलाउन अतिरिक्त फिचर नै थपिदियो । भूकम्प पीडितकै सन्दर्भमा भाइबर र स्काइपले ल्यान्ड लाइन तथा मोबाइल फोनहरूमा नि:शुल्क फोन गर्न सकिने सुविधा दिए । विपत्का केही दिन नि:शुल्क सेवा प्रदान गरेबापत नेपाल टेलिकमले पनि सामाजिक सञ्जालमा राम्रै स्याबासी र धन्यवाद पायो । धेरैले यसको ‘राष्ट्रको सञ्चार’ भन्ने नाराले सार्थकता पाएको रूपमा लिए । अर्को सेवाप्रदायक एनसेलले पनि आफ्ना सेवाहरूमार्फत राम्रो ‘पीआर’ बनायो । यसरी सामाजिक सञ्जाल सूचनाको माध्यम बन्यो ।

विचारको बाढी

संवेगले घर गरेका बेला मान्छे ज्यादै कमजोर हुन्छ । ऊ तर्क र विज्ञानसमेत बिर्सन पुग्छ वा तत्क्षण विवेकको निर्देशनप्रति उदासीन भइदिन्छ । यही कारण होला, विज्ञानले गर्ने जिकिरहरू उछिनेर सोसल मिडिया प्रयोगकर्ताहरूले अनेकौं विचारका बाढी बगाए । हुन त विचार आखिर विचार हो, तर मान्छे स्वयम् डराएका बेला उसका विचारसँगै मिल्दोजुल्दो विचार कतै प्रेषित भएको देखियो भने उसको भय झन् सबलीकृत हुँदोरहेछ । हल्लामा आधारित भय सिर्जना गर्ने विचारहरू र डरलाग्दा तस्वीरहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रवृत्ति पनि देखियो ।

त्यसैगरी भूकम्पले सिकाएका पाठ, नेपाली भूबनोट, हिमालय क्षेत्र र भूकम्पीय खतरा, विपत् व्यवस्थापन र कानुन, अन्तर्राष्ट्रिय सहयोग, मानवीय संकटमा धर्मविस्तारको सम्भावना, विपत्मा विभेद लगायतका विषयमा विचारहरू देखिए । एक हिसाबले भन्ने हो भने सामाजिक सञ्जालले वैकल्पिक विचारको फेहरिस्त देखायो । यिनै विचारका कारण कतिपय विषयमा थप विमर्श तथा बहसहरू भए । सबै विचारलाई अटाउन नसक्ने मूलधारे मिडियाको सीमिततालाई सामाजिक सञ्जालले उचित क्षतिपूर्ति गर्‍यो । दर्शक पाठकका संक्षिप्त विचारहरू भक्स पप र पाठक मञ्चबाहेक प्राय: अन्यत्र नअटाउने मूलधारका मिडियाको तुलनामा सामाजिक सञ्जालले विचारको ठूलो हिस्सा समेट्यो । यसको सौन्दर्य नै सहभागिता हो र त्यो बन्यो । यस अर्थमा हरेक प्रयोगकर्ता विचारकको रूपमा प्रस्तुत भए । र कुनै न कुनै ढंगले विविध विषयका बहसमा सहभागी भए । केही डर, केही निराशाका स्वरहरूबाहेक अधिकतम विचारहरू तर्कपूर्ण देखिए, सकारात्मक तथा सिर्जनात्मक रहे ।

इतिहास अभिलेखनको साधन

कवि तथा साहित्यकारहरूले देश तथा परदेशबाट पीडाका आवाजहरू लेखे र कालरात्रिपछि सुनौलो बिहानीको अवश्यम्भाविताका कुरा लेखेर आशाको सञ्चार गराउने प्रयत्न गरे । कतिपयले भयभीत मनलाई सान्त्वना दिलाउने लेखरचना लेखे, हास्यव्यंगको चेतधारीे प्रतिभाहरूले भय र रोदनका बीच पनि हँसाउने खालका प्रस्तुतिहरू पस्के । संस्मरण र अनुभूतिहरूका त असंख्य नमुनाहरू देखिए । चुटकिला, कार्टुन, ग्राफिक्स, चित्र एवं तस्वीरहरूमार्फत मानिसहरूले मनको भय विरेचन गरे । धर्ती काँपिरहँदा पनि मानिसहरूले आफ्ना मोबाइलमार्फत तस्वीर तथा भिडियो खिचेर नागरिक पत्रकार बने । फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालहरू त्यसका लागि सहयोगी बने जुन भोलिका लागि इतिहास अध्ययन गर्नेहरूका लागि महत्त्वपूर्ण सामग्री हुनसक्छ ।

आक्रोशको विसौनी

भूकम्पीय विपत्मा पीडितहरूले सहयोगको याचनामात्रै गरेनन् । समयमा उचित प्रतिकार्य गर्न नसकेकोमा सरकारप्रति आक्रोश पनि व्यक्त गरे । आक्रोशको लवज ज्यादै तिख्खर रह्यो । संसदमार्फत संकल्प प्रस्ताव पारित गरेर आफू जनताको साथ उभिएको सन्देश दिन खोज्दा पनि सिंगो सरकार र राजनीतिक दलहरूप्रतिको विश्वासमा खासै सकारात्मक परिवर्तन देखिएन । उल्टै आलोचनाका स्वरहरू सुनिए । हामीकहाँ सामान्य अवस्थामा पनि अविश्वास र भय छँदै थियो । त्रासदीले त्यसलाई झन् मलजल गर्‍यो । यस संकटका बेला कर्तव्यनिष्ठ नागरिकले पनि राज्यव्यवस्थाप्रति विश्वास देखाएनन् ।

जनता आक्रान्त भएका बेला सभासद स्वयम्ले त्रिपाल बुझ्दै गरेको दृश्यले केवल अविश्वास र आक्रोशलाई मात्र बढायो । विपत्का सन्दर्भमा आएका शीर्षस्थ नेताहरूका विविध विचारहरूलाई लिएर व्यापक टिकाटिप्पणीहरू भए । राष्ट्रिय सरकारको गठन, शक्तिसम्पन्न प्राधिकरण, नीति निर्माण, अनुगमन तथा सहयोग परिचालनजस्ता विषयमा सामाजिक सञ्जालमा अनेक आक्रोशयुक्त अभिव्यक्तिहरू देखिए ।

असहिष्णु बहसको थलो    

भूकम्पको असरले सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरूका कैयौं बस्तीहरू पहिरोका कारण स्थायी रूपमा विस्थापित हुने अवस्था आयो । ती बस्तीहरूको सुरक्षित पुनर्वासको बहस भैरहेको बेला सद्भावना आनन्दीदेवीकी नेतृ सरिता गिरीले गरेको ट्विटर टिप्पणी सामाजिक सञ्जालमा भाइरल बन्यो । सो ट्विटमा गिरीले भुइँचालोलाई आधार बनाई प्रभावित जनतालाई तराईमा बसोबास गराउने महेन्द्रवादी नीतिको निरन्तरताका लागि कार्य भइरहेको महसुस हुन्छ भनेकी थिइन् । पछि उनले सो कुरा आफूलाई स्वीकार नहुने अभिव्यक्ति पनि लेखमार्फत व्यक्त गरेकी थिइन् । यस अभिव्यक्तिका कारण विपत्तिले भत्किएका मन र ती मनहरूप्रति सदाशयता राख्ने धेरैको मन दुखायो । परिणामस्वरुप उक्त अभिव्यक्तिका विरुद्ध सामाजिक सञ्जालमा उनका विरुद्ध हदैसम्मका गालीगलौज समेत पोखिए ।

त्यसो त लोकतान्त्रिक समाजमा विचारको अभिव्यक्ति सबैलाई रहन्छ । यद्यपि सम्प्रदाय वा लक्षित वर्गप्रति गरिएका त्यस्ता विचारको प्रस्तुति, सान्दर्भिकता र प्रसंगको हेक्का नराख्दा ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । तराईवासीले दु:खेको पहाडलाई लाउँदै गरेको गुनमा यस अभिव्यक्तिले एकखाले अमिलोपन ल्यायो । झन् स्वतन्त्र मधेसको पक्षमा उग्र विचार बोकिहिँड्ने सी. के. राउतको नाममा आएको अर्को ट्विटले नेपाली मनहरूलाई थप झस्कायो । पहाडियाहरूलाई मधेसमा बस्ती बसाइए गृहयुद्ध हुने अभिव्यक्तिले सबैलाई गम्भीर बनायो ।

अन्त्यमा,

सामान्य अवस्थामा विचार तथा अभिव्यक्तिको स्वतन्त्रता बन्ने विषयहरू पनि असामान्य अवस्थामा स्वच्छन्द अर्थमा बुझिँदा रहेछन् । नेतृ गिरीको विचार र त्यसले उब्जाएका आक्रोशपूर्ण अभिव्यक्तिहरू हेर्दा यस्तै लाग्छ । यस्तो बेला सामाजिक सहिष्णुता र विपत्माथि झन् विपत् थप्नसक्ने अवस्था सिर्जना नहोस् भन्नका लागि राज्य चनाखो बन्नुपर्छ । अनुगमन संयन्त्र चुस्त पार्नु आवश्यक छ । सामाजिक सञ्जालको प्रयोग, असर, संहिता र कानुनबारे जनचेतना फैलाउनु ज्यादै महत्त्वपूर्ण देखिन्छ । अन्यथा कुनै पनि खालको आपत्—विपत्मा यही जालो भयानक सावित नहोला भन्न सकिन्न ।

Kantipur, 27 June 2015

 

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "दिलादत्त पन्त : विपत्मा सामाजिक सञ्जालको प्रयोग"

Leave a comment

Your email address will not be published.


*